फिचर | समाज |

भत्ता बुझ्न  बिहानैदेखि बैङ्कको ढोका कुर्दै ज्येष्ठ नागरिक   

कावासोती, कात्तिक १८ गते। छियासी वर्षीया टिकामाया चन्द ठकुरी हातमा लौरो समाती बैंकको सिँढीमा बस्नुभएको छ । बिहान चार बजेदेखि उहाँ सिँढीमा बस्नुभएको हो । उहाँ बसेको घरको दोश्रो तलामा मेगा बैङ्कको कार्यालय छ । बिहानीको समयमा चिसोको आभास हुन थालेको छ । तर उहाँलाई कुनै प्रवाह छैन् । सिमेन्टको भूईमा बसेर उहाँ बैंक खुल्ने प्रतिक्षामा रहनुभएको छ । सामाजिक सुरक्षा भत्ता बुझ्न उहाँ बिहानै चार बजे बैङ्क परिसरमा आउनु भएको हो । कावासोती नगरपालिका–१ कोइलापानीदेखि झण्डै ७ किलोमिटर पैदल हिडेर आउनु भएको उहाँलाई बैङ्क चाँडै खुलेर भत्ता बुझ्न पाए हुन्थ्यो भन्ने लागेको छ ।    
    
 उहाँजस्तै ६२ वर्षीया फुलकुमारी सुनारसमेत बिहान चार बजेदेखि बैङ्क खुल्ने प्रतिक्षामा हुनुहुन्छ । “दश बजे आए पालो आउँदैन, पैसा पनि पाइँदैन, त्यसैले बिहानै आएकी हुँ” उहाँले भन्नुभयो । उहाँसँगै अन्य ज्येष्ठ नागरिक समेत बिहानै चार बजेदेखि बैङ्क खुल्ने प्रतिक्षामा रहनुभएको छ । कोभिड–१९ को जोखिम हुन सक्ने भन्दै बैङ्कले दैनिक ३० जनालाई मात्र कुपन प्रदान गर्दै आएको छ ।

एक दिनमा ३० जनाको मात्रै पालो आउने भएपछि यहाँका ज्येष्ठ नागरिकहरु बिहानैदेखि कुपनका लागि बैङ्कको ढोकामा लाइन बस्ने गरेका छन् । बिहान ६ बजे तीस वटा कुपन बितरण गरिसकेको बैङ्कका सूरक्षाकर्मीले बताउनुभयो । अब आउनेले कुपन नपाउने उहाँको भनाइ छ । तर कुपन नपाएपनि भत्ताको पैसा निकाल्न पाइन्छ कि भनेर केही ज्येष्ठ नागरिक लाइनमै बसेका देखिन्छ ।    
    
 कावासोती नगरपालिका–१ का वडाध्यक्ष नारायण पन्तले बैङ्कले जिम्मेवारीपूर्वक कार्य नगर्दा समस्या भएको बताउनुभयो । “ बैङ्कले ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनुपर्ने थियो, तर कुनै प्रतिक्रिया दिदैनन्”, उहाँले भन्नुभयो । कावासोती–१ मा करिब ६ जनाले सामाजिक सुरक्षा भत्ता पाउने सूचिमा छन् । बैङ्कले उपयुक्त व्यवस्थापन नगरिदिँदा भीडमा ज्येष्ठ नागरिक थप सङ्क्रमण जोखिममा रहेको उहाँको भनाइ छ । सामाजिक सूरक्षा भत्ता बितरणको व्यवस्था बैङ्कबाट भएकाले कोरोना सङ्क्रमण जोखिमको यो समयमा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिनुपर्ने वडाध्यक्ष पन्तले बताउनुभयो ।    
    
 कावासोती नगरपालिका–२ का वडाध्यक्ष लक्ष्मीप्रसाद पौडेलले नगरपालिकाले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता दशैंअघि नै बैङ्कमा पठाइसकेको बताउनुभयो । अशक्त र ज्येष्ठ नागरिकको संरक्षक कायम गरी सिफारिसका आधारमा लिन सक्ने बनाउँदा समस्या नआउने उहाँको भनाइ छ । बैङ्कहरुले सामाजिक सुरक्षा भत्ता सहज रुपमा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने सुझाव उहाँको छ ।