मनोरञ्जन |

सफल चलचित्रको दर्जामा मौलीको ‘आरआरआर’

सुकृत नेपाल

काठमाडौँ, चैत १३ गते । एस्एस् राजामौली साउथ चलचित्र जगत्का यस्ता निर्देशक हुन् जो कल्पनामा बुनेका कुराहरूलाई चलचित्रमा उतार्न सिपालु मानिन्छन् । उनी हरेक उमेर समूहका वर्गलाई ध्यान राखेर चलचित्र बनाउने गर्छन । ‘बाहुबली : दी बिगिनिङ’ र ‘बाहुबली : दी कन्क्लुजन’ निर्देशन गरिसकेका यिनको चलचित्र बलिउडमा ब्लकबस्टर ठहरिँदै आएको छ । ‘आरआरआर : राइज रोर रिभोल्ट’ पनि त्यही कोटीमा पर्ने सम्भावना छ । किनभने यिनै दर्शकहरू यस चलचित्रका निम्ति प्रतिक्षारत् थिए ।

आरआरआर दुई नायक भीमा (एनटीआर जुनियर) र सितारामा राजु (रामाचरण)को वरपर घुमेको छ । चलचित्रको कथाले दर्शकलाई सन् १९२० मा पु¥याउँछ । त्यतिखेर हिन्दुस्तानमा अङ्ग्रेजको क्रूरताको पराकास्टा थियो । त्यस परिवेशलाई सर्वनाश गर्नुमा नै चलचित्र घुमेको छ । भीमाको गाउँबाट एउटी दसबाह्र वर्षकी बच्चीलाई अङ्ग्रेजहरूले दिल्ली लिएर जान्छन् । त्यही बच्चीलाई खोज्दै भीमा दिल्लीसम्म पुग्छन् । भीमा दिल्ली आएको कुरा अङ्ग्रेजहरूले थाहा पाउँछन् । भीमालाई पक्रन अङ्ग्रेज प्रहरीलाई चानचुने हैन एउटा योद्धाको आवश्यकता थियो ।

अङ्ग्रेजहरूको समूहमा रहेका भारतीय सिपाही रामालाई भीमालाई पक्रने जिम्मा दिइन्छ । भीमा र रामाले एक अर्कालाई चिनेका हुँदैनन् । दुवैको भेट हुन्छ र दुवै घनिष्ट साथी पनि बन्न पुग्छन् । भीमालाई रामा अङ्ग्रेज सिपाही हो भन्ने सुरुमा थाहा हुँदैन तर जब पछि उसले यो कुरा थाहा पाउँछ त्यसपछि के हुन्छ भन्ने नै ‘आरआरआर’को कथा हो । के बच्चीलाई अङ्ग्रेजबाट छुटाउन भीमा सफल हुन्छन् ? के भीमालाई समात्न रामा सफल हुन्छन् होला ? रामा अङ्ग्रेजहरूका लागि काम किन गरिरहेका छन् ? यी सबै कुराहरूको जवाफ पाउन ‘आरआरआर’ हेर्नुपर्ने हुन्छ ।

चलचित्रको क्लाइमेक्स धेरै राम्रो छ । क्लाइमेक्सले नै चलचित्रलाई उम्दा बनाउने काम गरेको छ । जुनियर एनटीआर र रामाचरणको अभिनयले चलचित्रलाई बेजोड बनाएको छ । चलचित्रमा यति उत्कृष्ट एक्सनका दृश्यहरू छन् कि तिनले दर्शकलाई तीन घण्टा एकै ठाउँ राखिदिन्छ । आलिया भट्टको भूमिका छोटो छ तर स्मरणीय छ । अजय देवगनको भूमिका पनि खासै ज्यादा छैन तर आफ्नो भूमिकालाई उनले दमदार अभिनयमार्फत न्याय गरेका छन् । अन्य सहयोगी कलाकारहरूको अभिनयलाई पनि हामीले बिर्सन सक्दैनौँ । विजेन्द्र प्रसादको कथा रोचक छ । केके सेन्थिलको सिनेम्याटोग्राफीलाई जति तारिफ गरे पनि कम हुन्छ । उनको शिल्पले चलचित्रमा देखाइएका एक्सनका दृश्यलाई झनै दमदार बनाइदिएको छ । चलचित्रले देशभक्त चरित्रलाई चित्रण गरेको छ ।

चलचित्रको सेट र भीएफएक्सको जति तारिफ गरे पनि कम हुन्छ । चलचित्र राम्रो बन्नुको कारण यसको भीएफएक्सले गर्दा पनि हो । चलचित्रको सङ्गीत, पटकथा र निर्देशकीय पक्ष पनि राम्रो छ । चलचित्रको गीत र दुवै नायकको नृत्यलाई दर्शकले रुचाउने छन् ।
राजामौली जस्ता निर्देशकबाट दर्शकले निकै अपेक्षा राखेका हुन्छन् यस चलचित्रमा उनले आफ्नो पहिचान कायम राख्न कति सफल भएका छन् भन्ने प्रश्नको जवाफ भने चलचित्र हेरेर नै दिन सकिन्छ ।