मनोरञ्जन |

होलीको भोलि 'चिसो एष्ट्रे'

काठमाडौं, फागुन ११ गते ।

यहाँ जो आउँछन् मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन्
यहाँ जो बस्छन्, हत्केलाभरि खरानी र आँखाभरि धुवाँ बोकेर बस्छन्।

गाउँबाट शहर आएर परिवर्तन भएको युवकको कथामा आधारित फिल्म 'चिसो एस्ट्रे' को ट्रेलर सार्वजनिक गरिएको छ । दिन्स पाल्पालीको निर्देशनमा बनेको फिल्म काठमाडौँको कुमारी हलमा आयोजित एक औपचारिक कार्यक्रममा फिल्मको तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्ममा मुख्य भूमिकामा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशिलराज पाण्डेलगायतका कलाकार हुनुहुन्छ । यस बोहेक निकुन श्रेष्ठ, नविन लम्साल, रोविन तामाङ, इभोन जोशीलगायतले फिल्ममा अभिनय गर्नुभएको छ ।

फिल्ममा सहनिर्देशकको रुपमा कला संग्रौला, प्रकाश खत्री, कसम नेपाललगायत छन्। सुमित भट्टले खिचेको फिल्मको सम्पादन उज्जव ढकाल, प्रविन स्याङ्बो र दिन्स पाल्पालीले गर्नुभएको हो । फिल्ममा लगानी प्रविन स्याङ्बो र सुस्मिता पराजुलीको रहेको छ ।

फिल्मका मुख्य अभिनेता दिव्य देवले फिल्म निर्माणका रोचक कथा सुनाउँदै आफूले गाउँबाट सहर आउने मदन नामको चरित्र निर्वाह गरेको जानकारी दिनुभयो । थिएटरबाट फिल्ममा आएका उहाँले कतिपय फिल्म गर्दा सहकर्मीबीच आत्मीयता स्थापित गर्ने मौका नपाएको स्मरण गर्दै यो फिल्ममा भने त्यो मौका पाएको र सम्पूर्ण सहकर्मीसँग परिवारको जस्तो सम्बन्ध स्थापित भएको स्मरण गर्नुभएको हो ।

‘यो फिल्ममा म ड्राइभरको भूमिकामा पनि छु । सुटिङ सेटमा यस्तो भयो कि म साथीहरू सबलाई घर घर छाड्थेँ र आफू अन्तिममा घर जान्थेँ । यो रमाइलो फिल्ममा पनि देख्न सकिन्छ,’ उहाँले भन्नुभयो ।

सृष्टि श्रेष्ठले फिल्मभित्र शालीनताको चरित्रको निर्वाह गर्नुभएको छ । उहाँले फिल्ममा काम गर्दा व्यक्तिगत रुपमा पनि आफ्नो व्यक्तित्वमा परिवर्तन महसुस गरेको बताउन्भयो । फिल्म भित्र सृष्टि इन्स्टेलसन कलाकारको भूमिकामा हुनुहुन्छ ।

फिल्ममा काठमाडौंको संघर्ष र गल्लीहरुका कथालाई देखाउन खोजिएको छ । फिल्म चैत ४ गतेबाट प्रदर्शनमा आउनेभएको छ ।