फिचर |

किसानलाई धान भित्र्याउन भ्याइ नभ्याइ (फोटो फिचर)

अविनाश चौधरी
धनगढी, असोज २१ गते । कैलालीका किसान धान भित्र्याउने कार्यमा व्यस्त भएका छन् । मनसुन निस्क्रिय भएसँंगै किसानलाई धान भित्र्याउन भ्याइ नभ्याइ भएको हो । कैलाली जिल्ला धान उत्पादनको लागि उर्वर मानिन्छ । मुख्य बालीको रुपमा धान खेती गर्दै आएका किसानले असोजको पहिलो साताबाटै धान भित्र्याउन थालेका छन् ।
‘अहिले हामीलाई पटक्कै फुर्सद् छैन’, धनगढी उपमहानगरपालिका–८ का कृषक चरन रानाले भन्नुभयो । ‘विहानैदेखि धान काट्ने कार्यमा व्यस्त भएका छौं ।’ सबै खेतमा धान पाकिसकेकाले भित्र्याउनका लागि भ्याइनभ्याइ भइरहेको उहाँले उल्लेख गर्नुभयो ।
जिल्लामा कतिपय किसानले परम्परागत तरिकाले धान काट्ने काम गरिरहेका छन् । परम्परागत रुपमा हातले धान काट्दा समय लाग्ने गर्दछ । तर, कतिपय किसानले भने आधुनिक यन्त्र (रिपर) ले धान काट्ने कार्य गरिरहेका छन् । आधुनिक यन्त्र उपकरणले धान काट्दा छिटोछरितो हुने भएकाले यन्त्र प्रयोग गर्ने कतिपय किसानले धान भित्र्याइसकेका छन् । रिपरले छोटो समयमा धेरै धान काट्न सकिन्छ ।
आधुनिक उपकरणले एक दिनमै धान काटेर भित्र्याइ सकेको भजनी नगरपालिका–२ मोहनपुरका कृषक गङ्गाराम चौधरीले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र धनगढीका अनुसार कैलालीमा यसवर्ष ७१ लाख ७१५ हेक्टर जमिनमा धान खेती गरिएको छ । यो जिल्लाको धान उत्पादकत्व ४.५ प्रतिशत रहेको छ । गत वर्ष कैलालीमा तीन लाख २२ हजार ६९५ मेट्रिक टन धान उत्पादन भएको थियो ।
यो वर्ष पनि गतवर्षकै हाराहारीमा धान उत्पादन हुने अनुमान गरेको कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्रराज शर्माले बताउनुभयो । ‘समग्रमा धान उत्पादन राम्रो छ’, उहाँले भन्नुभयो । ‘दुई÷चार प्रतिशत तलमाथि हुनसक्छ, हैन भने गतवर्षकै हाराहारीमा उत्पादन हुने हाम्रो अनुमान छ ।’