फिचर | खुला |

झारफुक गर्ने भन्दै महिलालाई निर्वस्त्र बनाइ यौनशोषण र सुन पैसा ठग्ने धामी र माता पक्राउ

भक्तिविलाश पोखरेल
गाईघाट,कात्तिक १३ गते । आफूहरु धामीझाँक्री भएको र झारफुक गरी भूतप्रेत तथा देउ देउता लागेर बिरामी भएकाको उपचार गरिदिने भन्दै युवतीमाथि यौनशोषण तथा पैसा र सुन ठगी गरेको आरोपमा उदयपुर प्रहरीले गाईघाटबाट दुईजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहालका अनुसार त्रियुगा नगरपालिका वडा नं १० निवासी वर्ष ३९ को अर्जुन भन्ने चुडामणी श्रेष्ठ धामी र सोही ठाउँ निवासी माता बनेकी वर्ष ४५ की जुना राईलाई प्रहरीले पक्राउ गरेको हो ।
निजहरुले विगत १३ वर्षदेखि जुना राइकै घरभित्र धामी बस्ने मन्दिरको थान निर्माण गरी बिरामी महिलाहरुलाई यौनशोषण गर्ने गरेको रहस्य खुलेपछि प्रहरीले निजहरुलाई पक्राउ गरी कानुनी कारवाही गर्न शुरु गरेको हो ।
जुना राईले आफ्नै घरभित्र स्थापना गरेको मन्दिरमा शिवजिको रुपमा उपचार गराइने र त्यस्को लागि विरामी महिलाहरु निर्वस्त्र भएर भित्र जानुपर्ने र भित्र गएपछि शिवजीको भेषमा निर्वस्त्र बसेका अर्जुन भन्ने चुडामणी श्रेष्ठले झारफुक गरेको नाटक गर्दै यौन शोषण गर्ने गरेको पीडितहरुबाट खुलेकोे प्रहरी उपरिक्षक दाहालले बताउनुभयो ।
पछिल्लो समय छिमेकी जिल्ला खोटाङ्का दुईजना युवती निजहरुले सञ्चालन गरेको घृणित धन्दाको सिकार भएपछि पीडितहरुको उजुरीका आधारमा पक्राउ गरी बलात्कारको अभियोगमा मुद्दा दर्ता गरी कारवाहि प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी रहनुभएका प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।
उहाँका अनुसार विरामीहरुबाट शुरुमा एकलाख नगद र सुनको औठीसमेत लिने गरेको भन्ने सुन्नमा आएको तर कतैबाट जाहेरी नपरेकोले अरुपनि ठगिएको हुनसक्ने भएकोले निजहरुलाई प्रहरीको नियन्त्रणमा राखेर र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।