प्रदेश २ मा २५२ सङ्क्रमित थपिए, सक्रिय सङ्ख्या पाँच हजार ४५८
धर्बेन्द्र झा
जनकपुरधाम, भदौ १८ गते । प्रदेश नं.२ मा बिहीबार २५२ जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन् । प्रदेश नं.२ मा विगतमा केही दिन घटदै गरेको सङ्क्रमण पुनः बढ्दै जान थालेको छ । मङ्गलबार ८८ जनामा झरेको सङ्क्रमण बुधबार २५० हुँदै आज २५२ मा उक्लेको छ । बुधबार सम्ममा प्रदेश नं.२ मा जम्मा पाँच हजार ४५८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको समाजिक विकास मन्त्रालय प्रदेश नं.२ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिनुभयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाैँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा गरिएको परीक्षणबाट आज ५५ महिला र १९७ जना पुरुष गरी २५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको प्रशासक झाले जानकारी दिनुभयो । यो सँगै प्रदेश नं.२ मा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दस हजार ८०८ पुगेको छ ।
उहाँका अनुसार आज धनुषामा ६३, महोत्तरीमा १९, बारामा २५ ,पर्सामा ६९ सलार्हीमा ३० र रौतहटमा १८ जनामा कोरोना भाइरस पुष्टि भएको हो । वरिष्ठ जनस्वास्थ्य प्रशासक झाका अनुसार आज सप्तरीको राजविराज नगरपालिका वडा नं.७ का एक ५५ वर्षीय एक जना पुरुषको मृत्यु भएको छ ।
त्यसैगरी, आजै आठ महिला र १७५ जना पुरुष गरी १८३ जना सङ्क्रमणमुक्त भएर घर फर्किसकेको उहाँले जानकारी दिनुभयो । योसँगै प्रदेश नं.२ मा कोरोनालाई जितेर फर्किनेको सङ्ख्या पाँच हजार २५४ पुगेको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताउनुभयो । उहाँले बिहीबारसम्म प्रदेश नं.२ मा एक लाख एक हजार ८२२ जनाको स्वाब सङ्कलन गरी जाँचको लागि पठाइएकोमा पाँच हजार ८६ जनाको नतिजा आउन बाँकी रहेको बताउनुभयो ।
उहाँले आज मात्रै एक हजार २४१ जनाको स्वाब जम्मा गरिएको बताउनुभयो । केही दिनयता प्रदेश नं.२ मा प्रदेश सरकारले पीसीआरको परीक्षणको दायरा फराकिलो पारेपछि सङ्क्रमितको पहिचान हुन थालेको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाको भनाइ रहेको छ ।