'ओरिजिनल गायकको नाम उल्लेख नगरी अफिसियल भन्नु अन्यायपूर्ण कुरा हो' : अञ्जु पन्त
काठमाडौं, माघ २६ गते । केही दिनयता रचना रिमालले गाउनुभएको गीत ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ को नयाँ भर्सन सामाजिक सञ्जालमा निकै चर्चा पाएको गीत बनेकाे छ ।
रचना रिमालले गाउनुभएको यो गीतको नयाँ भर्सनले चर्चाभन्दा पनि विवादको विषय बनेको छ । नयाँ भर्सनको गीतको चर्को आलोचन भइरहेको छ ।
‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाईकी ओरिजिनल गायिका अञ्जु पन्तले सामाजिक सञ्जालमार्फत आफ्नो धारण व्यक्त गर्नुभएको छ । उहाँले नयाँ भर्सनमा ओरिजिनल गायक/गायिकाको नामसमेत उल्लेख नगरेको भन्दै दुःख व्यक्त गर्नुभएको हो ।
उहाँले लेख्नुभएको छ, 'अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समानकी रचना नानु लगायत सबै नवआगन्तुक कलाकारप्रति सधैँ स्वागत, आशीर्वाद र धेरै माया छ र रहिरहनेछ । उही सङ्गीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजिनल गायक गायिकाको नाम उल्लेखै नगरी, अफिसियल भनेर सार्वजानिक हुनु चाहिँ दुःखद र अन्यायपूर्ण कुरा हो ।
साथै उहाँले थप लेख्नुभएकाे छ, के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाइ थाहा भएन । म एक व्यक्तिको कुराभन्दा पनि यो चलनले भोलिका दिनमा सङ्गीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौ भन्ने चिन्ता लागेको छ । आशा छ सम्बन्धित पक्षले यो विषयलाई अनावश्यक विवाद र चर्चा गरिरहनुभन्दा दर्शक श्रोताको माग अनुसार समाधानको उपाय निकाल्नु हुनेछ । भविष्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभूति गर्ने दिन कहिल्यै नआओस् ।