फिचर |

कोरोना सङ्क्रमणबाट बुटवलमा थप दुई जनाको मृत्यु

दीपक ज्ञवाली
बुटवल, भदौ ७ गते । कोरोना सङ्क्रमणबाट बुटवलमा थप दुई जनाको मृत्यु भएको छ । आइतबार बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको हो । आइतबार मृत्यु हुनेमा दुवैजना रुपन्देहीका रहेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताउनुभयो ।
योसँगै बुटवलको यही अस्पतालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेहरूको सङ्ख्या चार पुगेको छ । साउन ३१ गते कोरोना पोजिटिभ पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी बुटवल वडा नम्बर १ की ६७ वर्षीया महिलाको आइतबार मध्यान्ह कोरोना विशेष अस्पतालमा मृत्यु भएको प्रादेशिक अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । आइतबार नै रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका ३८ वर्षीय पुरुषको मृत्यु भएको उल्लेख गरिएको छ ।
भदौ १ गते श्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई अस्पताल लगिएको थियो । दुवै जनाको कोरोना अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको थियो । मृतक महिलामा पहिलेदेखि नै श्वासप्रश्वास र मर्गौलाको बिरामी रहेको र मृतक पुरुषमा कोरोनाको लक्षण देखिएको अस्पतालले जनाएको छ ।