फिचर | खुला |

रौतहट र सर्लाही जोड्ने बागमती नदीमा नयाँ सडक निर्माण हुँदै 


कृष्ण तिवारी
रौतहट, भदौ २६ गते । रौतहटको गढिमाई नगरपालिकाको आर्थिक सहयोगमा जिल्लाको पूर्वी भेगमा अवस्थित धर्मपुरघाट स्थित बागमती नदीको किनारमा नयाँ सडक निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । रौतहट र सर्लाही जिल्लालाई जोड्ने गढिमाई नगरपालिका ६ सिंगारमन धर्मपुरस्थित बागमति नदीको किनारमा निर्माणाधिन पुलदेखि पूर्व पाँच किलोमिटर लामो सडक निर्माण कार्य दु्रत गतिमा भइरहेको छ ।

निर्माण कार्य भइरहेको सो सडकको आधा भाग रौतहटको गढिमाई नगरपालिकामा पर्छ भने आधी भाग सर्लाहीको धनकौल गाउँपालिकामा पर्दछन् । गढिमाई नगरपालिकाका मेयर श्याम यादवले आफ्नो नगरपालिकाको लगानीमा उक्त सडक निर्माण कार्य थाल्नुभएको छ । धर्मपुरघाट स्थित गतवर्ष मात्रै निर्माण भएको बागमति नदीको सो पुलदेखि पाँच किलोमिटर पूर्व सर्लाहीको महिनाथपुर घाटसम्म ७० देखि ७५ फिटसम्म सडक निर्माणको काम भइरहेको गढिमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले बताउनुभएको छ ।
उक्त सडक निर्माणमा लाग्ने सम्पूर्ण खर्च गढिमाई नगरपालिकाले नै व्यवहोर्ने उहाँले बताउनुभयो ।

गत वर्ष मात्रै बागमति नदीमा सो पुल निर्माण भई सञ्चालनमा आएको थियो । पुल निर्माण भई सञ्चालनमा आए पनि पुलदेखि पूर्व महिनाथपुर घाटसम्म सडक नभएको कारण सर्वसाधारणहरु जसो तसो गरी जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेका छन् । छ वटा जेसीबी डोजरबाट अहिले महिनाथपुर घाटबाट नै उक्त सडकको ट्रयाक खोल्ने काम भइरहेको र भइरहेको छ ।
आउँदो माघदेखि उक्त सडक पूर्ण रुपमा सञ्चालन भइसक्ने उहाँले बताउनुभयो ।

नदीको पुलको सो बाटो निर्माण भएपछि रौतहटबाट सर्लाही र सर्लाहीबाट रौतहट आवतजावत गर्न सर्वसाधारणलाई सहज हुनेछ । उक्त ठाउँमा अहिले सडक नभएका कारण रौतहट सर्लाहीका साथै अन्य जिल्लाका हजारौ यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् भने धेरैले १० किलोमिटर घुमाउरो बाटो भएर समनपुर घाट स्थित डुंगा चढेर जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेका छन् ।