मनोरञ्जन | समाज |

नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गरिँदै


गोविन्द शर्मा
बाँके, कात्तिक २३ गते । बाँकेको खजुरा गाउँपालिका ईगाउँमा जेष्ठ नागरिकहरुले परम्परागत संस्कृति हस्तान्तरणको अभियान सुरु गरेका छन् । सांस्कृतिक समूह बनाएर सक्रिय रहेका गाउँका अगुवाहरुले किशोर तथा युवालाई परम्परागत कला संस्कृति हस्तान्तरणको अभियान चलाएका हुन् ।
संस्कृति हस्तान्तरणका लागि यसवर्ष ८० वर्षीय जेष्ठ नागरिक र १२ वर्षीय किशोर किशोरीले संयुक्तरुपमा देउसीभैलो खेलेको स्थानीय अगुवा रुपसिंह भण्डारीले बताउनुभयो ।
पुर्ख्र्योली संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न सकेमा मात्रै यसको महत्व रहन्छ भनेर हामीले यो अभियान चलाएका हौं, भण्डारीले भन्नुभयो, हामीले पितापुर्खाबाट सिकेका कला संस्कृति नयाँ पुस्तालाई सिकाउनु हाम्रो जिम्मेवारी पनि हो । साविकको मध्यपश्चिमका पहाडी जिल्लामा देखाइने, मयूर नाच, कुरकुटी नाच, सिङ्गारु नाच, टप्पा नाच अगुवा पुस्ताले किशोर किशोरीहरुलाई सिकाउन सँगसँगै देउसी भैलो खेलेका छन् ।
गाउँका अगुवासँग पुख्र्यौली नाच सिक्न पाउँदा उत्साह थपिएको स्थानीय युवा सुदीप विसीले बताउनुभयो । परम्परागत पोशाकमा सजिएर किशोर किशोरीहरुले उत्साहका साथ नाचेका छन् , स्थानीय अगुवा शेरबहादुर बीसीले भन्नुभयो, हामीपछिको पुस्ताले हाम्रो पुख्र्योली संस्कृतिलाई निरन्तरता दिनेछ भन्ने विश्वास बढाएको छ ।
ईगाउँमा साविक मध्यपश्चिम विकास क्षेत्रका सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, रुकुम लगायतका जिल्लाबाट बसाई सराई गरि आएकाहरुको बाहुल्य छ । पुरानो पुस्ताले बाँके जिल्लामा हुने विभिन्न कार्यक्रममा परम्परागत गीत र नृत्य प्रदर्शन गर्दै आएको स्थानीय अगुवा उज्ज्वल बीसीले बताउनुभयो ।
नयाँ पुस्तालाई परम्परागत पुर्ख्र्यौली संस्कृतिमा आकर्षित गर्न सुरुमा चुनौती भए पनि अहिले सबैले सहजरुपमा लिएर सक्रिय भएको देख्दा खुशी लागेको समूहका अध्यक्ष बलबहादुर बीसीको भनाइ छ ।