फिचर | प्रदेश |

पूर्व सञ्चारमन्त्री बस्नेत राजनीतिसँगै कृषिक्षेत्रमा

चित्र मिजार
सिन्धुपाल्चोक, कातिक २४ गते । समाजमा प्रतिष्ठा कमाएका मान्छेहरुले कृषि क्षेत्रमा काम गरे इज्जत जान्छ भन्ने सोचलाई चुनौती दिन र परिवर्तन ल्याउन पूर्वमन्त्री मोहनबहादुर बस्नेत कृषि ब्यबसायमा लाग्नुभएको छ । अहिले उहाँको दिनचर्या कृषिमा काम गरेर बित्न थालेको छ ।
पुर्व सूचना तथा सञ्चारमन्त्री बस्नेतले राजनीतिसँगै कृषिक्षेत्र अँगाल्नुभएकाे छ । उहाँको गृह जिल्ला बाह्बिसे नगरपालिका ४ मा सय रोपनीभन्दा बढी जमीनमा मौसम अनुसारको खेती, फलफूल खेती, तरकारी खेती, पशुपालन गर्न थाल्नु एको छ । अहिले उहाँ धान काटेर बिटो लगाउन ब्यस्त हुनुहुन्छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य बस्नेतले गएको असारमा सय रोपनी  जग्गामा धान रोप्नुभएको थियो । अहिले सोही धान भित्राउन उहाँ ब्यस्त हुनुहुन्छ । उहाँ आफै दिनहुँ धान काट्ने, सुकाउने र बिटो लगाउने काममा खटिदैं आउनुभएको छ । खेतबाट धान झारेर तीन किलोमिटर भन्दा माथि रहेको घरमा बस्नेत आफैले धान बोकेर घरमा थन्काउनु हुन्छ ।
राजनीतिले घर ब्यवहार चल्दैन, भएको खेतबारी पनि बाँझै रहन थालेपछि आफू कृषि पेशामा लागेको उहाँले बताउनुभयो । उहाँको घर आसपासको २० रोपनीभन्दा बढी जग्गामा सुन्तला, कागती, लिची जस्ता मौसम अनुसार फलफूल र नगदे बाली लगाउनुभएको छ । अहिले ती फलफूल खेतीले फल दिन थालेको छ । उहाँले माछापालन पनि गर्न थाल्नुभएको छ । उहाँले राजधनाीको बालकोटमा गाईपालन र तरकारी खेती पनि गर्दे आउनु भएको छ ।
खेती गर्न थालेपछि आत्मनिर्भर हुन थालेको र स्वास्थमा पनि सुधार भएको उहाँले जानकारी दिनुभयो । प्रत्येक दलका नेता कार्यकर्ताले कृषि र अन्य पेशा ब्यबसाय गर्नुपर्ने पनि बस्नेतको धारणा छ । उहाँ अब राजनीतिँंगै ब्यवसायिक रुपमा खेतीबाली गर्न लागि रहनु भएको छ । बिहानैदेखि बेलुकी सम्म बस्नेत खेती लगाउन र फलफूल रोप्न ब्यस्त हुन थाल्नुभएको छ । ती सबै अर्गानिक खेतीबाली गर्नुभएको छ । उत्पादन भएको बाली र फलफूल देखेर छिमेकीहरु पनि दंग पर्न थालेका छन् । पूर्व मन्त्री बस्नेत कृषिमा लागेपछि गाउँभरका युवा र छिमेकी गाउँका युवाहरु पनि कृषि क्षेत्रमा लाग्न थालेको बाह्बिसे नगरपालिका ४ का स्थानीय जीवन राउत बताउनुहुन्छ ।