संकटा क्षेत्रमा छाता सजाउने नयाँ सोच, सेल्फी खिच्नेको भीड
मुकुन्द गैरे/मनोजरत्न शाही
काठमाडौं, पुस ११ गते । लामो समयको लकडाउनबाट बल्ल मुक्त भएका युवा पुस्ताका लागि अहिले मन बहलाउने बहाना मात्र चाहिएको छ उनीहरुको भीड लागिहाल्छ । काठमाडौंको न्यूरोड संकटा गल्लीमा एक युवकले छाता सजाउने सोच बनाए । मानिसको यस्तो भीड लाग्ने भन्ने कल्पना समेत गरेका थिएन । जब उनले रङ्गचङ्गी छाता सझाउन थालेका मात्र थिए टिकटक बनाउने र सेल्फी खिचेर पोस्ट गर्नेहरु ओहिरिए ।
सजाएर राखिएको छाता मुनी बसेर रमाइलो गर्ने युवापुस्तादेखि बुढा बुढीका संख्या उल्लेख्य छ । लामो समयदेखि कोरोनाको कारण थलिएको यस क्षेत्रको व्यवसायलाई प्रमोशन गर्न छाता राखिएको आयोजक संस्था संकटा क्लवको भनाइ छ । छाताले मानिसहरुको भिडभाड् बढे संगै व्यापारमा समेत केही वृद्वी हुँदै गएको आयोजकको भनाई छ ।
मानिसहरु सेल्फी खिच्न र टिकटक बनाउन अपेक्षितभन्दा धेरै मानिस आइरहेको संकटा क्लवका सचिव आशिषमान सिंहले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । दैनिक २० हजार भन्दा बढीको संख्यामा मानिसहरु आउने गरेको र दैनिक आउने संख्या बढेको क्ल्वका सचिव सिंह बताउनुहुन्छ । यस क्षेत्रमा विहानदेखि रातको १२ बजे सम्म यस क्षेत्रको अवलोकन गर्न आउने गरेका छन् । संकटा गल्लीमा ४२० वटा भन्दा बढी छाता राखेको उहाँले बताउनुभयो ।