मनोरञ्जन | अन्तर्राष्ट्रिय |

टिकटकका प्रमुख कार्यकारीले दिए राजीनामा

सान फ्रान्सिस्को, भदौ ११ गते । लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिनुभएको छ । केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त हुनुभएका मायरले कम्पनी छाड्नुपर्दा आफूलाई निकै दुःख लागेको बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्ससहित मेसेजिङ एप्लिकेसन विच्याटमाथि अमेरिकामा प्रतिबन्ध लगाउने चेतावनी दिँदै एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै दुवै चिनियाँ कम्पनीहरू अहिले सङ्कटमा छन् ।
राष्ट्रपति ट्रम्पको आदेशविरुद्ध सान फ्रान्सिस्कोमा चिनियाँ मेसेजिङ एप्लिकेसन वीच्याटका प्रयोगकर्ताले अदालतमा चुनौती दिने बताएका छन् । उत्तर अमेरिकी टिकटकका महाप्रबन्धक भेनिसा पाप्पाले कम्पनीको अन्तरिम प्रमुखकको पद सम्हाल्नुहुनेछ ।
टिकटकले पनि मायरले राजीनामा दिनुभएको पुष्टि गर्दै पछिल्ला केही महिनादेखि अमेरिकी राजनीतिक घटनाक्रमका कारण मायरको भूमिका परिवर्तन भएको जनाएको छ ।
बाइटडान्सका संस्थापक एवं प्रमुख कार्यकारी यिमिङ झाङले कम्पनीका कर्मचारीलाई पठाउनुभएको पत्रमा विवादित विषय सुल्झाउन प्रयास जारी रहेको बताउनुभएको छ । उहाँले भारत र संयुक्तराज्य अमेरिकामा आफ्नो कम्पनीमाथि समस्या खडा भएको स्वीकार्नुभएको छ ।
गत अगष्ट ६ मा राष्ट्रपति ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्समाथि अमेरिकामा प्रतिबन्ध लगाउन एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो । अमेरिकामा टिकटकलाई आफ्नो स्थिति प्रष्ट गर्न ४५ दिनको समय दिइएको छ ।