फिचर | शनिवार |

भिक्षाटनको एक दिन

मणिरत्न शाक्य

तथागत बुद्ध एक दिन भिक्षाटनका लागि एउटा गाउँमा जाँदै हुनुहुन्थ्यो । गाउँमा धान काट्ने बेला भएको रहेछ । वातावरण घमाइलो थियो । किसानहरू कोही धान काट्दै थिए भने कोही काटेको धान थन्क्याउँदै थिए । कोही गीत गाउँदै, नाच्दै, रमाउँदै थिए । त्यहीबेला बुद्धलाई देखेर एकजना किसानले सोध्योे, ‘हामीहरू दुःख गरेर बीउ रोपेर मलजल गरेर धान उमारेर खान्छौँ, तिमी भने मागेर खाने ?’ यसको जवाफ फर्काउँदै बुद्धले भन्नुभयो, ‘म पनि बीउ रोपेर उमारेर नै खान्छु ।’
यो सुनेर किसानले आश्चर्य मान्दै भन्यो, ‘खोइ त तिम्रो बीउ, अनि काम गर्ने सामग्री ?’ फेरि बुद्धले भन्नुभयो, ‘म विश्वासको बीउ रोप्छु । त्यसलाई मेहनत र परिश्रमले मलजल गर्छु । मेरो बुद्धिले त्यसलाई सधैँ जोतिरहन्छ । मेरो मनले यस्तो कार्य गर्न मलाई सधैँ सहयोग गरिरहन्छ । तब त म त्यही बीउबाट उम्रेको बीज खाएर बाँचिरहेको छु ।’
किसान बुद्धिमान थियो । उसले सबै कुरा बुझिहाल्यो । बुद्धलाई श्रद्धापूर्वक वन्दना गर्दै भोजन दान पनि दियो । किसानलाई आशीर्वाद दिँदै बुद्ध त्यहाँबाट आफ्नो बाटो लाग्नुभयो । जाँदै गर्दा एक ठाउँमा दुई जना मानिस ठूल्ठूलो स्वरले झगडा गर्दै थिए । कराउँदा कराउँदै उनीहरूको स्वर सुकिसकेको थियो । उनीहरू एकले अर्काेलाई आरोप प्रत्यारोप गर्दै थिए । बुद्धलाई देखेर उनीहरू एकक्षण चुप लागे । नजिक पुगेपछि बुद्धले सोध्नुभयो, ‘तपाईंहरू किन झगडा गर्नुभएको ?’ उनीहरू दुवैजनाले एकैचोटि एकले अर्कोलाई देखाउँदै भने, ‘यो मान्छे बेइमान छ, यसले मेरो सामान चोरेर, बेचेर खायो ।’ बुद्धले फेरि सोध्नुभयो, तपाईंहरू दुई जनाको सम्बन्ध के छ ?’ उनीहरूको जवाफ थियो, ‘हामीहरु साथी हौँ, सँगै व्यापार गर्ने ।’ उनीहरूमध्ये एकजनाले फेरि भन्यो, ‘यसले साह्रै दुःख दियो । व्यापारै डुबाइदियो । तथागत, यसलाई पाप र धर्म के हो ? अर्ती, बुद्धि दिनुपर्यो ।’
बुद्धले भन्नुभयो, ‘यो बेला म तपार्इंहरूलाई केही दिन सक्दिनँ । तपार्इंहरूको मन रिस, घृणा र द्वेषले भरिएको छ । भरिएको भाँडोमा केही अट्दैन । राखे पनि सबै भुइँमा पोखिन्छ । त्यसैले पहिला तपाईंहरूको मन खाली गर्नुस् । मन खाली हुँदै गयो भने तपाईंहरूको रिस कम हुँदै जान्छ र होश खुल्दै जान्छ । खाली मनले शान्तिको बाटो पहिल्याउँछ । खाली मन शान्तिको प्रतीक पनि हो ।’
साँच्चै भन्ने हो भने मानिसको जीवनमा मनलाई रिस, घृणा र द्वेषले जोतिरह्यो भने मनमा घाउ हुन्छ । जुन निको पार्न गाह्रो हुन्छ । त्यस्तोे घाउले जीवनमा दुःख पलाउँछ । त्यसैले मनलाई आराम दिनुपर्छ । त्यसका लागि मनलाई विश्रामको जरुरत पर्छ । विश्रामले मनलाई शून्यताको आभास दिन्छ र त्यसले मनमा शान्तिको फूल फुल्न मद्दत गर्छ । त्यही कारण प्रत्येक दिन मानिसहरू केहीबेर निदाउने गर्छन् । जसले मानिसलाई बाँच्न शक्ति प्रदान गर्छ ।
झगडा गर्ने मानिसहरूले बुद्धको कुरा सुनिरहेका थिए । एकक्षणपछि बुद्ध त्यहाँबाट आफ्नो बाटो लाग्नुभयो । आराम गर्न एउटा रूखमुनि बस्नुभयो । त्यही बेला चार, पाँचजना युवा बुद्ध भएको ठाउँमा आएर बसे । बुद्धलाई वन्दना गर्दै आ–आफ्ना मनको कुरा पनि राख्न थाले । यस्तैमा एकजनाले सोध्यो, ‘ईश्वर छन् कि छैनन् ?’ बुद्ध एकक्षण मौन बस्नुभयो । त्यसपछि युवालाई नै प्रतिप्रश्न गर्दै भन्नुभयो, ‘तपाईंहरू आफँै भन्नुस् त ईश्वर छन् कि छैनन् ?’ एक जनाले भन्यो, ‘ईश्वर छ ।’ अर्काेले भन्यो, ‘ईश्वर छैन ।’ त्यही बेला बुद्धले भन्नुभयो, ‘ईश्वर भएर के
हुन्छ ? नभएर के हुन्छ ? ईश्वर छन् कि छैनन् ? यो महत्वपूर्ण कुरो होइन । महत्वपूर्ण कुरो तपाईंहरूले राम्रो काम गर्नुपर्यो । यसले तपाईंहरूलाई जहिले पनि राम्रो हुन्छ । नराम्रो काम गरेर राम्रो हुन्छ भनेर सोच्नु गलत हुन्छ । यो चाहिँ सत्य हो ।’
बुद्धले पुनः सम्झाउँदै भन्नुभयो, ‘मानिस स्वयं ईश्वर हो । आफ्नो भलो गर्न, राम्रो गर्न आफैँले मेहनत गर्नुपर्छ । मेहनत र परिश्रमले मात्र मानिस शिखरमा पुग्छ । अरूले त बाटो मात्र देखाउँछ तर शिखर आफैँले चढ्नुपर्छ । त्यसैले मेहनत गर, सफलता निश्चित छ ।’ यो सुनेर ती युवा आफ्नो बाटो लागे । बुद्ध पनि भिक्षाटन सिध्याएर बिहारतिर फर्कनुभयो ।
यो एक दिनको घटनाक्रम वास्तवमा एउटा उदाहरण होे, जसले मानिसलाई बुद्ध शिक्षाको महत्व बुझाउँछ । प्रत्येक मानिसका लागि काम महत्वपूर्ण छ । काम मानिसको परिचयात्मक विवरण हो भने यो स्वतःस्फूर्त जीवन बाँच्ने उपाय हो । बुद्धशिक्षाले मानिसको चिन्तनलाई जागृत गर्दै जीवनलाई सजीव तुल्याउँछ । यसले झैझगडा गरी मनमा नानाथरी कुरा बोकेर मनलाई भारी गर्नु दुःखदायी हुने प्रष्ट पार्दै मनलाई स्वच्छ र शान्त राख्न जान्नुपर्ने कुरा यहाँ उजागर गरिएको छ । मनलाई खाली गर्न सके जीवन आरामदायी हुने स्पष्ट पार्दै परिश्रम र मेहनतले मात्र जीवन सफल हुने सत्य मार्गदर्शन पनि गराएको छ ।