फिचर | पर्यटन |

जुर्मुराउँदै लुम्बिनी

 

दीपक ज्ञवाली

बुटवल, मङ्सिर ४ गते । झन्डै आठ महिनामा १० लाखभन्दा बढी पर्यटक पाउने अवसर गुमाएको बुद्धको जन्मस्थल लुम्बिनी फेरि जुर्मुराउन थालेको छ । सात महिना २३ दिनसम्म बन्द रहेको लुम्बिनी क्षेत्र बुधबारबाट खुला भएसंँगै लुम्बिनीको पर्यटन क्षेत्रमा आशाको नयाँ सञ्चार भएको हो ।
कोरोना सन्त्रासका कारण बन्दाबन्दीसंँगै चैत ११ बाट लुम्बिनी क्षेत्र बन्द भएको थियो । यस अवधिमा मायादेवी मन्दिर परिसरलगायतका क्षेत्रमा प्रवेश पूर्ण प्रतिबन्धित थियो । लामो समयपछि खुला भएको पहिलो दिन नै बुधबार आन्तरिक पर्यटक उल्लेख्य सङ्ख्यामा आएर घुमफिर गरेका छन् ।
लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार पर्यटकीय स्थल खुला गर्ने सरकारको निर्णयसँंगै लुम्बिनी क्षेत्र खुला गर्ने निर्णय भएको हो । अब पर्यटक लुम्बिनी क्षेत्रका अन्य स्थानसँंगै मायादेवी मन्दिर परिसरमा रहेका अशोक स्तम्भ, पुष्करिणी पोखरी र बगैँचासम्म समेत पर्यटकले घुम्न सक्ने छन् ।
लुम्बिनी क्षेत्र खुला गरिए पनि मायादेवी मन्दिर भने अझै खुला गरिएको छैन । योजना प्रमुख भट्टराईले मन्दिरभित्रको क्षेत्र साँघुरो भएकाले भीडभाड बढ्न सक्नेतर्फ सचेत हुँदै तत्काल मन्दिर खुला गर्ने निर्णय भने नभएको बताउनुभयो ।
लुम्बिनी क्षेत्र घुम्नेका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरिएको छ । पर्यटकले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने छ । विभिन्न स्थानमा ज्वरो नाप्ने, हातमुख धुनेलगायतका व्यवस्था गरिएको छ । सुरक्षाकर्मी र कोषका कर्मचारीले स्वास्थ्य सुरक्षा मापदण्डबारे निगरानी गर्ने भएका छन् । कोषले कोरोना सङ्क्रमणबाट जोगिन र सजगता अपनाउनका लागि पर्यटक बोक्ने ट्याक्सी तथा रिक्सालाई सुरक्षा तालिम दिएको छ ।
यस क्षेत्रका होटल तथा पर्यटन व्यवसायीले लुम्बिनी खुला गरेसँगै खुसी व्यक्त गरेका छन् । लुम्बिनी होटल एसोसिएसनका अध्यक्ष मिथुन श्रेष्ठले लुम्बिनी क्षेत्र खुला गर्ने निर्णय स्वागतयोग्य भएको बताउँदै अब क्रमशः पर्यटक आउने र होटल पनि चल्दै जाने आशा गर्नुभयो ।
उहाँको भनाइमा लुम्बिनी बन्द गरिएको अवधिमा लुम्बिनी क्षेत्रका झन्डै एक सय होटलमा मात्र पनि अर्बौं रुपियाँको नोक्सान भएको थियो ।
यो अवधिमा लुम्बिनीले १० लाखभन्दा बढी पर्यटक पाउने अवसर गुमाएको थियो । कोषका सूचना तथा सञ्चार प्रमुख हरिध्वज राईका अनुसार गत वर्षको यही अवधिमा लुम्बिनीमा नौ लाख ५२ हजार २२९ जना पर्यटक आएका थिए । यो वर्ष १० लाखभन्दा धेरै पर्यटक आउने आशा थियो । यही अवधिमा जारी नेपाल भ्रमण वर्षमा लुम्बिनीमा थप पर्यटकसमेत आउने अपेक्षा गरिएको थियो ।

पुनरुत्थानको प्रयास
लुम्बिनी क्षेत्र खुलेपछि पर्यटन तथा होटल व्यवसायीले पर्यटक तान्न आकर्षक प्याकेज बनाइरहेका छन् । अहिले विगतभन्दा हरेक कुरामा सस्तो दरमा प्याकेज बनाइरहेका छन् ।
सरकारद्वारा गठित आन्तरिक पर्यटन पुनरुत्थान समिति लुम्बिनी प्रदेशका अध्यक्ष सागर अधिकारीका अनुसार लुम्बिनी क्षेत्रका होटल तथा रेस्टुरेन्टले मात्र १० देखि १२ अर्ब रुपियाँसम्मको क्षति बेहोरेका छन् । लुम्बिनी खुला भएसंँगै पर्यटन पुनरुत्थानका लागि मार्ग प्रशस्त भएको छ । उहाँले भन्नुभयो, “हामीले सस्तोमा विशेष प्याकेज बनाएर निर्णयार्थ पर्यटन बोर्डमा पठाएका छौँ । सामूहिक प्याकेजसँंगै निजी प्याकेज निर्माण गर्न पनि लागिरहेका छौँ । ”
अध्यक्ष अधिकारीका अनुसार पर्यटन बोर्डलाई पठाइएको त्यस्तो प्रस्तावमा लुम्बिनी प्रदेशका लुम्बिनी, स्वर्गद्वारी, बाँके, बर्दिया, गुल्मी, अर्घाखाँचीलगायत जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यलाई केन्द्रित गरेर आकर्षक प्याकेज बनाइएको छ । प्याकेजमा हरेक कुरामा विगतभन्दा ५ देखि १० प्रतिशतसम्म सस्तो गरिएको छ ।