फिचर | पढ्नै पर्ने |

लकडाउनले सिकाएको लैना पाडापाडी हुर्काउने उद्यम

नवीन शिशिर विक

बागलुङ, भदौ २६ गते । बागलुङ नगरपालिका–१३ पैयुपाटाका रमेश लामिछानेले विगत तीन वर्षदेखि काठमाण्डौमा होटल तथा रेष्टुरेन्ट व्यावसाय संचालन गर्दै आउनुभएको थियो । दाईहरुसँगको सहकार्यमा काठमाडाैँको लाजिम्पाटमा प्राईमल्याण होटल र लाल्टिन रेष्टुरेन्ट संचालन गर्दै आउनुभएका २४ बर्षिय लामिछानेको आम्दानी पनि राम्रो थियो ।

होटल व्यावसाय दिन प्रतिदिन फस्टाउँदै गरेको अवस्थामा सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी चैत्र ११ गतेदेखि बन्दाबन्दी घोषण ग-यो । होटलमा दिन प्रतिदिन ग्राहक आउने क्रम घटे पछि उहाँ बैशाख १० गते दाईहरुसहित बागलुङको घर फर्कनुभयो । बन्दाबन्दी निरन्तर थपिए पछि उहाँ काठमाडाैँ फर्केर व्यावसायलाई गति दिन सक्ने अवस्था भएन् ।

तीन दाजुभाई घरमै जम्मा भएको बेला उहाँहरु सल्लाह गरेर गाउँमै भए पनि केही उद्यम गर्ने योजना बन्यो । दीर्घकालिन टिक्न सक्ने व्यावसायको खोजीमा रहेको तीन दाजुभाईले काटिखनेमा खेर गहिरहेका लैना पाडापाडी हुर्काउने योजना बनाउनुभयो । त्यही अनुसार लामिछानेले गोठ तयार गरी हाल ४५ वटा लैना पाडापाढी जम्मा गर्नुभएको छ । दाजुभाई काठमाण्डौ गए पनि उहाँ पाडापाडी हुर्काउने अभियानमा लाग्नुभएको छ । ‘गाउँमा रोजगारका अवसर आफै सृजना गर्नुपर्छ’ लामिछानेले भन्नुभयो–‘पाडापाडी हुर्काउने गोठ तथा पशु खरिदका लागि करिब ७ लाख खर्च भएको छ । अभियानमा उहाँका दाजु चेतन लामिछाने, लालु लामिछानेले आर्थिक रुपमा सहयोग गर्नुभएको छ भने पाडापाडीको दैनिक स्याहार सुसार र हेरचारमा बाबुआमा र बहिनीहरुले सघाउँदै आएका छन् ।

‘काटिखानेमा लैनापाडापाडी मासिएका छन्’ उहाँले भन्नुभयो–‘नयाँ भैसीको मूल्य एकदेखि डेढ लाखसम्म पर्ने रहेछ, हुर्काएर दुध र मासुको लागि प्रयोग गर्न सक्छौँ । पाडीलाई हुर्काएर दुध र पाडालाई मासुको रुपमा विक्री गर्न सकिने उहाँको भनाई छ । पसु अधिकार संरक्षणको लागि पनि अभियान सहयोगी बन्ने लामिछानेको विश्वास रहेको छ ।

उहाँले सामाजिक संजालमार्फत लैनापाडा कटाउन भन्दा पाल्नको लागि दिन आग्रह गर्नुभएको छ । भैसी व्यायको हप्ता सम्बन्धीत गोठमै राखिदिने र एक हप्ता पछि एक हजार रुपियाँ तिरेर खरिद गर्ने गरेको लामिछानेले बताउनुभयो । ‘युवाहरुले गरेको काम राम्रो लागेको छ’ स्थानीय दुर्गा पौडेलले भन्नुभयो–‘पाडापाल्न नचाहनेले खाने मान्छे खोज्न हैरान हुन्थ्यो, अहिले फोनमा बोलाए घरमै आएर लैजान्छन ।’ उहाँले पहिलो पटक आफुनो पाडो उपलब्ध गराउनुभएको थियो ।

बलेवा क्षेत्रको नारायणस्थान, पैयुपाट र अमलाचौर क्षेत्रका सबै पाडा हुर्काउने सोच बनाएको लामिछानेले सुनाउनुभयो । पाडा नियमित दुध आपूर्तिको लागि घरमै तीन वटा भैसी र एक वटा गाई पालिएको छ भने दैनिक १५ लिटर दुध बाहिरबाट खरिद गरेको उहाँले जानकारी दिनुभयो । तत्कालाई गाउँमा खाली रहेका गोठ प्रयोग गरिएको छ ।