मनोरञ्जन |

गीत–सङ्गीतको कथा म यस्तो गीत गाउँछु २

सुकृत नेपाल

काठमाडौँ, फागुन १४ गते । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले प्रिमियरमा सुखद प्रतिक्रिया पाए पनि परिस्थिति केही फरक देखिएको छ । बुधबार कीर्तिपुर सिनेप्लेक्समा आयोजना भएको प्रिमियरमा चलचित्रकर्मी र सञ्चारकर्मीले प्रतिक्रिया दिँदै गर्दा नायिका तथा निर्मात्री पूजा शर्माले आँसु पुछ्दै कसको आँखा लाग्यो मात्र भनिनन्, चलचित्र क्षेत्रमा आफूले गरेको कडा मेहनतको फल खाने बेलामा चलचित्रको मुख्य भूमिकामा देखिएका पात्र पल शाह विवादमा तानिएका प्रसङ्ग पनि कोट्याउन भ्याएकी थिइन् । एक गायिकासँगको उनको सम्बन्धबारे कुरा सार्वजनिक भएपछि चलचित्र निर्माण टिम केही हतासमा देखिएको थियो ।

धेरैलाई प्रिमियरमा पल शाहको कमी खटिएको देखिन्थ्यो । कोरोनाको त्रास र पटक–पटकको लकडाउनले चलचित्र प्रदर्शनको मिति पटक–पटक सर्न पुग्यो । निर्माण पक्षको धेरै समयको पर्खाइले अहिले बल्ल चलचित्र प्रदर्शनको साइत जु¥यो । एक भव्य प्रिमियरमा दर्जनौँ कलाकारले दिएका शुभकामनाको प्रतिक्रियाले निर्माण पक्ष उत्साहित त बनेको नै छ तर नायक पल शाहको प्रिमियरमा अनुपस्थितिले धेरैको मनमा अनेकन शङ्का उब्जाएको पनि छ ।

पहिलो चलचित्र ‘म यस्तो गीत गाउँछु’मा जस्तो निर्देशन सुदर्शन थापाले यस चलचित्रमा पनि निर्देशकीय खुबी राम्रो देखाएका छन् । पल शाह जसको नाम चलचित्रमा पनि पल नै हुन्छ । पल गीत–सङ्गीत क्षेत्रमा स्थापित भएका पात्रको भूमिकामा देखिएका छन् । नायिकासँगको उनको सम्बन्ध तब गासिन पुग्छ जब उनी नायिका छायाँ (पूजा शर्मा)को गाउँमा महोत्सवका लागि गीत गाउन पुग्छन् । छायाँ पहिलादेखि नै पलको फ्यान हुन्छिन् । पल र छायाँको भेट त्यहीँ हुन्छ । महोत्सवमा छायाँले पनि गीत गाउने मौका पाउँछिन् र छायाँको आवाज पलको कानसम्म पुग्छ । नायिका गायन क्षेत्रमा स्थापित भएकी हुन्नन् तर पलले उनलाई स्थापित गराउने वाचा गर्छन् र उनलाई काठमाडौँ आएर गीत रेकर्ड गराउन आग्रहसमेत गर्छन् । यति मै कथा सकिँदैन । पलले चलचित्रमा छायाँ र उनको बुवाले रेकर्ड गर्न तयार गरेको गीत कसरी चोरेर आफ्नो नाममा रेकर्ड गराउँछन् भन्ने कुरा चलचित्रमा देखाइन्छ ।

निर्देशकले गीत–सङ्गीतको चोरीको कुरालाई चलचित्रमा उठान गरेर समग्र साङ्गीतिक क्षेत्रलाई एक पटक फेरि जगाउन खोजेका छन् । चलचित्रको मध्यान्तरसम्म निर्देशकले कथालाई एउटा पाटोमा घुमाएका छन् भने मध्यान्तरपछि कथाले भिन्न मोड लिन्छ । कसरी पलले छायाँको गीत गाउने सपना पूरा गर्छन् भन्ने कुरा नै चलचित्रको मुख्य विषय बनेको छ ।

प्रेमका विषयमा चलचित्र निर्देशनमा माहिर मानिएका निर्देशक सुदर्शन थापाको कौशलता यस चलचित्रमा पनि भरपुर देख्न पाइन्छ । चलचित्र कथा नयाँ नभए पनि कथाको प्रस्तुतीकरण राम्रो छ । मध्यान्तरसम्म चलचित्र हाँसो र मजाकमा बित्छ भने मध्यान्तरपछिको रोनाधोनाले धेरै दर्शकको आँखा रसाउँछ । कलाकार पल शाह र नायिका पूजा शर्मा वरिपरि नै चलचित्र केन्द्रित छ । चलचित्रमा पल र पूजाको अभिनयले साँच्चै नै दर्शकको मन छुन्छ । पल शाहको अभिनयमा पुरानै शैली झल्किए पनि नायिका पूजा शर्मा अन्य चलचित्रमा भन्दा यसमा नयाँपन दिन खोजेकी छिन् । चलचित्रमा निर्देशकले पल शाहलाई भन्दा पूजा शर्मालाई धेरै फोकस गर्न खोजेको हो कि जस्तो पनि देखिन्छ ।

छायाँको बुवाको भूमिकामा देखिएका कलाकार हरिहर शर्माको अभिनयलाई धेरैले याद गर्छन् । एउटा बुवाले छोरीप्रति देखाएको माया र सद्भाव नै शर्माले निर्वाह गरेको भूमिका हो । यस्तै कलाकार दिनेश डीसीको भूमिकामा खासै नयाँपन छैन । उनको पुरानै शैलीको प्रस्तुतिलाई दर्शकले खासै याद गर्दैनन् । चलचित्रमा निर्देशकले युट््युब पत्रकारलाई धेरै नै तल झारेर प्रस्तुत गर्न खोजेका हुन् कि जस्तो महसुस हुन्छ । निर्देशक एक/दुई ठाउँमा पत्रकारको ज्ञानगुन गाउन त भ्याएका छन् तर अन्य ठाउँमा पत्रकारको काम केवल कलाकारको पछि दौड्ने मात्र हो कि भन्ने देखाउन खोजेका हुन् कि भन्ने लाग्छ । यसले समग्र पत्रकारलाई हेर्ने दृष्टिमा अवश्य असर पार्छ । एउटा कमेडियनलाई निर्देशकले युट्युब पत्रकारको भूमिकाको रोल दिनु पनि निर्देशकले अलि पत्रकारहरूप्रति न्याय नगरेका हुन् कि भन्ने लाग्छ । चलचित्रमा युट्युब पत्रकारको भूमिकामा देखिएका कमेडियन राजाराजेन्द्र पोखरेलको भूमिकाले खासै नयाँ कुरा सिकाउँदैन । उनको अभिनयले त झन् युट्युब पत्रकारहरूको काम नै पैसा र कलाकारहरूको पछि लाग्ने मात्र हो कि भन्ने दर्शाउँछ ।

चलचित्रको गीत–सङ्गीत धेरै कर्णप्रिय छन् । दर्शक चलचित्रको गीत सुनेर अवश्य नै मन्त्रमुग्ध हुन्छन् । अर्जुन पोखरेलको सङ्गीत र देवल भण्डारीको रचनाले चलचित्रलाई झन् माथि उठाएको छ । सौरभ लामाको सिनेम्याटोग्राफी ठीकठाक छ । सुगम पोखरेल, अन्जु पन्त, सनिश श्रेष्ठ, सोनाम तोपदेन, अस्मिता अधिकारी र सुरेश लामाको जादुमय आवाजले धेरै दर्शकलाई चलचित्रको गीत गुनगुनाउन बाध्य बनाउँछ ।