मनोरञ्जन |

दमौलीमा ज्योतिलाई वान्समोर


अमरराज नहर्की
तनहुँ, पुस ५ गते । दमौलीमा सञ्चालित प्रथम दमौली पाटन सांस्कृतिक तथा पर्यटन महोत्सवमा दर्शकको लागि सबैभन्दा आर्कषणको केन्द्र चर्चित लोकदोहारी गायिका तथा मोडल ज्योति मगर बन्नुभएको छ । उहाँको प्रस्तुति हेर्नको लागि दर्शकको भीड लागेपछि आयोजकलाई व्यवस्थापन गर्न धौ–धौ भएको थियो ।
ज्योतीले ढाँडे विरालो..., जिम्माल बाउकी छोरी..., उही मुलाको सिन्की उही मुलाको चाना, खोली भित्र के छ.... लगायतका गीत गाउने र नाच्ने गर्दा महोत्सवको रौनक नै फेरियो । घाम डुबेर शीत पर्न थाले पनि ज्योतिको गीतले दर्शकलाई नचाएकाले जाडो भगाएको थियो । गायिका ज्योती साथ दिँदै महोत्सवमा सहभागी हजारौं युवाले सँगसँगै गाउन र नाच्न थालेका थिए । साँझ ५ः४५ देखि गीत गाउन थाल्नु भएकी करिव एक घण्टा मनोरञ्जनात्मक गीतले ज्योतीले दर्शकको मन जित्नुभएको थियो ।

गायिका ज्योति मगर आउने निश्चित भएपछि दर्शकहरु धेरै बेर पर्खाइमा बसेका थिए । दिउँसो तीन बजे आउने भने पनि साँझ ५ बजे मात्रै महोत्सव स्थलमा ज्योति पुग्नुभएको थियो । ढिलै भए पनि ज्योति स्टेजमा उक्लिएपछि दर्शक खुसीले उफ्रिएका थिए । ज्योतिको सबै प्रस्तुतिमा वान्स मोरको आवाज गुञ्जिएको थियो । ज्योतिले गाउनुभएका हरेक गीतसँगै महोत्सवस्थलमा तालीको गडगडाहट र हुटिङ्को कमी थिएन । ज्योतिको महोत्सवको नवौं दिन सम्ममा सबैभन्दा धेरै ज्योतिको गीतमा दर्शक आएको भीड धेरै हुँदा सुरक्षा व्यवस्था मिलाउन हम्मेहम्मे परेको आयोजक पाटन युवा क्लबका अध्यक्ष अमर थापाले बताउनुभयो ।
ज्योतिसँग फ्यानहरुको फोटो खिच्नेको पनि भीड लागेको थियो । महोत्सवमा करीव ५० हजार दर्शक एकै दिन आएको दाबी थापाले गर्नुभयो । गायक सञ्जिव सिंह रानाले, मुग्लिनको बाटोमा धुलो उडाउँदै..., वान टु वान टु... लगायतका गीतले दर्शकलाई भरपुर मनोरञ्जन दिनुभएको थियो ।
महोत्सवमा सहभागी हुनुभएकी गायिका तथा मोडल ज्योति मगर ।
तस्विर–अमरराज नहर्की