फिचर |

दशैँका बुट्टे चङ्गा

डा गोविन्द टण्डन

आमाबुबाले भन्ने गर्नुहुन्थ्यो– दशैँ/तिहार त केटाकेटीका लागि पो रमाइलो हामीलाई त बोझ, भार बनेर आउँछ । हुन पनि हो केटाकेटीले चिन्ता गर्नुपर्ने, पु¥याउनु पर्ने भन्ने केही हुँदैन । चिताएको कुरा आमाबुबाले ऋणपान गरेरै भए पनि टारिदिइहाल्छन् । सबै आमाबाबुलाई यस्तो नहुँदो हो । मध्यमवर्ग तथा कम आम्दानी हुने नेपालीका लागि त ‘दशैँ आयो ढोल बजाई, दशैँ गयो ऋण बोकाई’ नै हुन्थ्यो/हुन्छ ।
केटाकेटीमा दशैँ/तिहार कहिले आउँछ भनेर औँलै गनेर बसिन्थ्यो । दशैँ आउनु झन्डै तीन/चार महिना अघिदेखि त औँला भाँची भाँची ‘दशैँ आयो (कान्छी औँला), खाउँला पिउँला (साहिँली औँला), के खाउँला (माझी औँला), चोरी ल्याउँला (चोर औँला), थुक्क पापी छुट्टै बसुँला (बूढी औँला)’ भन्ने उखान/टुक्का आफ्नो हातका पाँच औँला हेर्दै कान्छी औँलादेखि चोर औँलासम्म भाखा हालेर चोरी औँलोले चोरेर ल्याउँला भनेको गलत कुरा भएकाले बूढी औँला छुट्टै बसेको भन्ने टुक्का केटाकेटी बीच प्रचलनमा थियो । चोर्नु गलत हो भन्ने सिकाउन पनि त्यो उखान÷टुक्का काम लाग्ने किसिमको नैतिक शिक्षा नै हुन्थ्यो त्यस बेला ।
दशैँ/तिहार आउँदा रमाइलो मान्नुका केही कारण पनि थिए । पहिलो– स्कुल जानु नपर्ने, स्कुलको टन्टाबाट मुक्त ! दोस्रो– नयाँ लुगा लगाउन पाइने, तेस्रो– चङ्गालगायतको खेलमा निष्फिक्री रम्न पाइने, चौथो– टीका लगाउन आफ्ना नातागोताको घरमा जान पाइने अनि विभिन्न परिकार खान पाइने, पाँचौँ– देउसी/भैलीमा साथीभाइसँग जाँदा केही रुपियाँ जम्मा हुने । अनि के चाहियो ? दशैँ/तिहार रमाइलो हुने नै भयो केटाकेटीका लागि ।
कहिलेकाहीँ सम्झन्छु नयाँ लुगा पर्खंदापर्खंदा दर्जीले दशैँको लुगा दशैँपछि सिएर दिएको कुरा । ऊबेला अचेल जस्तो जताततै टेलरिङ पसलहरू, रेडिमेड कपडा पाइने अवस्था थिएन । आ–आफ्ना दर्जी हुन्थे काम गरिदिएबापत वार्षिक रूपमा ‘बाली’ पाउने । उनीहरूको काम भ्याई नभ्याई हुन्थ्यो । त्यसैले नाइँ नभन्ने तर समयमा नदिएर धुरुक्क पार्थे । हाम्रो दर्जी सिनामङ्गलको कृष्ण दर्जी थिए । भोटो/सुरुवाल त राम्रैसँग मिलाएर सिउँथे तर पाइन्ट÷कमिज शरीर मिल्दो कहिल्यै लाउन पाइएन केटाकेटीमा । बत्तीसपुतलीदेखि हिँडेर बल्लबल्ल लुगा लिन पुग्यो आज त भ्याइएन अब एक हप्तापछि आउनू भन्थे । भनेकै दिन हतारिँदै पुग्यो त्यो दिन पनि छैन । हदैको ज्याद्रो काम गर्थे । बल्लबल्ल लुगा लिएर आयो, लगायो कता नमिलेको हो कता बेढङ्गले सिएर दिन्थे । अरू विकल्प थिएन लाउनै प¥यो के गर्ने ?
ज्यादै भएपछि देवपत्तनका तिलक कपालीले लुगा सिउने तालिम लिएर आए रे, राम्रो सिउन्छन् रे भन्ने कुरा बुबाले थाहा पाएपछि केही वर्ष उनीकहाँ नै लुगा सिउन दिइन थाल्यो । पछि विस्तारै अरूहरूले पनि तालिम लिएर सिउन थाले । कतिपय शाक्य, वज्राचार्य, श्रेष्ठ, महर्जन, कपालीले पुख्र्यौली काम छोडेर टेलरिङको काम सुरु गरे । उनीहरूलाई लुगा सिउने मानिस भन्दा हेपेको सम्झन्थे तर टेलरमास्टर भन्यो भने दङ्ग पर्थे ।
यसरी दर्जीबाट टेलरिङको काम अरू जातजातिमा फैलिँदै गयो । त्यसपछि गएर त ब्राह्मण, क्षेत्री, तामाङ, राई, लिम्बूलगायत पनि आफ्नो सीप देखाउन थाले । यो राम्रै काम भयो ।
सम्झना भएसम्म सात÷आठ वर्षदेखि नै साथीभाइसँग खेलकुदमा रमाउन थालेको हो कि जस्तो लाग्छ । त्यसअघि घरकै चार सीमामा आमाबुबा, दिदीबहिनी, भाइहरूसँग दिन बित्थ्यो । स्कुल जान थालेपछि भने केही समय स्कुलमा बित्थ्यो ।
केटाकेटीले आफूले खेल्ने खेलकुदको अलगअलग सिजन बनाएका हुन्थे । जानेर भन्दा पनि आफसेआफ त्यस्तो पर्न जान्थ्यो । कुन खेलको सिजन कहिले आउँछ त्यसको क्यालेन्डर हुँदैन्थ्यो तर कसैलाई नभनी सुटुक्क केटाकेटीको मनमस्तिष्कमा आइपुग्थ्यो । गुच्चाको सिजन मीनपचासको छुट्टीमा आउँथ्यो । त्यसको केही दिनअघि र केही दिन पछिसम्म पनि चल्थ्यो । डन्डीबियो, कबड्डी पनि त्यही ताका आउँथ्यो । गुच्चा, डन्डीबियो र कबड्डी जुन खेल्न इच्छा छ मिलाएर साथीभाइसँग खेल्ने गरिन्थ्यो । गाउँघरमा खाली जग्गा, चौर निष्फिक्री हुने भएकाले खेतीपाती नहुँदा जसको जग्गा भए पनि केही समयका लागि त्यो खेलकुद मैदानसरह बन्थ्यो । कसैले केही भन्दैन्थे । केटाकेटीका लागि उदार समाज थियो ।
सोह्रश्राद्ध सुरु हुनु केही दिन अगाडिदेखि चङ्गा उडाउन मिल्ने खालको मन्द प्रकृतिको सरर हावा चल्ने भएकाले केटाकेटीहरू चङ्गाको धुनमा हुन्थे । म पनि कहिले स्कुल छुट्ला र घरमा चङ्गा उडाउन पाइएला भन्ने ध्याउन्नामा हुन्थेँ । बरु खाजाको मतलब हुँदैन्थ्यो चङ्गा छुट्नु भएन जस्तो लाग्थ्यो ।
तिहारताका ह्वाक्य्राङको समय आउँथ्यो । हातमा सातवटा या नौ वटा हाडे ओखर राखेर सात/आठ हात टाढा रहेको खोपिल्टोमा छिराउने । जोड परे जित, बिजोड परे हार मानेर खेल्नेलाई ह्वाक्य्राङ भनिन्थ्यो । ठाउँठाउँमा बाजी नै राखेर खेल्थे । केटाकेटीहरू पाँच÷दस पैसा, बढी भए सुका÷मोहरको बाजी राख्थे । तर पैसा हुनेहरू दुई÷चार सय राखेर खेल्न कञ्जुस्याइँ गर्दैन्थे । विस्तारै २०३०/०३२ सालमा आइपुग्दा चाहिँ लङ्गुरबुर्जाले ह्वाक्य्राङको ठाउँ लियो । दिदीबहिनीहरूको समय चाहिँ तेलीकासा, घ्वाइँकासा, गट्टा खेलेर बित्थ्यो । घरधन्दामा पनि उनीहरूको भूमिका ज्यादा हुन्थ्यो । कहिलेकाहीँ लुँडो, चेस खेलेर पनि समय बिताइन्थ्यो । यसमा दिदीबहिनीहरू पनि सरिक हुन्थे ।
दशैँको मौका पारेर कहिलेकाहीँ जुटपत्ती, फरास पनि खेलिन्थ्यो तर यो जुवा हो भनेर जान्न थालेपछि टाढै बसियो । जुवा खेलेर घरबार बिगारेकाहरू गाउँघरमै भएकाले जुवाको सङ्गत गर्न‘ हुन्न भन्ने ज्ञान समयमै पाइयो ।
दशैँ÷तिहार सकिएपछिको सिजन फुटबलको हुन्थ्यो । घर नजिक कतै खाली चौर छ भने साथीभाइको टिम तयार पारेर फुटबल खेल्नेहरू सहरबजार, गाउँतिर निकै देखिन्थे । बत्तीसपुतली नजिक सिफल चौर, वनकाली चौर भएकाले धेरैजसो म पनि त्यहीँ खेल्न पुग्थेँ । कहिलेकाहीँ एयरपोर्टको खाली चौरमा पनि खेल्न पुगिन्थ्यो । अहिले रनवे झन्डै कोटेश्वरसम्मै पुगेको छ । डकोटा र पिलाटस पोर्टल चल्ने बखतको रनवे छोटो थियो । हवाईजहाज नआउने बेलामा त्यहाँको चौरमा फुटबल खेल्न पाइन्थ्यो । जब एयरबस र जेट युगमा नेपालले प्रवेश ग¥यो तब पहिलेको सानो रनवेले नपुगी त्यसलाई विस्तार गरियो । सुरक्षा पनि त्यत्तिकै दिनुपर्ने भएपछि बाहिरिया मानिसलाई रनवे वरपर जानै बन्द भयो ।
विद्यालयस्तरीय फुटबल म्याच खेल्नु पर्दा धेरैजसोलाई पायक पर्ने ठाउँ भनेकै टुँडिखेल थियो, त्यहीँ खेलिन्थ्यो । गर्मीले आक्रान्त हुँदा छहारीमा बस्न पाउने भनेको केही वर्ष अगाडि रोपेर विस्तारै हुर्कंदै गरेको टुँडिखेलको बीचको पूर्वपट्टि रहेको त्यही एउटै खरीको बोट थियो । पुरानो चौतारी मासिइसकेको थियो । टुँडिखेलमा पाँच फिट अग्लो बार वरिपरि भए पनि ठाउँठाउँमा भाँचिएकाले त्यहीँबाट विद्यार्थीहरू छिर्थे । कहिलेकाहीँ ठाउँठाउँमा बसेका सेन्ट्रीले रोक्थे पनि । अहिले त अग्लो बार छ त्यसरी जताततैबाट छिर्न नसकिने भएको छ ।
दशैँ आउन लागेको रौनकता आकाशमा उडेका चङ्गाले दिन्थे । दुई÷चारवटा होइन हजारौँ चङ्गा आकाशमा मडारिरहेका देखिन्थे । कुनै चङ्गा अर्कोसँग लडाइरहेको, कुनै काटिएर खस्न तयार भएका, कुनै रुखमा अल्झिरहेका दृश्य जताततै देखिन्थ्यो । घरको कौसी र छानामा काटिएर आएका चङ्गा खोसाखोस गर्न केटाकेटीहरू तँछाडमछाड गर्थे ।
चङ्गा उडाउन जान्नु पनि केटाकेटीमा एउटा कौशलकै काम झैँ मानिन्थ्यो । त्यसको तयारीको त के कुरा गर्न‘ ! चानचुने तयारी हुँदैनथ्यो । अरूको भन्दा आफ्नो धागो कमजोर भयो भने जसले पनि सजिलै ‘चैट’ गरिदिने भएकाले विशेष ध्यान पु¥याउनु पथ्र्यो । धागो पनि जुन पायो त्यहीमा उडाउनु हुन्नथ्यो । एकथरी धागो देख्नमा मोटो देखिए पनि ठुसठुसे हुन्थे । जति माजा लगाए पनि अरूले काटिदिने ।
२०२५÷०२६ सालतिर इगल मार्काको मिहीन धागो आएपछि त्यो खुब प्रचलनमा आयो । अहिले जस्तो रेडिमेड माजायुक्त धागो ऊबेला पाइन्नथ्यो । आफ्नै बुद्धि बर्कत र अनुभवले तयार पार्नु पथ्र्यो माजायुक्त धागो । माजामा हाल्ने वस्तुहरू अरूले थाहा पाउलान् भनेर मिल्ने एक÷दुई जना साथीबाहेक अरूलाई भनिदैन्थ्यो तर कहिलेकाहीँ मिल्ने साथी भनेर फर्म‘ला सबै बताइदियो उसले विरोधी पक्षलाई गएर सारा बेलिविस्तार गरिदिने सम्भावना पनि हुन्थ्यो । केटाकेटी स्वभाव त हो नि !
चङ्गा उडाउन जान्नु मात्रले पुग्दैनथ्यो त्यति बेला । माजा लगाउन जानेको छ कि छैन, ‘कका’ हाल्न जानेको छ कि छैन, ग्वाँख चाहिँदो मात्रा मिलाएर कतापट्टि कहाँनिर राख्नुपर्ने हो त्यो ज्ञान पनि चाहिन्थ्यो र ती सबैको मूल्याङ्कनबाटै चङ्गा उडाउन जान्ने या नजान्ने ल्याकत थाहा हुन्थ्यो । नजान्नेहरू माजामा भातको माड मात्र हालेर धागोलाई लडाउन उपयुक्त सम्झन्थे ।
कोही चाहिँ योजनासाथ माजाको तयारी गर्थे । छुट्टीको दिन पारेर बिहानैदेखि माजामा हाल्ने वस्तुहरूको तयारी हुन्थ्यो । घ्यूकुमारीको गुदी, आरोट, जलेको चिमलाई सतर्कता साथ कपडाले छोपेर धूलोपीठो पारेको कपडछानपछिको मसिना कणलाई पकाएर तयार पारिएको माजालाई एकातिर लट्टाईबाट धागो छोड्ने अर्कोतिर २०÷२५ हात टाढा बसेर अर्कोले धागो बेर्ने व्यवस्था मिलाई माजा लगाउने गरिन्थ्यो । जसले माजा लगाउने हो ऊ चाहिँ धागो छोड्ने लट्टाईको नजिक बसेर हल्कासँग बूढी औँला र चोर औँलाको बीचमा धागोलाई पारेर भर्खरै पकाएको माजाको सर्जामलाई सो धागोमा खिप्दैखिप्दै लगाउने कामलाई माजा लगाउने भनिन्थ्यो । यो धैर्य लिएर गर्न‘पर्ने काम थियो । हतारिनु हुँदैन्थ्यो । कम्तीमा पनि तीन÷चार जना साथीभाइ नमिली यो काम नहुने भएकाले छुट्टीको दिन पारिन्थ्यो । त्यसमा पनि घाम लाग्ने दिन उपयुक्त मानिन्थ्यो । माजा सुकेन भने धागो ठुस्सिने सम्भावनाले घाम नलाग्ने जस्तो लाग्यो भने त्यो दिनको माजा लगाउने सारा योजना भताभुङ्ग हुन्थ्यो ।
म माजा लगाउन, चङ्गाको कका हाल्न र उडाउन पनि पोख्त मानिन्थे केटाकेटीमा । आफ्नो त छँदै छ, साथीभाइको पनि म सघाइदिन्थेँ । म साथीभाइको जमातमा सिपालुमै पर्थें । २०१८÷०१९ सालदेखि झन्डै २०२४÷०२५ सालसम्मै होला काठमाडौँको बजारमा नेपाली कागजले बनेको चङ्गा मात्र पाइन्थ्यो । एक ताउ, आधा ताउको कागजलाई चङ्गा आकारमा काटेर पछाडिपट्टि बाँसका कप्टेराले आड दिई बनाइएका सादा चङ्गाहरू आधा ताउवाला १०÷१५ पैसामा, एक ताउवाला चाहिँ एक सुकामा पाइन्थ्यो । कोहीकोही आफैँले पनि नेपाली कागजको चङ्गा बनाउँथे र आफ्नो धोको पूरा गर्थे । देवपाटनमा पशुपतिनाथ मन्दिरको पश्चिमपट्टिको मूलढोका नजिकै चङ्गा पाइने पसल थियो । अचेल त्यहाँको बस्ती हटिसक्यो ।
२०२६÷०२७ सालदेखि लखनौँ ब्रान्डका थरीथरीका रङ्गीबिरङ्गी चङ्गा बजारमा पाइन थाल्यो । यसले जसोतसो चल्दै आएको नेपाली कागजवाला चङ्गालाई भनौँ न विस्थापितै गराइदियो । लखनौँ चङ्गाको उड्ने ढाँचा नै फरक थियो । हलुका हुनुका साथै उड्दा सरर आवाज निकालेर आकाशिन्थ्यो । कमजोर चाहिँ असाद्धै थियो । पानीको एउटा सानो थोपा प¥यो भने पनि फत्याकफुतुक्क भइहाल्ने ! महँगो थियो नेपाली कागजको चङ्गा हेरिकन । सानो चङ्गा एक मोहोर र ठूलोलाई एक रुपियाँ पथ्र्यो ।
लखनौँ चङ्गा आएपछि चङ्गा पारखीहरूले थरीथरी छानेर उडाउन पाउने भए । चङ्गालाई विभिन्न नाम दिइएको हुन्थ्यो– बुट्टे, टाउके, धर्के, पानबुट्टे, सुरतबुट्टे, सुर्के, पुच्छरे, दुई धर्के, तीन धर्के, इँटाबुट्टे आदि । माथिको खण्ड आधा एउटा रङ, तल अर्को रङ भएकोलाई चाहिँ ‘बाबाच्चे’ नामले पुकारिन्थ्यो । अर्काको चङ्गा चैट गर्न पाउँदा लडाइँ नै जिते जस्तो लाग्थ्यो त्यस बेला ।
चङ्गा अचेल पो कागजको हुन्छ । पहिलेपहिले इस्वीपूर्व २०० देखि ५०० इस्वीसम्म त रेशमको कपडाबाट बनाइन्थ्यो । भनिन्छ चङ्गाको सुरुवात पहिले चीनको हान वंश (इस्वीपूर्व २०६–२२० इस्वी)बाट भएको हो । इस्वीको ५०० देखिचाहिँ रङ्गीबिरङ्गी कागजका चङ्गा बन्न सुरु भए । चीनबाट कम्बोडिया, थाइल्यान्ड, भारत, नेपाल, जापान, कोरिया हुँदै पश्चिमी संसारमा चङ्गा पुग्यो ।
चङ्गा मनोरञ्जनको साधन मात्रै नभएर इतिहासको विभिन्न कालखण्डमा सन्देशवाहक, दूरी नाप्ने साधन र वैज्ञानिक अनुसन्धानमा सहयोगीको रूपमा पनि मानिसहरूले प्रयोग गर्ने गरेको इतिहास पाइन्छ । युरोपमा तेह्रौँ शताब्दीमा मार्कोपोलोले चङ्गा
पु¥याए । अमेरिकामा चङ्गा उडाउनेहरूको संस्था नै छ, जसलाई अमेरिकन काइटफ्लाएर्स एसोसिएसन (एकेए) भनिन्छ । यसको स्थापना ५६ वर्षअघि भएको थियो ।
कहिलेकाहीँ चङ्गालाई धार्मिक रूपले हेर्ने गरिएको तथा चङ्गा उडाउनुलाई प्रतिबन्ध पनि लगाएको देखिन्छ । तालिबानहरूको बोलाबाला भएको बखत अफगानिस्तानमा चङ्गा उडाउन मनाही गरिएको थियो । त्यसको कारण चाहिँ यो उनीहरूको धर्म÷संस्कृति होइन भन्ने थियो । त्यसअघि भारतमा चाहिँ मुगल शासनकाल (सन् १६००–सन् १८००)मै चङ्गा संस्कृति धूमधामले फस्टाएको पाइन्छ । जापानमा इदो शासनकाल (सन् १६०३–सन् १८६६)सम्म सामुराइहरूले मात्र चङ्गाको मनोरञ्जन लिन पाउँथे । चङ्गाको लतले मानिसलाई अल्छी बनाउँछ, काममा बेवास्ता बढ्छ भन्ने उनीहरूको तर्क थियो ।
नेपालमा चङ्गा उडाउने आफ्नै सिजन थियो । जुन पायो त्यही बेला उडाउँदैनथे । सोह्रश्राद्ध अर्थात् भदौदेखि कात्तिकसम्म मात्र उडाउने चलन थियो । चङ्गा जहिले पायो तहिले उडायो भने पानी पर्दैन, वर्षा भाग्छ भन्ने जनविश्वास अझैसम्म चलेकै छ । हावा लाग्यो भन्दैमा अरू बेला चङ्गा उडाउने रीति नेपालमा छैन ।
केटाकेटीमा चङ्गा उडाउँदाको रमाइलो सम्झना अहिले पनि आकाशमा चङ्गा उडेको देख्दा आउँछ । ६५ वर्षे उमेरमा पनि दशैँको मेलो पारेर छोरा÷नातिले चङ्गा उडाउन खोज्दा म साथ दिन पुग्छु । चङ्गा लडाउन प¥यो भने उनीहरू मलाई नै लट्टाई थम्याउँछन् । पहिले जस्तो आकाशमा चङ्गा उडाएको देख्न पाइन्न । अचेलका केटाकेटीहरू बाहिरी खेलकुद भन्दा मोबाइल फोन, आइप्याड र ल्यापटपमै रमाउन थालेकाले होला चङ्गा पाइने पसल र लट्टाई÷धागो पाउने पसल पनि थोरै छन् । माजा लगाउने चलन उहिलेको कुरा भइहाल्यो । अहिले त रेडिमेड माजा हालेको धागो विभिन्न रङमा पाइन थालेका छन् ।  

युवामञ्च , असोज/कात्तिक २०७७