शिक्षा | प्रदेश |

परीक्षा दिन नपाएका विद्यार्थी आन्दोलित

निशा राई
धरान, चैत १० गते । परीक्षाको लागि अनलाइन फारम भरेका विद्यार्थीको प्रवेशपत्र नआएपछि विद्यार्थी आन्दोलित भएका छन् । आक्रोशित विद्यार्थीको एक समूहले क्याम्पसमा तोडफोड समेत गरेको छ ।

पुर्वाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीले परीक्षाको लागि अनलाइन फारम भरेका ७ जना विद्यार्थीको प्रवेशपत्र नआएपछि परीक्षामा सामेल हुनबाट बञ्चित भएको बताएका छन् । क्याम्पसमा विद्यार्थीले आन्दोलन गरी क्याम्पस प्रमुखको कुर्सी जलाएको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पस प्रशासनको मुलढोकामा तालाबन्दीसंँगै ढोकाको् शिसामा तोडफोड भएको क्याम्पस प्रशासनको भनाई छ ।

इञ्जिनियरिङ अध्ययन संस्थानको परीक्षा फारम अनलाईनमार्फत भरिएको तर वेबसाईडमा समस्या आएर अध्ययनरत विद्यार्थीको प्रवेशपत्र नआएपछि परीक्षामा सामेल हुन नपाएको क्याम्पस प्रशासनको भनाई छ । परीक्षाको तयारी गरी परीक्षा दिन तयार रहेको विद्यार्थीको महत्वपूर्ण समय बर्वाद भएको विद्यार्थीको भनाई छ ।

क्याम्पस प्रमुख र प्रशासनको लापर्वाहिका कारण विद्यार्थीको भविष्य नै अन्यौल बनाउने काम भएको विद्यार्थीको आरोप छ । प्रशासन र डिन कार्यालयले सच्याएर परीक्षा दिने व्यवस्था गर्न माग गरेको विद्यार्थी आभास शर्माले बताउनुभयो । विद्यार्थीले क्याम्पस प्रशासन र डिन कार्यालयमा बैंक भौचारसहित निवेदन, पत्राचार गरेपनि सुनुवाई नभएको अर्का विद्यार्थी प्रभास गौतमले बताउनुभयो ।