पोखरामै रम्दै पर्यटक
स्मीता अधिकारी
रोक्सी ज्युलियान संयुक्त राज्य अमेरिकाको लस एन्जलसकी स्थायी बासिन्दा हुनुहुन्छ । २३ वर्षीया ज्युलियान ९० दिनको पर्यटक भिसामा नेपाल आउनुभएको थियो । यो कुरो गत डिसेम्बरको हो । पर्यटक भिसामा नेपाल आउनेहरू बढीमा १५० दिनमात्र बस्न पाउँछन् । तर, उहाँले झन्डै एक वर्ष पर्यटकीय नगरी पोखरामा बिताइसक्नुभयो । उहाँलाई यो मौका दियो कोरोनाले । कोरोनासँगै भएको बन्दाबन्दी उहाँका लागि भने नेपाल बस्ने आशिर्वाद साबित भयो ।
अघिल्लो महिना बन्दाबन्दी खुलेसँगै अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन हुने र पर्यटक भिसाका विदेशीले नेपाल छाड्नुपर्ने कुरो सुन्दा उहाँलाई जीवनभरकै नरमाइलो अनुभूति भयो । एकातिर आफ्नो देश फर्कंदा बाटोमा कोभिड सर्ने डर, अर्कातिर पोखराको प्राकृतिक सौन्दर्यबाट विछोडिनुपर्दाको पीडाले उहाँलाई सताउनु सतायो । त्यसमाथि एक वर्षसम्म रहँदा यहाँका मानिसको व्यवहार र चालचलनलाई चटक्कै छाड्नुपर्दाको खिन्नता मनमा छँदै थियो । यसरी उहाँको पोखरा बस्ने तिर्सना अभैm मेटिएको थिएन । केही दिनअघि नेपाल सरकारले पर्यटक भिसालाई आउँदो डिसेम्बरसम्म म्याद थप गरिदियो । यो खबर सुनेर ज्युलियान यतिखेर औधी खुसी हुनुहुन्छ ।
कुराकानीका क्रममा उहाँले भन्नुभयो, ‘पाएँ भने जीवनपर्यन्त पोखरामा नै बस्छु । बिहेसमेत यहीँ गर्ने योजना बनाएको छु ।’ अहिले उहाँको दिनचर्या लेकसाइडमा थाङ्का बनाउने कलाकर्मीसँग बित्छ । अमेरिकामा छँदा नै ‘मण्डला आर्ट’मा विशेष विज्ञता हासिल गर्नुभएकी ज्युलियानले बन्दाबन्दीमा पोखरा बस्दा थाङ्का बनाउन सिक्नुभयो । ‘सानैदेखि मलाई कुनै ठाउँको रहनसहन, धर्म–संस्कृति झल्कने चित्रकला खुब मनपथ्र्यो, पोखराको थाङ्का कलाले मलाई झन् धेरै कुरा सिकायो ।’ बन्दाबन्दीसँगै लम्बिएको पोखरा बसाइ आफ्ना लागि निकै फलदायी भएको जनाउँदै उहाँले भन्नुभयो ।
ज्युलियान एक उदाहरण हुनुहुन्छ । उहाँ जस्ता थुप्रै विदेशी पर्यटक पोखरामा छन् । जसले कोरोना महामारीको पीडा र सङ्कट बिर्सेर पोखराको विशेषता र सौन्दर्यमा रमाइरहेका छन् । पर्यटक भिसाका सवालमा नेपाल सरकारको नियमअनुसार, बन्दाबन्दी नभएको भए गएको वैशाखसम्ममा उनीहरू आफ्नो देश फर्किसक्नुपर्ने थियो । फर्किएको भए, बाटोमा कोभिड सर्ने खतरा त थियो नै, यो नयाँ संसार कहाँ पाइन्थ्यो र ? इटालीको लमबार्डे सहरका ६३ वर्षीय मार्को एन्टोनेलीले भन्नुभयो । एन्टोनेली र अमेरिकाको केन्टुकीकी ६६ वर्षीया एमी विल्सनको प्रेम कथा बन्दाबन्दीका बेला यहाँ सुरु भयो । भ्रमण वर्ष मनाउन पोखरा आउनुभएका मार्को र काठमाडौँ सहर हेर्न पहिलोपटक नेपाल आउनुभएकी एमीको बन्दाबन्दी हुनु हप्ता दिनअघि पोखरा विमानस्थलमा भेट भयो । उहाँहरूबीच कुराकानी सामान्य नै चलेको थियो । बन्दाबन्दीको बेला एक्लाएक्लै ‘होम क्वारेन्टाइन’मा बसेको बेला मन बुझाउन घरीघरी फेवा किनारतिर निस्कने उहाँहरूको दिनचर्या थियो । यहीबेला उहाँहरूको कुराकानीले पनि गति लियो । उहाँहरूको दिनचर्या कहिले फेवा किनारमा टहलिनु, कहिले नजिकैका डाँडाकाँडा पैदल हिँड्नुहुन्थ्यो । करिब चार महिनाको सङ्गतपछि दुवैबीच प्रेम बस्यो । यो सम्बन्धलाई अघिल्लो महिना विवाहमै परिणत गर्नुभयो उहाँहरूले । श्रीमतीसँग सम्बन्धविच्छेद भएको वर्षौंपछि यो उमेरमा आएर आफूले सोचेजस्तै जीवनसाथी भेटेकोमा पोखरा र बन्दाबन्दीलाई मनभित्रैबाट धन्यवाद दिँदै मार्कोले भन्नुभयो, ‘पोखरा नआएको भए, बन्दाबन्दी नभएको भए र फेवा किनार नभएको भए, सायद हाम्रो भेट यो जुनीमा हुने थिएन ।’
यसैगरी, पोखरासँग गाँसिएका धेरै तीतामीठा अनुभव छन् उरुग्वेको मोन्टेभिडोका २९ वर्षीय मार्टिन ओलास्कोगासँग पनि । बन्दाबन्दीको पाँच महिनाको अवधिमा पोखराका तालवरिपरिका गाउँ हिँडेरै चहार्नुभयो उहाँले । धेरै गाउँलेलाई त साथी नै बनाउनुभयो । बन्दाबन्दीका बेला हाम्रो देशमा चाहिँ कोठा र घरभित्रै मानिस आराम गरिरहेका छन् भन्ने सुनिन्छ, यहाँ खेतबारी र ढुङ्गामाटोको काम निरन्तर गरिरहेका मानिस भेटिए ‘दे आर रियल्ली ट्यालेन्टेड’ । फेवातालपारि अनदुडाँडाको पैदलमार्गमा ढुङ्गा र माटोको पर्खाल बनाउँदै गरेका स्थानीय गाउँलेको भिडियो आफ्नो फेसबुक स्टोरीमा सेयर गर्दै उहाँले लेख्नुभएको थियो । भीडभाडबाट टाढा एकान्तमा केही दिन बिताउने उद्देश्यले आफ्नी प्रेमिकाको साथमा उहाँ नेपाल आउनुभएको थियो ।
यहीबीचमा उहाँले नेपालसँग गाँसिएको एउटा तीतो क्षण पनि सँगाल्नुभयो । फेवापारि पुम्दीनजिकै जङ्गलभित्र सानो कटेज रिजर्भ गरेर प्रेमिकासँग करिब महिना दिन बस्नुभएको थियो, बीचमै बन्दाबन्दी भइदियो । रुघा र ज्वरोले उहाँ इन्तु न चिन्तु हुनुभयो । वरिपरिका कटेज सबै बन्द । एक÷दुई भेटिएका नेपालीलाई सुनायो, अङ्ग्रेजी कुरा बुझ्ने कोही थिएनन् वरिपरि । दाउरा, घाँस गर्न आएका गाउँलेहरू औषधि भन्ने आशयले तातोपानी खान सुझाउँथे । जसोतसो दिन कट्यो । एक हप्तापछि अलि बिसेक महसुस भएपछि डुङ्गा खोजेर यो जोडी तालवारि लेकसाइड आइपुगे । उहाँलाई टाइफाइड भएको रहेछ । ‘नेपालीका लागि रुघा, ज्वरो सामान्य रहेछ । तर, मैले यस्तो रोगसँग जीवनमै पहिलोपटक पोखरामै आएर भेटेँ,’ ओलास्कोगाले आफ्नो अनुभूति सुनाउनुभयो । तर, बिस्तारै स्थानीयवासीको सङ्गतमा आएपछि यो तीतो अनुभव बिर्सन धेरै दिन लागेन उहाँलाई । दे आर रियल्ली सिम्पल एन्ड फ्रेङ्क,’ पोखराआसपासका गाउँ डुल्दा भेटेका नेपाली साथीको बखान गर्दै ओस्कागोले भन्नुभयो ।
अहिले पोखरामा करिब चार सयको हाराहारीमा अमेरिकी तथा युरोपेली मुलुकका पर्यटक छन् । यी पर्यटक विश्वव्यापी कोरोनाको महामारीमा आफ्नो देशभन्दा पोखरा नै सुरक्षित ठानेर ढुक्कसँग बसिरहेका छन् । यिनीहरूसँगको प्रत्यक्ष कुराकानीबाट के बुझ्न सकिन्छ भने नेपालसँगको मोह र विश्वास कोभिड सुरक्षाले मात्र पलाएको होइन । बरु सोचेभन्दा धेरै समय पोखरामा बस्दा यहीँको रहनसहनमा भिजेका कारण पलाएको हो ।
‘यु पिपुल आर रियल्ली स्माइली, क्वाइट क्लिन हार्टेड,’ पोखराको लेकसाइडमा विभिन्न देशका नागरिक र नेपाली ‘गेटटुगेदर’मा सँगै भेटिएका बेलायतको लन्डननिवासी ६४ वर्षीय क्लाइभ ग्रिल्सले कुराकानीका बीच नेपालीको प्रशंसा गर्दै भन्नुभयो । दुई वर्षअघि पोखरा आउँदा रानीवन, शान्ति स्तुप हाइकिङ गर्नेक्रममा अचानक लडेर ढाड भाँचिएपछि पोखरेलीको माया चिनेको अनुभव छ उहाँसँग । त्यसमाथि बन्दाबन्दीका कारण अझै गहिरोसँग माया चिन्न पाएको पनि उहाँले भन्नुभयो ।
आमाबुवाको अचानक मृत्यु भएपछि मन भुलाउन विश्वभ्रमणमा निस्किएकी अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामीनिवासी लिन्डा स्यान्डे«सलाई पनि कोभिड बन्दाबन्दीको नेपाल बसाइले पीडा भुलाउँदै छ । गएको डिसेम्बरमा इन्डोनेसियाको बालीबाट केही दिनका लागि पोखरा आएकी लिन्डा अहिले खुद्रे व्यापारमा रमाइरहनुभएको छ । लेकसाइडको पश्चिमतिर केही पर खपौदीमा बस्दै आउनुभएकी लिन्डाको हरेक दिन एउटा न एउटा स्थानीय किसान र पसलेसँग भेटघाट र कुराकानी हुन्छ । स्थानीयले आफ्नै बारीमा उब्जाएका तरकारी डोकोमा राखेर पसल–पसलमा पु¥याउँदै बेचेको औधी मन प¥यो रे उहाँलाई । आफ्नो देशमा यसरी फुट्कर स्थानीय तरकारी देख्न साह्रै मुस्किल हुने गरेको उहाँले बत(ाउनुभयो । ‘हाम्रोमा घर–घरमा तरकारी आउने भनेको कारखानाबाट शुद्ध पारेरमात्र हो । तर, यहाँ त किसानकै हातबाट सटिएको तरकारी फलफूल खान पाइने रहेछ,’ लिन्डाले भन्नुभयो । यही व्यापारमा स्थानीय किसानलाई सहयोगस्वरूप कहिलेकाहीँ आपूm पनि हिँडने गर्नुहुन्छ, उहाँ आजकल ।
लिन्डाजस्तै, अस्ट्रेलियाको, अर्मिडेलका ६८ वर्षीय फ्रान्क ह्विटलिङ पर्यटक भिसा लिएर पहिलोपटक पोखरा आउनुभएको थियो । आएको भोलिपल्ट नै बन्दबन्दी भयो । मार्दी हिमाल ट्रेक गर्ने यसपालिको योजना तुहिएकोमा सुरुका दुई÷तीन दिन उहाँ निकै दुःखी हुनुभयो । ‘तर, त्यो निराशा पोखराको रहनसहनले भुलाइ दियो,’ उहाँले भन्नुभयो । ‘होम क्वारेन्टाइन’कै क्रममा घरीघरी ताल किनारतिर निस्कँदा आफूजस्तै अरू विदेशी पनि भेट्नुहुन्थ्यो उहाँले । यहीक्रममा विभिन्न देशका नागरिकको समूह बन्यो ।
‘एक–अर्काका दुःख, सुख व्यक्त गर्न योभन्दा राम्रो समूह मेरो परिवारसमेत थिएन,’ फ्रान्कले भन्नुभयो । बेलायतको लन्डनका स्थानीयवासी ६२ वर्षीय क्लिभ ग्रिल्सलाई भने यहाँको अतिथि सत्कार गर्ने तरिका र साधरण जीवनशैलीले ध्यान तान्यो रे । त्यसैले पोखराको बसाइ लम्याउने चाहना सधैँ हुन्छ उहाँलाई ।
‘यहाँका मानिस परिवारसरह नै भइसकेका छन् । यो नै मेरा लागि सबैभन्दा ठूलो प्रेरणा हो,’ उहाँले भन्नुभयो । फोटोग्राफीमा विशेष रुचि राख्नुहुने ग्रिल्सको अहिलेको दिनचर्या तालवरिपरिका जैविक विविधता र चराचुरुङ्गीको चालचलन नियाल्नु हो ।
पोखरा अध्यागमन कार्यालयको रेकर्डमा सामान्य अवस्थामा पनि पोखरामा वार्षिक औसत तीन हजार पाँच सयजना पर्यटकले भिसा थप्ने गरेका छन् । ‘तर, कोरोना बन्दाबन्दीमा भने भिसा थप्न चाहने पर्यटक योभन्दा धेरै भेटिए,’ पोखरा अध्यागमन कार्यालयकी प्रमुख प्रमिला गौतमले भन्नुभयो । बन्दाबन्दीको सुरुवातकै बेला पोखरामा करिब चार हजारको हाराहारीमा पर्यटक थिए । नेपाल पर्यटन बोर्डको पहलमा गएको जेठ महिनामा गरिएको विदेशी पर्यटक उद्धार अभियानका क्रममा करिब दुई हजारजना आफ्नो देश फर्किसके । अन्य कतिपय नेपाल पर्यटक यातायात व्यवसायी संस्थालगायत अन्य निकायको पहलमा स्वदेश फर्किए । तर, कैयौँ पर्यटकले विश्वमा जारी कोभिड महामारी आफ्नै इच्छाले पोखरामै छिचोलिरहेका छन् ।