मनोरञ्जन | समाज |

भुवा नाच(भस्वो)प्रति स्थानीयको आकर्षण घट्दो



शैलेन्द्र रोकाया
बझाङ, पुस २० गते । कौरव र पाण्डवको युद्धको सम्झनामा मनाउँदै आएको सुदूपश्चिमको प्रसिद्ध भुवा (भस्वो) पर्व बझाङका विभिन्न गाउँमा सञ्चालन भइरहेका छन् । बालबालिकादेखि वयोवृद्धहरुलाई पनि नचाउने भुवा पर्व बझाङलाई पनि केही गाउँमा सुरु भएको भए पनि पछिल्लो समयमा भुवा(भस्वो)पर्वको रौनक विगतका वर्षहरुभन्दा घट्दै गइरहेको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न गाउँ गाउँमा मनाइने भुवो पर्व पछिल्लो समयमा यसको महिमा र गरिमाका विषयमा युवामा अनविज्ञता तथा युवाहरु समेत गाउँबाट पलायन भएपछि यसको रौनक विगतका वर्षझैँ दिन प्रतिदिन घट्दै गएको हो । पञ्चे बाजागाजासहित नाचिने भुवा नाच नाच्ने र हेर्नेहरुको घुइंचोले गाउँको बेग्लै किसमको उमङ्ग हुने गर्दथ्यो ।

पछिल्लो समयमा भने धेरै गाउँमा भुवो खेल्ने प्रचलन घट्दै गएको स्थानीय बुढापाकाको भनाइ छ । खप्तडछान्ना गाउँपालिकाका – ३ का स्थानीय कर्ण रोकायाले भन्नुभयो , “हाम्रा पालमा गाउँ गाउँमा भस्वो खेल्ने चलन थियो, विभिन्न गाउँका भद्र भलादमी, नाइके, मुखिया कहाँ अगाडि नै चिउडी (चामलको चिउरा) पिठायो (चामलको हल्दी हालेर बनाइएको रंग) दिने र पछिल्लो दिन गएर खेल्ने चलन थियो तर अहिले त्यो सबै लोप भएर गएको छ” । रोकायाले थप्नुभयो, ‘अहिले केही गाउँले फाट्फुट् खेल्ने गरेको र अधिकांश गाउँहरुले भुवो खेल्न छोडिसके । सुदूरपश्चिमको मुख्य कला संस्कृति रहेको भुवो पर्व पछिल्लो समयमा लोप हुने चिन्ता हुन थालेको छ । यहाँ १०/१५ वर्ष पहिला गाउँमा भुवा हाल्दा प्रत्येक घरबाट छोरा मान्छे खेल्न सक्ने जति सबै जान्थे चैनपुरका स्थानीय विष्णु शास्त्रीले भन्नुभयो ।

त्रेतायुगमा कौरव र पाण्डवको युद्ध सकिएपछि पाण्डव पक्षले खुसियाली मनाएको सम्झनामा यो पर्व मनाउँदै आएको किम्बदन्ती छ । औँसीको दिन गाउँका प्रत्येक घरबाट बाल्नका लागि मुढा माग्ने र राति भुवाखाडा (भुवा नाच्ने चौर) मा ठूलो आगो बालेर बस्ने र बिहान ३ बजे प्रत्येक व्यक्तिले हातमा राँको सल्काइ भुवा नाच शुरुवात गर्ने गरिन्छ । बाजाको तालमा खुकुरी, तरवार र ढालसहित पुरुषहरुले प्रदर्शन गरेको युद्धकला हेर्न भुवा पर्व नमनाएका गाउँका मानिसहरु पनि छिमेकी गाउँमा आउने भएकाले कारण भिडभाड हुने गर्दछ ।

युद्धको समयमा कौरव र पाण्डवबीच भएको भिडन्तको कथालाई एक समूहले नाच्दै लयात्मक शैलीमा भट्याउने र अर्काे समूहले हात र खुट्टाको चालमा नाच्ने र ‘भस्सोे ’ भन्ने गर्दछन् । कुरुक्षेत्रको युद्ध भन्दा पहिले पाण्डवहरु बनवास भएको बेला भेष बदलेर हिमालय पर्वत देखि भारत वर्षका विभिन्न ठाउँमा घुमेको र त्यहाँ विकास निर्माणका काम गर्न स्थानीयको सहभागिता जुटाएको किंवदन्ती छ । पाण्डवहरुले नै विभिन्न गाउँमा भुवा पर्वको आयोजना गरी युद्ध अभ्यास गराएको कथाहरु पनि यस नाचमा प्रस्तुत गर्ने गरिन्छ । भुवाको विशेष आकर्षणको रुपमा चाली नाच, ठाडो भस्सो भारी खेल जस्ता नाच र गायनहरु पर्दछन ।

भुवा पर्व सुरु भएको दुई दिन (अर्थात् औंसीको द्वितीया) लाई दुयो भन्ने गरिन्छ । यो दिन घरमा बटुक चुकानीलगायत परम्परागत परिकारहरु पकाउने र इष्टमित्र तथा आफन्तहरुलाई टीको पिठाया (टिकाटालो) लगाई शुभकामना आदानप्रदान गर्ने गरिन्छ । पौष शुक्ल पूर्णिमा अगावै भुवा पर्वको विधिवत् समापन गर्ने प्रचलन छ ।