फिचर | प्रदेश |

बाँकेमा दुईजना संक्रमितको उपचारका क्रममा मृत्यु

सिराज खान
नेपालगञ्ज, कात्तिक १ गते । बाँकेको भेरी अस्पताल र मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा उपचाररत दुई जना कोेरोना संक्रमितको गएराती मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं १०, भृकुटीनगरका ६१ वर्षीय पुरूषको शुक्रबार राति ९ बजे भेरी अस्पतालमा र नेपालगञ्ज वडा नं १८ कारकाँदोकी एक १८ वर्षीया युवतीको राती साढे ९ बजे कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले ६१ वर्षीय पुरूषको भेरी अस्पताल र १८ वर्षिय युवतीको मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्युु भएको जानकारी दिनुभयो ।
उहाँले मृतक दुबैमा श्वासप्रश्वासको समस्या रहेको जनाउँदै पुरूषलाई असोज २५ गते दिउँसो भेरीमा भर्ना गरिएको र युवतीलाई कोहलपुरमा असोज २९ गते राती दस बजे भर्ना गरिएको बताउनुभयो ।
संक्रमित पुरुषलाई प्लाजामा थेरापी लगायत सबै प्रकारको उपचार दिदै गर्दासमेत उनको अवस्थामा सुधार नआएपछि आइसीयूमा राखेर उपचार गरिरहेको र युवतीलाई पनि श्वासप्रश्वासमा समस्या देखिएपछि विभिन्न विधिको उपचार गर्दासमेत अवस्थामा सुधार नआएपछि आइसीयूमा राखेर उपचार गरिरहेकै अवस्था दुबै जनाको मृत्यु भएको अस्पतालले जनाएका छन् । योसंगै बाँकेमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २९ पगेको छ ।