माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न त्रिविको निर्देशन
गोरखापत्र अनलाइन
काठमाडौं, माघ ९ गते । त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । आइतबार (आज) सूचना जारी गर्दै त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले कोरोना सङ्क्रमण बढेका कारण हरेक क्याम्पसले पर्सि (मंगलबार) देखि अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो । यसका लागि सोमवार (भोलि) अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउनुपर्नेछ ।
अनलाइन कक्षा व्यवस्थित गर्न हरेक क्याम्पसका सहायक प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्ने विश्वविद्यालयले जनाएको छ । यस्तै, सबै विभागले विभागीय प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्नुपर्ने त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेको छ ।
सोहीअनुसार, भौतिक उपस्थितमा गर्नुपर्ने प्रयोगात्मक परीक्षा, अभ्यास शिक्षण र इन्टर्नशिप लगायतका क्रियाकलाप स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गर्न सकिनेछ । अनलाइन कक्षा व्यवस्थित भए नभएको अनुगमन गर्न डिनको संयोजकत्वमा अनलाइन कक्षा अनुगमन समिति पनि बन्ने त्रिविले जनाएको छ ।
यस्तै, अनलाइन पठनपाठन र परीक्षासम्बन्धी शिक्षकलाई तालिम दिने र त्यसको विवरण सबै क्याम्पस, विभाग, अध्ययन संस्थानहरूले डिन कार्यालयमा पेस गर्नुपर्नेछ । अनलाइनमा तोकेको कक्षा लिने शिक्षकको हाजिरी अनलाइनबाटै हुने भएको छ ।
चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतका परीक्षा स्वास्थ्यको मापदण्ड पालना गरेर अध्ययन संस्थानबाटै निर्णय गरेर सञ्चालन गर्ने, विद्यार्थीको आन्तरिक मूल्याङ्कन अनलाइनको माध्यमबाट गराउने तथा सबै संकाय र संस्थानले अनलाइनबाट परीक्षा लिने ढाँचा र कार्यविधि तयार गर्ने, कार्यविधिमा आन्तरिक मूल्याङ्कन र अन्तिम परीक्षाको सम्बन्धमा आवश्यक व्यवस्था गर्न पनि त्रिविले निर्देशन दिएको छ ।