फिचर | पढ्नै पर्ने |

अनमीको तरकारी खेती मोहः ‘जुन पेशामा लाग्यो त्यही रमाइलो लाग्ने रहेछ’

डिलबहादुर सिंह
डोटी, कात्तिक २७ गते । डोटीको दिपायल सिलगढी नगरपालिका– ४ पिपल्ला बजारमा तरकारी खेती गर्दै आउनुभएकी देवी कठायत खडकाको चार वर्ष अघिसम्मको दिनचर्या स्वास्थ्यचौकीमा बिरामीको हेरचाह गर्नमै बित्ने गर्थ्यो । अध्ययनले अनमी देवीले चार वर्षअघि सरकारी सेवाबाट राजिनामा गरेर तरकारी खेतीको शुरुवात गरे सँगै पछाडि फर्केर हेर्नुपरेको छैन । दुई वर्षको छोरालाइ पिठ्युँमा बोकेर प्याजको बेर्ना उखेल्दै गर्दा भेटिनुभएकी देवीले भन्नुभयो,–‘जुन पेशामा लाग्यो त्यही रमाइलो लाग्ने रहेछ, अनमी पढ्दै गर्दा सरकारी जागिर खाएर बिरामीको सेवा गर्ने विषय बाहेक अरु सोचिएको पनि थिइएन अहिले यही तरकारी खेती सबै चिज हो जस्तो लाग्न थालेको छ ।’ि

देवी कठायत खडकाको स्थायी घर डोटीकै आदर्श गाउँपालिका –१ बाझककानी हो । बजार सँगै जोडिएको स्थानमा करिब पाँच रोपनीभन्दा बढी जमिन भाडामा लिएर उहाँले तरकारी खेती गर्दै आउनुभएको छ । लिजमा लिएको जमिनमा तीनवटा टनेलमा बेमौसमी रुपमा काउली, टमाटर, रायो लगायत उत्पादन गर्दै आउनुभएको छ । देवीको बारीमा तरकारीको बेर्ना उत्पादन हुन थालेपछि छिमेकी महिलाहरुले समेत करेसाबारी बनाउन थालेका छन् ।

डोटी जिल्लामा हालसम्म पनि तरकारी छिमेकी जिल्ला डडेल्धुरा लगायत तराइका जिल्लाहरु कैलाली र कञ्चनपुरबाट आउछ । देवीले उत्पादन गरेको तरकारी किन्न ग्रहाकहरु बारी सम्मै पुग्ने गर्दछन् । पिपल्ला बजारमा घनाबस्ती छ । तरकारी बारी पनि बजारसँगै जोडिएका कारण उत्पादित तरकारी बिक्रीका लागि सहज भएको हो । स्थानीयहरु समेत ताजा तरकारी पाइने भएपछि तरकारी किन्न बारीसम्मै पुग्छन् । बारीमा तरकारी किन्न आएको समयमा भेटिनुभएका रमेश नेपालीले भन्नभयो–‘तरकारी ताजा नै पाइन्छ बजारमा धेरै दिनदेखिको बासी तरकारी खानुभन्दा मलाइ यतै आएर तरकारी किन्न सहज लाग्छ ।’

सरकारी सेवाबाट राजिनामा दिदा मन दुखाएका घर परिवारका मान्छेले समेत देवीको मेहनत र आम्दानी देखेर सँगै सहयोग गर्न थालेका छन् । मासिक १७ हजार तलब हुँदा सरकारी सेवा छोडेको बताउदै देवीले तरकारी बेचेर परिवार सँगै बसेर मासिक रुपमा ३० देखि चालीस हजारसम्म आम्दानी गर्दै आएको जानकारी दिनुभयो ।

तरकारी ब्यवसायबाट राम्रै घर ब्यवहार चलाएर बचत हुने गरेकोमा उत्साही हुदै डोटीको पुर्वीचौकी–२ खप्तड राष्ट्रिय निकुञ्ज सँगै जोडिएको झिग्राना भन्ने स्थानमा होमस्टे ब्यवसाय सञ्चाल नगर्दै आउनुभएका देवीका श्रीमान दीपकबहादुर खडकले भन्नुभयो, –‘शुरुमा त मलाइ महिलाका लागि जागिर नै ठिक हो नछोडेको भए हुन्थ्यो भन्ने लागेको थियो अहिलेको मेहनत र सफलता देखेर आफैलाइ समेत हौसला भएको छ ।’ देवीले आफ्नो तरकारी फर्मलाइ कुलेश्वर बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी फर्मका रुपमा सरकारी निकायमा दर्ता गर्नुभएको छ ।