अम्बरको 'म त तिम्रै हुँ' मा सन्नी र कुसुम
काठमाडौं, पुष १९ गते । संगीतकार अम्बर तुम्बापो सुब्बाले नयाँ वर्षको कोसेली स्वरूप सांगीतिक सौगात 'म त तिम्रै हुँ' सार्वजनिक गर्नुभएको छ । कुशल गुरुङ र तुम्बापो परिवार निर्माता रहेको यस म्युजिक भिडियोलाई संगीतकार सुब्बाको च्यानल 'अम्बर तुम्बापो सुब्बा अफिसिएल' मार्फत सार्वजनिक गरिएको हो ।
युवा प्रेम र आकर्षणको भाव बोकेको यस गीतलाई अमेरिकामा रहनुभएकी गीतकार रिमा श्रेष्ठले लेख्नुभएको हो । युगल गायनमा रहेको यस गीतमा नेपाल आइडलबाट परिचित गायिका मेघा श्रेष्ठ र गायक केभिन ग्लान तामाङको स्वर रहेको छ ।
भिडियोमा सन्नी सिंह र कुसुम गुरुङ फिचर्ड हुनुहुन्छ । यस्तै, दिपक राज सुनारले छायाँकन गर्नुभएको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गर्नुभएको हो । विवेक रसाइलीको निर्देशनमा भिडियो तयार पारिएको छ ।
लामो समयदेखि नेपाली संगीतमा सक्रिय संगीतकार सुब्बा भुटानी नेपाली समुदायमाझ अब्बल संगीतकारका रुपमा चिनिनुहुन्छ । उहाँको संगीतमा उदय सोताङ, सत्य स्वरुपराज आचार्य, राजेश पायल राई, शिव परियार, सन्तोष लामा, कर्म ग्याल्छेन बम्जन, मेलिना राई किरण गजमेर, लगायतका गायक गायिकले स्वर भर्नुभएको छ ।
उहाँका 'जलेर मुटु', 'हिँड्दा हिँड्दै', 'सानीमा सानी', 'बिर्सी दिन्छु', 'डोको नाम्लो', 'मोहनीमन्तर' जस्ता आधुनिक गीत लोकप्रिय छन्।