मनोरञ्जन |

एकपटक दर्शकसँग बसेर चलचित्र हेर्ने वातावरण मिलाइदिन प्रहरी र अदालतसँग पलको आग्रह

काठमाडौं, फागुन १५ गते । प्रहरीसमक्ष आज आत्मसर्मपण गर्नुभएका अभिनेता पल शाहले एक भिडियो सार्वजनिक गर्दै आफूलाई एकपटक दर्शकसँग बसेर चलचित्र हेर्न मन लागेको इच्छा व्यक्त गर्नुभएको छ ।

नायक पल शाहले आफू निर्दोष रहेको बताउँदै आउनुभएको हो । प्रहरी समक्ष उपस्थित हुनु अगाडि उहाँले सामाजिक सञ्जालमा भिडियोमार्फत आफू निर्दोष भएको दाबीसमेत गर्नुभएको छ ।

सुरुदेखि नै आफूलाई फसाउने षड्यन्त्र भएको पनि उहाँले बताउँदै आउनुभएकाे छ । यद्यपि, आफूले प्रहरी, प्रशासन र अदालतलाई सघाउने उहाँले बताउनुभयो ।

यसैबीच, उहाँले प्रहरी र अदालतसँग एकपटक आफूलाई दर्शकसँग बसेर चलचित्र हेर्न अवसर प्रदान गरिदिन आग्रह गर्नुभएकाे हो । आफ्नो चलचित्र म यस्तो गीत गाउँछु–२ हलमा प्रदर्शन भइरहेको भन्दै उहाँले उक्त चलचित्र दर्शकसँग बसेर हेर्ने चाहना रहेको र उक्त अवसर प्रदान गरिदिन अनुरोध गर्नुभएको हो ।