मनोरञ्जन |

कला संस्कृतिको प्रवर्धनमा सक्रिय सुनीता

यलु जोशी

काठमाडौँ, चैत २७ गते । शिक्षामा सबैको पहुँच हुनुपर्छ भन्ने धारणा बोक्नुभएको सुनिता डङ्गोल सौन्दर्य प्रतियोगिता मिस नेवाः को विजेता मात्र भएर सीमित रहनुभएन । नेपाल भाषाको लिपिलाई देश–विदेशमा रहेका युवा पुस्तालाई जागरुक गराउने अभियान नै चलाउनुभयो । नेपाल भाषाको लिपिलाई युवा पुस्ताले सिक्नुपर्छ र जोगाउनुपर्ने भन्ने धारणाका साथ अघि बढिरहनुभयो । फलस्वरूप अहिले नेपाल भाषाको लिपि सिक्ने दस गुणाले बढेको बताउनुहुन्छ । लोप हुन लागेको लिपिलाई पुनः जागरुक गराउनुभएको डङ्गोलले नेवार मात्र नभएर गैरनेवारहरूको पनि सम्पत्ति हो भन्ने जनचेतना जगाउनुभयो ।

कला संस्कृतिको संरक्षण र प्रवर्धनमा सदैव अघि बढिरहनुभएको डङ्गोल विभिन्न कार्यक्रमको सञ्चालन, मोडरेट गर्दै नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्दै आउनुभएको छ । सांस्कृतिक अभियन्ताका रूपमा नेपाल चिनाउन जुट्नुभएको उहाँले सहरी योजना आयोगमा सहायक विज्ञका रूपमा काम गरिसक्नुभयो । अन्तर्राष्ट्रिय टाइपोग्राफी सङ्घको सञ्चालक समितिमा समेत रहनुभएको डङ्गोल आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँको काम र योजनाबारे गोरखापत्रले गरेको कुराकानी :

 मिस नेवा भइसकेपछिको मुख्य काम के गर्नुभयो ?

सन् २०११ मा मैले मिस नेवाको ताज जितेको हो । यो प्रतियोगिता जितेपछि समाजप्रतिको दायित्व बोध गरायो । त्यस अवधिमा मैले समाज सेवा गर्ने रोजेँ । बालबालिका र शिक्षाको विकास गर्ने मेरो योजना भयो । ‘हाम्रो शिक्षा आँखा माथि’ भन्ने नाराका साथ राजधानीमा मात्र नभएर गाउँ–गाउँमा बालबालिकालाई शिक्षित गर्न हामीले शैक्षिक सामग्रीको सहयोग ग¥यौँ र दशैँमा लुगा पनि विद्यालयको ड्रेस प्रदान ग¥यौँ, जसले गर्दा बालबालिका विद्यालय जान उत्साहित आओस्, अहिले पनि यो अभियान चलिरहेको छ । यतिले मात्र भएन, हाम्रो संस्कृतिलाई पनि बचाउनुपर्छ भन्ने आत्मबोधले हाम्रो कला संस्कृतिलाई विज्ञानसँग जोडेर हेर्न थालेँ ।

 नेपाल भाषाको लिपि विकासका लागि पनि लागिपर्नुभएको छ ?

कला, संस्कृति परम्परा बुझ्ने क्रममा मैले लिपि सिक्न गएँ । भाषाको कुरा गर्ने हो भने लिपि सिक्नुपर्छ तर भाषा सिक्दा लिपि सिक्नुपर्छ भन्ने जमात न्यून रहेको देखेँ । लिपि हुन्छ भन्ने थाहा नपाएको जमात धेरै थियो । यो नेवारको मात्र सम्पत्ति होइन गैरनेवारको पनि हो । देशकै सम्पत्ति हो भन्ने लागेपछि युवाहरूलाई कसरी सिक्न लगाउने भन्ने योजना बनायो । त्यसपछि सार्वजनिक स्थलमा कार्यक्रम गर्न थाल्यो । रञ्जना लिपिबाट नाम लेखेर दियौँ र सिकाउन थाल्यौँ । नेपाल र रञ्जना लिपिको विकासका लागि सक्दो प्रयास ग¥यौँ । जसले गर्दा सिक्न आउनेमा १० गुणाले बढ्यो । अनलाइनमार्फत सिक्नेहरू झन् बढ्न थाल्यो । कोरोना महामारीलाई पनि अवसरका रूपमा लियौँ, भाषा लिपि सिक्न चाहनेलाई अनलाइन कक्षा दियौँ, भिडियो बनायौँ । हामीले विद्यायलको पाठ्यक्रममा पनि नेपाल भाषालाई समावेश गरायौँ ।

 लिपि सिक्न आउनेको सङ्ख्या कस्तो छ ?

हाम्रो यो अभियान पछि देश विदेशबाट सिक्न आउनेको सङ्ख्या उल्लेख्य रहेको छ । जसमा नेवार र गैरनेवार पनि धेरै हुनुहुन्छ । धेरै फिल्डका मानिस आइरहेका छन् ।

 भाषामा मात्र नभएर सडक मानवको पनि उद्धार गर्नुभयो ?

मैले काठमाडौँ महानगरपालिकामा सहरी योजना आयोगमा सहायक विज्ञका रूपमा काम गर्ने मौका पाएँ । यसरी काम गरिरहँदा महानगरलाई बुझ्ने अवसर प्राप्त भयो । त्यहाँ काम गर्दै जाँदा सडक मानव धेरै रहेको देखियो । उहाँहरूको समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने काम ग¥यौँ, दिन–रात भनिन् । पुस माघको जाडोमा रातको ११–१२ बजेसम्म सडक मानव उद्धार गर्ने कार्य गरियो । जाडोका कारण कोही पनि कठ्याङ्ग्रिएर नमरोस् भन्ने उद्देश्य थियो ।

 मेयरमा उठ्ने पनि हल्ला छ ?

राजनीतिबाट देशको अझ विकास गर्न सक्ने भएकोले मेयरमा उठ्न लागेको हो । सरकारसमक्ष पुग्न राजनीतिमा नै लाग्नुपर्ने रहेछ, त्यसैले यस क्षेत्रमा पाइला टेकेकी हुँ । मेरो ज्ञान, सीप र क्षमताको उच्चतम उपयोग गर्दै यो सहरलाई सुन्दर र समृद्ध बनाउने सपनालाई मूर्तरूप दिन मैले काठमाडौँको मेयर बन्ने सोच राखेकी हुँ । वैशाखको पहिलो हप्तापछि मैले आफ्नो उम्मेदवारी स्वतन्त्र या दलबाट भन्ने जनतालाई स्पष्ट गर्ने छु ।

 सम्पदा संरक्षण, पुरातात्त्विक वस्तुहरूको प्रवर्धनका लागि योजना के के छन् ?

काठमाडौँभित्र रहेका बहाल बहिलहरूको संरक्षण तथा प्रवर्धनमा गर्न बहा बही संरक्षण तथा प्रवद्र्धन विकास समिति स्थापना गरिनेछ । कामपा क्षेत्रका सार्वजनिक जग्गा, सत्तल पाटी, पौवा, मठ–मन्दिर र अन्य सम्पदाको संरक्षण गर्छौं । काठमाडौँको कला संस्कृति संरक्षण र प्रवद्र्धन गर्न महानगरीय सङ्ग्रहालयको स्थापना गर्छौं । स्थानीय कला, साहित्य, लिपि तथा भाषाको संरक्षण तथा संवर्धनका लागि आवश्यक व्यवस्था गर्ने योजना छ ।