मनोरञ्जन |

'भ्वाइस किड्स सिजन १' को उपाधि जेनिश उप्रेतीलाई

काठमाडौं, माघ २ गते । बाल गायन रियालिटी शो 'द भ्वाइस किड्स नेपाल' को पहिलो सिजनको उपाधि झापाका जेनिश उप्रेतीले जित्नुभएको छ । विजयी भएसँगै उप्रेतीले १५ लाख रुपियाँ पनि नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

६ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरुको सहभागीता रहेको यो फिनालीमा आठजना प्रतिस्पर्धी पुगेका थिए ।
टीम प्रमोदबाट झापाकी रुक्सना लिम्बू र झापाकै जेनिश उप्रेती, टीम राजुबाट बाजुराका सुप्रिम मल्ल ठकुरी र काठमाडौंकी पासाङ डिक्की शेर्पा, टिम मिलनबाट दार्जिलिङकी मिन्छामा राई र इलामकी नुमा राई तथा टीम प्रविशाबाट झापाकी अनुजा कडरिया र झापाकै सुसमी गुरुङ फाइनलमा पुग्नुभएको थियो ।

२० हजार सहभागीमध्ये डिजिटल अडिशनमा एक सय जना ब्लाइन्ड अडिसनमा सहभागी थिए । प्रत्येक टिममा १२ जनाका दरले ४८ जना ब्लाइन्ड राउण्डबाट छानिएका थिए । २४ जना लाइभका लागि छानिए । त्यसपछि अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुग्नुभएको थियो ।

यस रियालिटी शो द भ्वाइस किड्सको निर्णायकमा प्रमोद खरेल, राजु लामा, प्रविशा अधिकारी र मिलन नेवार हुनुहुन्थ्यो ।

यस्तै, 'द भ्वाइस अफ नेपाल' को चौथो सिजनको अडिसन मङ्गलबारबाट सुरु हुने बताइएको छ ।