मनोरञ्जन |

'गाउँमा टुकी बालेर मजेरीमा बसेर गीत गाउँदै हिँडियाे'

दिनेश लुइटेल, मनोजरत्न शाही र केशव गुरुङ्ग
काठमाडौं, पुस १८ गते । घट्टेकुलोको भित्री गल्ली, डेरा रुपी छिंडीको छहारी तर सधैं सांगीतिक माहोल । हारमोनियमको मधुर धुनसँगै जनगायक अर्थात् जनताका गायक जीवन शर्माको जीवन संघर्ष जारी छ । उमेरले ६२ वर्ष टेक्नु भएका शर्माका गीतमा जस्तै जनताका दुःख, सादा र सरल जीवनशैली उहाँको वास्तविक जीवनमा झल्कन्छ । उपत्यकाका सडक र गल्लीमा निरन्तर पैदलयात्रा । ‘हिजो पनि मसँग गीत र संगीत थियो, जनताको भाका थियो । आज पनि जनताको भाका छ । गीत छ, संगीत छ’, शर्मा भन्नुहुन्छ, ‘त्यही काफी छ ।’ सरदर नेपालीको जीवनदसा जस्तै आफ्नो जीवन रहेको उहाँ सुनाउनुहुन्छ ।


शर्मा जनताको मायालाई सम्पत्ति मान्नुहुन्छ । ‘गीतका पात्र जहाँ छन्, म त्यही ठाउँमा छु । सरदर सबै नेपालीको जीवनदसा जस्तो छ, मेरो पनि त्यस्तै हो’, शर्मा भन्नुहुन्छ, ‘जनताको मायाभन्दा मूल्यवान सम्पत्ति मेरो केही छैन ।’ शर्माको जीवन ऋण धनमै चलेको छ । ‘जिन्दगी चलेकै छ । कहिले देश विदेशका कार्यक्रममा जाँदा पैसा आउँछ । कहिले ऋण लाग्छ । ऋण धनमै जीवन चलेको छ’, शर्मा भन्नुहुन्छ ।

पञ्चायतको भूमिगत काल गाउँमा टुकी बालेर मजेरीमा बसेर गीत गाउँदै बिताउनुभएका शर्माले माओवादीले गरेको सशस्त्र युद्धको समयमा भूमिगत हुँदा गाउँबस्तीमा पुगेर गीतमार्फत् जागरण ल्याउनुभयो । त्यो भोगाई र पीडा उहाँको जीवनको अर्को पाटो बनेको छ ।
१६ वर्षको उमेरदेखि जनताका गीत लेखेर गाउन थाल्नुभएका शर्माले प्रेमका गीत भन्दा जनताका दुःखमा जीवन समर्पित गर्नुभयो । ‘गीतका धेरै पाटा छन् । प्रेम एउटा आयाम हो’, किन प्रेम गीत गाउनुभएन भन्ने प्रश्नको जवाफमा भन्नुहुन्छ, ‘जुन पाटोमा हामी उभिदा समग्र राष्ट्रलाई फाइदा पुग्छ, हामी त्यही ठाउँमा उभिनुपर्छ ।’

शर्मा आज पनि आफ्ना गीतका पात्र खेतबारी, चौतारीमै रहेको र कतिपय दुबई कतार पुगेको सम्झिनुहुन्छ । ‘अझै पनि मेरा गीतका पात्र खेतबारीमा छन् । कतिपयले चौतारीमा भारी बोकेकै छन्’, पात्र सम्झदै भन्नुहुन्छ, ‘कतिपय त मलेसिया, दुबई कतारमा छरिएका छन् ।’

शर्मा २०१६ सालमा बाग्लुङको राङखानी (हाल जैमिनी नगरपालिका १०, पाही) मा बुवा चन्द्रदत्त उपाध्याय र आमा द्रौपदा देवीको कोखबाट जन्मनुभएको हो । गीत रचना, संगीत, गायन र नाटक लेखन उहाँको रुचिका विषय हुन् । शर्माले रक्तिम समूहका निम्ति पाँच सय बढी गीत प्रकाशित गर्नुभएको छ । उहाँको ठूलो सम्पत्ति जनताका गीत हुन् । जीवन शर्मा गरिबी, दुःख र क्रान्तिकारी गीतको पर्याय हुनुहुन्छ । उहाँको परिचय भने गीति नाटककारको रुपमासमेत स्थापित छ । ठूली, पूजा, नालापानीदेखि कालापानी, जवाफजस्ता उहाँका गीति नाटक चर्चित छन् ।