फिचर | पढ्नै पर्ने |

पनौतीका महिलाको जुत्ता व्यवसायः पन्ध्र हजारमा सुरु गरेको व्यवसायमा तीनलाख भन्दा बढी लगानी

केदार तिमल्सिना
बनेपा, मङ्सिर १७ गते । करिब दुई वर्ष अघि आफ्नो घरको काम सकेर बचेको समयमा किन त्यतिकै बस्नु केही काम गरौँन भन्ने भावले पन्ध्र हजार रुपियाँको लागतमा स्थापना गरिएको उद्योगमा अहिले तीन लाखभन्दा बढी लगानी भएको छ । पनौतीमा गरिँदै आएको पेशा, व्यवसाय भन्दा फरक व्यवसाय गर्ने लक्ष्य अनुरुप पनौती नगरपालिका–७ का पाँच गृहिणी महिलाले जुत्ता बनाउने व्यवसाय सुरु गर्नुभएको हो ।
स्नातकोत्तर उतीर्ण काभ्रेको पनौती नगरपालिका– ७ की समिता श्रेष्ठ, स्नातक तहमा अध्ययनरत रविना सैँजु, एसएसली पास हुनु भएका श्रृजना ख्वाउजु, रितु होराजु र आठ कक्षा अध्ययन गर्नुभएकी रिता कर्माचार्य आफ्ना आफन्त र परिवारका सदस्यले भन्दा फरक व्यवसाय जुत्ता बनाउने पेशा गर्नुभएको छ । सुरुमा उहाँहरुले महिलाले लगाउने जुत्ता बनाउँदा नेवार सार्कीको उपनाम समेत पाउनुभयो । उहाँहरुले पनौतीमा नै नयाँ व्यवसाय सञ्चालन गर्ने उद्देश्य बोकेर झिगु लँका ज्याकुठी (हाम्रो जुत्ता उद्योग) नामको संस्थासमेत दर्ता गरी जुत्ता बनाउने व्यवसाय सुरु गर्नुभएको छ । ।
‘धेरैजसो महिलाले ब्युटिपार्लर, सिलाईकटाई तालिम लिएको देख्यौँ, सबैले गरेको काम किन गर्ने हामी केही नयाँ काम गरौँ भन्ने सोच आएपछि घरेलु कार्यालयमा गएर जुत्ता बनाउने तालिमको आग्रह ग-यौँ’ रिता कर्मचार्यले भन्नुभयो । ‘हाम्रो कुरा सुनेर उहाँहरुले तपाईहरु जुत्ता बनाउने काम गर्नुहुन्छ र ? भन्दै प्रतिप्रश्न गर्नुभयो, हामीले जुत्ता बनाउने तालिम लिन इच्छुक भएको बताएपछि कार्यालयले एक महिने तालिम दियो’ रिताले बताउनुभयो । एक महिनाको आधारभुत तालिम लिएपछि आफुहरुमा काम गर्ने उत्प्रेरणा मिलेकोले अब तालिम लिएका पाँचै जना मिलेर काम गर्नुपर्छ भनेर काम सुरु गरेको समुहकी अर्की सदस्य रविनाले बताउनुभयो ।
उहाँले एक महिने आधारभुत तालिम लिएपछि पुनः घरेलु कार्यालयलाई एड्भान्स कोर्षको माग गरेर डिजाइनको काम सिकेको बताउनुभयो । उहाँले व्यवसायलाई अझ राम्रो र दिगो रुपमा अघि बढाउन दुई महिना अघि घरेलु कार्यालय काभ्रेमा जुत्ता बनाउने उद्योग दर्ता गरिएको बताउनुभयो । ‘हामीले जुत्ता बनाउने तालिम लिन जाँदा छिमेकी र टोलका मानिसले नेवार सार्कीको उपनाम दिनुभयो, अब नेवार्रीहरुले जुत्ता सिलाउने भए भनेर आलोचना गरियो’ समुहकी सदस्य समिताले भन्नुभयो–‘डिग्री पास गरेको मान्छे अब जुत्ता सिलाउने काम गछौँ भन्ने समेतका प्रश्न भए’ ।
दुई वर्षअघि पाँच जनाले प्रति व्यक्ति तीन/तीन हजार रुपियाँ उठाएर पन्ध्र हजार रुपैँयाबाट जुत्ता बनाउने काम सुरु गरेको समुहकी अर्की सदस्य श्रृजना ख्वाउजुले बताउनुभयो । पन्ध्र हजारबाट सुरु गरेको व्यवसायमा अहिलेसम्म करिब तीन लाखभन्दा बढी लगानी भएको उहाँले बताउनुभयो । उहाँले कोरोना भाइरसका कारण भएको बन्दाबन्दीको समयमा खासै काम नभएको बताउनुभयो । उहाँले सुरुमा पनौतीमा रहेका साथीहरु तथा आफन्तहरुमार्फत आफुहरुको कामको प्रचार भएको बताउनुभयो । उहाँले आफुहरुले उत्पादन गरेको जुत्ता पनौती, काठमाडौँका विभिन्न बुटिक पसलमा जाने गरेको बताउनुभयो ।
आफुहरुको कामप्रतिको लगाव देखेर तालिमका लागि दिएका जुत्ता बनाउनका लागि प्रयोग हुने औजार तथा अन्य सामाग्रीहरु घरेलु कार्यालयबाट सहयोग प्राप्त भएको समुहकी सदस्य रितु होराजुले बताउनुभयो । उहाँले सवा नेपाल नामक गैह्र सरकारी संस्थाले जुत्ता सिलाउने मेसिनका साथै संस्था दर्ताको लागि आर्थिक सहयोग समेत गरेको बताउनुभयो । ‘सुरुमा हामीलाई जुत्ता बनाउने तालिम लिँदा आलोचना गर्नेहरु अहिले मलाई यो डिजाइनको जुत्ता बनाइदिनुन भनेर अर्डर गर्नुहुन्छ, त्यसमा हामी धेरै खुसी छौँ’ समिताले भन्नुभयो । ‘आगामी दिनमा लगानी बढाएर हामी पनौतीमा राम्रो उद्योग चलाउने लक्ष्यका साथ अघि बढेका छौँ’ अर्की सदस्य रिताले थप्नुभयो ।