मनोरञ्जन |

मिस नेवाः ‘ट्यालेन्ट शाे राउण्ड’ सम्पन्न

गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १८ गते । मिस नेवाः नेपाल ११४१ को ‘ट्यालेन्ट शाे राउण्ड’ सम्पन्न भएको छ । ऐतिहासिक कीर्तिपुर शहरको सःसः त्वाः मा आयोजित ‘ट्यालेन्ट शो’ मा प्रतिस्पर्धीहरुले नृत्य, अभिनय, कविता वाचन, चित्रकला, वाद्यवाधन, हस्तकलालगायत प्रतिभा प्रस्तुत गरेका थिए । ट्यालेन्ट शोमा प्रिया तुलाधरले कुटुम्ब धुन र स्वीकृति महर्जनले सिसंया देगु बोलको गीतमा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

यस्तै, मनिका खड्गीले कुमारी नृत्य, रुचिका तण्डुकारले राष्ट्रियता झल्कने नृत्य, कृषा महर्जन, सृजा रञ्जितकार, लेनिका डंगोल र कृष्टिना महर्जनले नृत्य प्रस्तुत गर्नुभएको थियो । पूर्व मिस नेवाः सुनिता डंगोलद्वारा सञ्चालित ट्यालेन्ट शोमा मनिषा महर्जनले पेन्टिङ, अन्जिला अवाले र सपना महर्जनले कविता वाचन, रोहिना महर्जनले भायलिन वादन, सौर्या शाहीले बाँसुरी वादन र रीना महर्जनले हस्तकला सीप प्रदर्शन गर्नुभएको थियो ।

नेपाल टेलिकम मिस नेवाः नेपाल ११४१ को ‘ट्यालेन्ट शो’ राउण्डको उद्घाटन कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले गर्नुभएको थियो । ‘ट्यालेन्ट शो’ मा नेपाल क्योकुशिन सेइसिन काइकान कराँते संघका अध्यक्ष तथा नेपाल प्रमुख सिहान अशोककुमार श्रेष्ठ, नेपाल टेलिकमका नायब महाप्रबन्धक राजेन्द्र श्रेष्ठ र मेनेजर सरोजकुमार शाक्य, पत्रकार दीपक श्रेष्ठ, गायिका सविना मानन्धर, नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित र बुटिक संघका संस्थापक अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ निर्णायक हुनुहुन्थ्यो ।

कार्यक्रममा मिस नेवाः को आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेपाल भाषा, संस्कृतिको संरक्षणमा चेतना जागृत गर्नुका साथै व्यक्तित्व विकासका लागि मिस नेवाः थालनी गरिएको बताउनुभयो । यस वर्षको मिस नेवाः को अन्तिम प्रतिस्पर्धा फागुन ७ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा गरिने जनाइएको छ ।