मनोरञ्जन |

चलचित्र ’सेल्फी किङ’ दश लाख भन्दा बढीले हेरे

यलु जाेशी

काठमाडाैं, असाेज २१ गते । कोरोना महामारीका कारण दर्शकले हलमा गएर नयाँ चलचित्र हेर्न नपाए पनि युट्युबमा सहजै उपलब्ध भएपछि दर्शकको ध्यान तान्न सफल भएको छ ।
औसत चलचित्र भए पनि विपिन कार्की र लक्ष्मी बर्देवाले अभिनय गर्नुभएको चलचित्र ’सेल्फी किङ’ दश लाख भन्दा बढीले हेरिसकेका छन् । एक कलाकारको कथामा निर्माण भएको चलचित्रमा आफ्नो कलाप्रति समर्पित भएको कथामा आधारित छ ।

आफ्नो बाबु गम्भीर बिरामी हुँदा पनि दर्शकका लागि पहिल्यै तय भइसकेको स्टेज कार्यक्रम छोड्न सक्दैनन् । हास्य अभिनय हेर्न दर्शकको भीड ओइरिएको बेला निजी जीवनमा भने ठूलै संकट परिरहेको हुन्छ । यस्तो अवस्थामा पनि कलाकारको धर्म निभाउने कलाकारको कथा हो, सेल्फी किङ ।

विशाल सापकोटाको निर्देशन तथा लेखनमा बनेको सेल्फी किङमा विपीनसँगै लक्ष्मी बर्देवा, अभय बराल, भुवन चन्द, जीवन भट्टराई आदि कलाकार प्रमुख भूमिकामा रहेका छन् ।
चलचित्रमा दिनेश राउत र सुभाष थापाले निर्माण गर्नुभएको हो भने सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुभाष भुषालको संगीत छ । यो चलचित्रले हलमा निकै कमजोर व्यापार गरेको थियो । दर्शकले यो चलचित्रको कथालाई खासै नरुचाए पनि युटुबमा भने यो चलचित्रको राम्रो दर्शक बनिरहेको छ ।