फिचर |

चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही काठमाडाैमा

प्रदीपराज वन्त/रासस 
काठमाडौँ, मङ्सिर १४ गते । जनगणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुग्नुभएको छ। उहाँलाई गृहमन्त्री रामबहादुर थापा बादलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वगत गर्नुभएकाे थियाे । साे अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूकाे उपस्थिति थियाे ।

उहाँले भ्रमणबारे विमान स्थलमा संक्षिप्त जानकारी दिदै चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताउनुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट गर्नुभयो ।
चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उहाँले त्यसलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यका साथ आफू नेपाल आएको बताउनुभयो । “भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड–१९ का कारण भ्रमणमा केही विलम्ब भयो ”, कोभिड–१९ का समयमा नै भएको आफ्नो भ्रमणको विशेष महत्व हुने बताउँदै उहाँले भन्नुभयो ।
रक्षामन्त्री वेइलाई गृहमन्त्री थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायतले स्वागत गर्नुभएको थियो । चिनियाँ विशिष्ट पाहुना २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ अवतरण गर्नुभएको हो । प्रतिनिधिमण्डलमा जनमुक्ति सेनाका उच्च अधिकारीसमेत हुनुहुन्छ ।
आजै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।



भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुहुनेछ । त्यस्तै प्रधान सेनापति पूर्णचन्द्र थापाले पनि उहाँसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने तय भएको छ ।
उहाँ आइतबार साँझ नै स्वदेश फर्कनुहुने जानकारी दिइएको छ । नेपालको उत्तरी छिमेकी चीनबाट यस वर्ष हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।