फिचर | राष्ट्रिय |

निःशुल्क खानामा रोक लगाएको होइन, व्यबस्थित गर्न खोजेको हो, महानगर सहकार्य गर्न तयार

गोरखापत्र अनलाइन
काठमाडाैं, कात्तिक १७ गते । काठमाडौं महानगरपालिकाले खाना खुवाउने अभियानमा रोक नलगाएको बताएको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले सडकमा अव्यवस्थित तरिकाले खाना खुवाउँदा सडकमा हिडडुल गर्न समस्या र खाने मान्छेलाई समेत समस्या पर्ने देखिएकोले हालको लागि खुलामञ्चमा खाना खुवाउन रोक लगाएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

मानिस हिडडुल गर्ने र गाडी गुड्ने ठाउँमा खाना खुवाउँदा सर्वसाधारणलाई नै समस्या देखिएको महानगरपालिकाको भनाई छ । खाना खुवाउने हो भने अहिले विभिन्न पार्टी प्यालेस खाली रहेको बताउँदै महानगरका प्रवक्ता डंगोलले उक्त ठाउँमा खाना खुवाउन आग्रह गर्नुभयो ।

सडकमा खाना खुवाउँदा खुवाउनेलाई पनि समस्या, खानेलाई पनि समस्या र पानीको समेत समस्या रहेकोले व्यवस्थित तरिकाले खाना खुवाउन आग्रह गर्नुभयो । खाना खुवाउने अभियान बन्द गर्न नखोजिएको बताउदै उहाँले व्यवस्थित गर्न खोजिएको  बताउनुभयो ।

सडकमा भीडभाड् गरेर खाना खुवाउने गर्दा कोरोना संक्रमणको जोखिम पनि त्यतिकै मात्रमा हुने भएकोले सडकमा भीडभाड रोक्न खोजिएको प्रवक्ता डंगोलको भनाई छ । खाना खुवाउने हो भने खाली रहेका पार्टी प्यालेसमा व्यवस्थित तरिकाले खाना खुवाउने हो भने महानगरले पनि सहकार्य गर्ने प्रवक्ता डंगोलले बताउनुभयो । केही अभियन्ताले पहिलो लकडाउन सुरु भए यता अर्थात चैत्रदेखि खुलामञ्च, पशुपति, नयाँ बसपार्क, कोटेश्वरलगायत विभिन्न ठाउँमा समस्यामा परेका मानिसलाई खाना वितरण गर्दै आएका छन् ।