कमजोर कथा औसत प्रस्तुती 'चपली हाइट ३'
काठमाडौं, फागुन ६ गते । कोरोनाको कारण दुई सातादेखि हलहरूमा कुनैपनि चलचित्र प्रदर्शन भएका थिएनन् । यसै साता फागुन एक गतेबाट पुन प्रदर्शनमा आएको चलचित्र हो, ‘चपली हाइट ३’ । कोरोनाले भनौं या अन्य चलचित्रहरुसँगको प्रतिस्पर्दाको डरले चलचित्र निर्माता अर्जुन कुमारले चलचित्र प्रदर्शनको मिती वारम्वार पछाडी सारेका थिए ।
यसले चलचित्रबारे दर्शकहरुमा खुब चासो समेत बढेको थियो तर दर्शकको चासोलाई चलचित्र निर्देशक निकेश खड्काले खल्लो बनाइदिएका छन् । एक त अहिले चलचित्र हलमा दर्शक तान्न नै कठिन छ त्यसमाथी चलचित्रको कथा मजबुत नहुनुले चलचित्रले पानी समेत माग्न पाउँदैन । यही हालत छ चलचित्र ‘चपली हाइट ३’ को । कथामा कुनै नयाँपन छैन । उही पहिले कै दुई शृंखलामा झैं पुरानै कथामा अल्झिएको छ, चलचित्र ।
चलचित्रमा कथाको सुरुवात हुन्छ चपली हाइटमा घटेको अपराधिक घटनाबाट । पानी परिरहेको समय साँझ पार्टीबाट फर्किरहेकी नायिका श्रद्धा (स्वस्तिमा खड्का) माथि तीन जनाले शारीरीक शोषण गर्न प्रयास गर्छन् । ठिक त्यहि समय चलचित्रका नायक भनौं या छोटो भूमिकामा देखिएका कलाकार पारस (आमिर गौतम) त्यहाँ आईपुग्छन् र श्रद्धालाई बचाउन खोज्दो समुहका केटाहरुबीच भएको कुटाकुटका कारण उनको मृत्यु हुन्छ । श्रद्धा पारसको हत्याको साक्षी बन्न पुग्छिन् । श्रद्धा र पारसको हत्या भित्र नै रुमलिएको छ चलचित्रको कथा ।
चलचित्रका अर्का मुख्य पात्र हुन प्रल्हाद मिश्र (महेश त्रिपाठी) जो पुलिस अफिसर हुन्छन् । उनले पारसको हत्याको आरोपी पत्ता लगाउन अनेकन तिकडम अपानाउँछन् तर उनको प्रयास सधै असफल हुन्छ । उनी पनि एउटा पीडित अफिसर हुन । प्रह्लाद आन्तरिक समस्याबाट पीडित हुन्छन् । उनलाई प्रहरीको जागिरबाट पैसा कमाउन नसकेको बहानामा श्रीमती र छोरीले छाडेर गएका हुन्छन् । यही कारण अपराधीबाटै पैसा लिएर उनी एउटा महल खडा गर्ने सपनामा भौतारिरहेका हुन्छन् । तर उनको यो सपना उनकै कारणले सफल हुँदैन ।
चलचित्र स्वस्तिमा र महेश त्रिपाठीको लागि मात्र बनाइएको हो जस्तो पनि लाग्छ । अभिनयको कुरा गर्ने हो भने चलचित्रमा यी दुबै कलाकारले बेजोड अभिनय गरेका छन् । चलचित्रका अन्य कलाकार सुपुष्पा भट्ट, लक्ष्मी बर्देवा र दीपाश्री निरौलाको भूमिका औसत लाग्छ । छिटफुट दृश्यहरुमा देखिने कलाकार अर्पण थापाको अभिनयले भने पक्का नै दर्शकलाई हलसम्म तान्न सहयोग गर्छ । उनको हिड्ने शैलीदेखि लिएर उनले गरेको भिलेनको अभिनय सम्झनलायक छ । यस्तै अर्का पुलिस अफिसर बनेका कलाकार प्रतीकमान श्रेष्ठले गरेको भूमिकाले पनि कथालाई केही हदसम्म राम्रो देखाउन सहयोग पुर्याएको छ ।
प्राविधिक रूपले पनि चलचित्र राम्रो बनेको छ । पुरुषोत्तम प्रधानको छायांकनले चलचित्रलाई केही हदसम्म उचाईको विन्दुमा पुर्याउन अवश्य मद्धत गर्छ । चलचित्रमा लेखक कुमार नगरकोटीको पुस्तक ‘मिस्टिका’ ले पनि ठाउँ पाएको छ । पुस्तक मिस्टिकाबाट नै चलचित्रको कथा उजागर हुन्छ ।
क्राइम थ्रिलर तथा सस्पेन्स विधा मन पराउने दर्शकले भने चलचित्रबाट अवश्य बोर हुँदैनन् । चलचित्रको अन्त्यतिर पुस्तकका पात्रमार्फत जसरी चलचिले बोकेको रहस्यको पर्दा उघ्रिन्छ, त्यो साँच्चै दर्शकका लागि अप्रत्याशित लाग्छ । यस मानेमा दर्शकलाई अन्त्यसम्म बाँधिरहन चलचित्र केही मात्रामा सफल भने भएको देखिन्छ ।
‘जिन्दगी रक्स’ र ‘फाटेको जुत्ता’ बनाएका निर्देशक निकेश खड्काले चलचित्रलाई थ्रिलर जनरामा बनाउन त खोजेका हुन तर उनको कमजोरी चलचित्रमा धेरै ठाउँमा झल्किन्छ । चलचित्रको ठुलो कमजोरी भने एउटै कथालाई बिभिन्न माध्यममा जोड्न खोज्नु । चलचित्रमा पहिला हत्याको कुरा देखाइन्छ, त्यसपछि बलत्कारको बिषय । हत्या र बलत्कारको बिषय संगै कथा फेरी हिरा तस्करी तर्फ मोडिन्छ ।यसले दर्शकलाई थप अन्योलता तर्फ लैजान्छ ।
चलचित्रको कथामा नयाँपन र वाचनशैलीमा कलात्मकता दुवै गायव छ । अधिकांश दृश्य कि पुलिस थानामा खिचिएको छ कि त डिस्कोमा । चलचित्रको गीत औसत लाग्छ ।
चलचित्रको कथामा नयाँपन नभएपछि चलचित्रलाई जति रंगरोगन गरे पनि कुरूप हुन्छ । चपली हाइट ३ त्यसको उदाहरण बनेको छ । निर्देशकले चलचित्रमा पस्कन खोजेका कुरा राम्रो हो तर सबैकुरा एकैपटक दिन खोज्नाले चलचित्रको कथालाई कमजोर बनाएको हो कि ?