फिचर | स्वास्थ्य |

समुदायस्तरमा कोरोना परीक्षण गर्दा सिरहामा ५४ जना संक्रमित

सन्तोष सुवेदी
सिरहा, भदौ २२ गते । सिरहामा सोमबार एकैदिन सबैभन्दा बढी ५४ जनालाई संक्रमणको पुष्टि भएको छ । संक्रमण हुनेमा लहान नगरपालिकाको कर्मचारीदेखि नेपाली सेनामा कार्यरतसमेत छन् ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले सोमबार आएको परीक्षण प्रतिवेदन अनुसार, चोहर्वास्थित नेपाली सेनाको ब्यारेकका २८ जना संक्रमित भएका छन् । योसमेत गरी सैनिक ब्यारेकमा संक्रमित हुनेको सङ्ख्या ३९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिरहामा पनि एक जना प्रहरी संक्रमित भएको जनाइएको छ ।

यसैगरी, लहान नगरपालिकाका एक कर्मचारीसहित लहानमा १० जना, गोलबजारका आठ जना, बरियारपट्टीका पाँच जना तथा नरहाका दुई जना संक्रमित भएका छन् । सिरहामा पछिल्ला केही दिनदेखि स्थानीय तहले समेत आफैँ भिटिएम खरीद गरी समुदायस्तरमा कोरोना परीक्षण गर्न थालेपछि सोमबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेको हो ।

सोमबार संक्रमित भएका ५४ जनासमेत गरेर सिरहामा संक्रमितको सङ्ख्या ५४३ पुगेको छ । त्यसमध्ये ३५५ जना संक्रमणमुक्त भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल सिरहामा १७९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा सिरहामा ५५ वर्षीय पुरुषकोे कोरोनाको संक्रमणबाट मृत्यु भएको जनाइएको छ । योसमेत गरेर सिरहामा कोरोना संक्रमणको कारण मृत्यु हुन पुगेको सङ्ख्या नौ पुगेको छ ।