गायक तथा लेखक जगतमर्दन थापाको निधन
गोरखापत्र समाचारदाता
काठमाडौं, मङ्सिर २० गते । गायक तथा लेखक जगतमर्दन थापाको ८५ वर्षकाे उमेरमा निधन भएको छ । सोमबार बिहान स्वास्थ्य उपचार क्रममा थापाथलीस्थित नर्भिक अस्पताल निधन भएको हो ।
एक महिनाअघि कोरोना संक्रमित भएका उहाँमा फोक्सोमा समस्या देखिएको थियो । थापा कोरोना मुक्त भएपछि सामान्य अवस्थामा फर्कनु भए पनि स्वास्थ्यमा समस्या देखिरहेको थियो ।
लेखक तथा समीक्षक प्रकाश सायमीले ’नेपाली आधुनिक संगीतका ज्येष्ठ गायकलाई गुमाउनुपरेकोमा दुख ब्यक्त गर्दे भन्नुभयो, नेपाली संगीत अभिभावकविहीन भएको छ ।
सप्तरीको बरमझियामा जन्मनुभएका थापा २००८ सालमा १६ वर्षको उमेरमा काठमाडौं आउनुभएको थियो साय्मीले थप्नुभयो, २०१८ सालमा नै कोलकाताबाट हिज मास्टर्स भ्वाइसमा ‘माया लुकाई लुक्दैन’ बोलको पहिलो गीत रेकर्ड गराउनुभएको थियो ।
नेपाली कला र संगीतको क्षेत्रमा निरन्तर सक्रिय उहाँले २०२१ सालमा ’पतझर र पलाँसको फूल’ कथा संग्रह र ’दिलको आवाज गीति संग्रह’ प्रकाशित गर्नुभएको थियो ।
साय्मीले भन्नुभयो, ०७४ मा थापाले भारतीय गायिका उषा मंगेशकरसँग ‘म पतझर तिमी मधुमास’ बोलको गीत गाएर निकै चर्चा बटुल्न सफल हुनुभएको थियो, जसमा सहदेव ढुंगानाको शब्द, शिखर सन्तोषको संगीत थियो । थापालले ८० वर्षको उमेरमा समेत गीति एल्बम निकाल्नुभएको थियो ।
थापाले सञ्चय कोष, कृषि चुन उद्योग जस्ता निकायमा रहेर तीन दशकभन्दा लामो सरकारी सेवा गर्नुभएको थियो ।
५० को दशकमा जागिर जीवनपछि पुनः उहाँ सांगीतिक क्षेत्रमा सक्रिय हुनुभएका थियो । यसै क्रममा उहाँले ‘४० वर्ष अघि र ४० वर्ष पछि’, ‘मनको शान्ति’, ‘माया लुकाई लुक्दैन’, ‘म पतझड तिमी मधुमास’, ‘म मक्किएको धुरी खाँबो’ जस्ता एल्बम सार्वजनिक गर्नुभएको थियो । संगीतलाई जीवनको अपरिहार्य तत्वका रुपमा लिएका थापाले ६४ वर्षका उमेरमा शास्त्रीय संगीतको ज्ञानलाई निरन्तरता दिई ७३ वर्षमा भारतको इलाहावाद संगीत विश्वविद्यालयबाट प्रथम श्रेणीमा ‘बी म्युज’ उत्तीर्ण गर्नुभएको थियो । थापाका एक छोरा र तीन छोरी हुनुहुन्छ ।