मिसेस नेपाल वल्र्ड अब वाईवाई चाउचाउसँग जोडिने
गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २ गते । ‘मिसेस नेपाल वर्ल्ड’ अब चौधरी ग्रुपको चाउचाउ वाईवाईसँग जोडिने भएको छ। मिसेस नेपाल वर्ल्ड’ को नाममा चल्दै आएको प्रतियोगिता अब ‘वाईवाई मिसेस नेपाल वर्ल्ड’ को नाममा परिवर्तन भएको हो।
आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले ‘मिसेस वर्ल्ड’ को फ्रेन्चाइजीमा जोडिएसँगै वाईवाई पनि यो सौन्दर्य प्रतियोगितामा सामेल भएको छ ।
विवाहित महिलाका लागि आयोजना गरिँदैआएको यो कार्यक्रम ‘वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१’ का नाममा हुने उहाँले बताउनुभयो । उहाँकाअनुसार ‘मिसेस नेपाल वर्ल्ड’ सँगै सोही स्टेजमा ‘मिसेस नेपाल इन्टरनेसनल’ र ‘एमएस इन्टरनेसनल’ उपाधि विजेता पनि चयन गरिने भएको छ।
प्रतियोगिताका लागि आउने शनिवार पुरानो बानेश्वरस्थित डाइनिङ पार्कमा अडिसन हुने बताइएको छ । प्रतियोगिताका लागि आवेदन संस्थाको शंखमूलस्थित कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।
‘मिसेस नेपाल वर्ल्ड’ को विजेताले २०२२ जनवरीमा अमेरिकाको लसभेगासमा आयोजना हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने बताइएको छ ।
यस्तै, सन् २०१९ मा ‘मिसेस नेपाल इन्टरनेसनल’ को पाँचौ संस्करण सम्पन्न भएको थियो। तर कोभिड १९ का कारण २०२० मा रोकिएको थियो । यस वर्षदेखि भने प्रतियोगितालाई परिमार्जित रुपमा अगाडि बढाउने आयोजकले बताएको छ ।
‘मिसेस वर्ल्ड’ मा नेपालको यो पहिलो सहभागिता हो । साथै २०२२ मा ‘मिसेस इन्टरनेसनल नेपाल’ र ‘एमएस नेपाल इन्टरनेसनल’का विजेताले नेपालको प्रतिनिधित्व गरी सिंगापुरमा हुने ‘मिसेस इन्टरनेसनल’ तथा ‘एमएस इन्टरनेसनल’मा सहभागी हुनेछन्।