ब्रुस लीको अमरकथा इन्डिजिनियस टेलिभिजनमा प्रसारण हुँदै
गोरखापत्र अनलाइन
काठमाडौं, असोज २० गते । विश्व प्रसिद्ध कुङफु खेलाडी र कुङफु नायक ब्रुस लीको ऐतिहासिक अमरकथा नामक धारावाहिक टिभी सिरियल इन्डिजिनियस टेलिभिजनबाट प्रसारण हुने भएको छ ।
नेपाली भाषामा अनुवादित ३० भागको यो टिभी सिरियल असोज २२ गतदेखि प्रत्येक बिहीबार बेलुकी ९ बजेदेखि १० वजेसम्म र पुनः प्रसारण शनिबार दिउँसो ४ बजेदेखि ५, आइतबार राति १० बजेदेखि ११ बजेसम्म र सोमबार दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्म हुुने बताइएको छ ।
अरनिको समाजले टिभी सिरियल ब्रुस लीको अमरकथा नेपालीभाषामा अनुवाद गरी नेपालका स्थानीय टेलिभिजनमार्फत प्रसारण गर्न लागेको हो ।
ब्रुस लीको जीवनीलाई आधार बनाएर तयार पारिएको पहिलो टिभी सिरियल हो । यो टिभी सिरियलमा ब्रुस लीले आफ्नो ३२ वर्षको छोटो जीवनमा के कस्ता संघर्षहरु गरी आफूलाई विश्व प्रसिद्ध कुङफु खेलाडी र कुङफु चलचित्रका नायकका रुपमा स्थापित गरे भन्नेबारे प्रसंगहरु प्रस्तुत गरिएको छ ।
साथै, ब्रुस लीको व्यक्तिगत र पारिवारिक विषयहरु यसमा समावेश गरिएको छ । ७० को दशकमा ब्रुस लीका चलचित्रहरु नेपाली दर्शकसहित विश्वभर लोकप्रिय थिए ।