फिचर | खुला |

बाँकेमा कोरोनामुक्त हुनेको संख्या दुई हजार नाघ्यो, शनिबार ४२ जना निको भए


सिराज खान
नेपालगञ्ज, कात्तिक १ गते । बाँकेमा संक्रमित थपिने क्रम बढेसँगै निको भएर घर जानेको संख्या पनि दिनदिनै बढ्दै गएको छ । जिल्लामा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या दुई हजार नाघेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
केन्द्रका अनुसार शनिबार ४२ जना कोरोना मुक्त भै घर फर्किएपछि जिल्लामा निको हुनेको संख्या दुई हजार २२ पुगेको छ ।
बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले शनिबार बाँकेका थप ४२ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किएको बताउनुभयो । उहाँले शनिबार बाँकेका १५ महिला र २७ पुरुष गरी ४२ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएको बताउनुभयो ।
उनीहरुलाई असोज १७ गते कोरोना संक्रमण देखिएपछि जिल्लाका विभिन्न आइसोलेसनमा राखिएको थियो । आइसोलेसनमा १४ दिन पुरा गरेपछि पनि कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेपछि घर फर्काईएको सम्पर्क व्यक्ति श्रेष्ठले बताउनुभयो ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार शनिबार ४२ जना संक्रमणमुक्त भएसँगै जिल्लामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या दुई हजार २२ पुगेको छ । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या दुई हजार ६३५ पुगेको छ भने २९ जनाको कोरोनाका कारण मृत्यु भइसकेका छन् ।
विभिन्न आइसोलेसन अस्पताल र केन्द्रमा अन्य जिल्लाका २५ सहित ६०९ जना सक्रिय संक्रमितको उपचार भैरहेको सो कार्यालयले जनाएको छ ।
संक्रमणमुक्त भएपछि डिस्चार्ज भएर घर फर्किनेहरु ।
तस्बिर ः सिराज खान । नेपालगञ्ज