फिचर | पढ्नै पर्ने |

धुलिखेल अस्पतालमा एक जना कोराना सङ्क्रमितको मृत्यु

मधुसुधन तिमल्सिना

काभ्रे, भदौ १० गते । धुलिखेल अस्पतालमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय, काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका–८ निवासी ५५ वर्षीय पुरुषको मङ्गलबार राति ११ः५५ मा मृत्यु भएको जानकारी दिनुभयो । मुटु र थाइराईड रोगको उपचारका लागि तीन दिनअघि उहाँ धुलिखेल अस्पताल आउनुभएको थियो ।

उहाँको उपचारकै क्रममा मृत्यु भएको धुलिखेल अस्पतालले जनाएको छ । उहाँको शवलाई नेपाली सेनाले पशुपतिमा रहेको विद्युत्तिय शवदाह गृहमा अन्त्येष्टि गर्ने तयारी भएको झाले जानकारी दिनुभयो । योसँगै धुलिखेल अस्पतालमा अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ । धुलिखेलका ९८ वर्षीय जेष्ठ नागरिक, सिन्धुपलाञ्चोककी सुत्केरी महिलालाई उपचार हुन नपाउँदै मृत्यु भएको थियो ।
जिल्लामा कोरोना सङक्रमितको सख्या १६३ पुगेको छ । जसमा ६३ जना निको भएर घर फर्किएका छन भने बाँकी ९८ जना विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन् । काभ्रेपलञ्चोकमा कोरोना सङक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ ।