फिचर | प्रदेश |

मदन भण्डारी लोकमार्गः पूर्वी खण्डको निर्माण अन्तिम चरणमा   

–सञ्चिता घिमिरे

काठमाडौँ, मङ्सिर २२ गते। पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा अगाडि बढाइएको मदन भण्डारी लोकमार्गअन्तर्गत धरान–चतरा–सिन्धुली–हेटौंडा खण्डको काम अन्तिम चरणमा पुगेको छ । झापाको बाहुनडाँगीस्थित मिर्चीडाँगी चोकबाट चुरेको फेदी हुँदै पश्चिममा डडेलधुराको रूपाल पुग्ने करिब एक हजार २ सय ५० किमि लोकमार्गको २ सय ५० किमि लामो यो खण्डमा सडक निर्माण ९५ प्रतिशत र पुल निर्माण ८५ प्रतिशत सकिएको छ । चालू आर्थिक वर्षभित्रै सो आयोजना सम्पन्न गर्न लक्ष्य लिएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।    
    
पहिलो चौमासिकमा यो आयोजनामा तुलनात्मक रुपमा बढी काम भएको सडक विभागले जनाएको छ । धरान–चतरा–हेटौँडा खण्डको २५० किलोमिटर सडकमध्ये अहिले २५ किमी सडकमा कालोपत्रको काम भइरहेको निर्देशनालयका प्रमुख उमेशबिन्दु श्रेष्ठले बताउनुभयो । यो खण्डमा ७६ पुल निर्माण गर्नुपर्नेमा दुई पुल मात्रै निर्माण सम्पन्न हुन बाँकी छ । उहाँले भन्नुभयो, “दुई पुल पनि चाँडै सकिने देखिएकाे छ ।”    
    
भर्खर ठेक्का सम्झौता भएकाबाहेक अरू पुल निर्माण पूरा हुन लागेको हो । यही खण्डमा १८ पुल निर्माणका लागि गत असारमा ठेक्का सम्झौता भएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यी पुल सकिन अझै साढे तीन वर्ष लाग्नेछ ।”    
    
पहिलो त्रैमासिकसम्ममा यो आयोजनाले रु ५४ करोड (यो आवको बजेटको १८ प्रतिशत) भुक्तानी गरिसकेको छ । अर्थ मन्त्रालयले चालु आवमा विनियोजन गरेको बजेट पर्याप्त नहुने भएकाले थप बजेटको आवश्यकता पर्ने प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार विनियोजित बजेटभन्दा दोब्बर खर्च हुने देखिएको छ । उहाँले भन्नुभयो, “यही गतिमा काम हुँदा खर्च धेरै हुने देखिएको छ ।”    
    
आयोजनालाई पूर्वी र पश्चिम खण्ड गरी बाँडिएको छ । जसमध्ये पूर्वी खण्डको निर्माण झण्डै सकिने चरणमा हुँदा पश्चिम खण्डमा भने डिजाइनको तयारी अघि बढाइएको आयोजनाले जनाएको छ । पश्चिम खण्डमा चालु आवभित्रै डिजाइन भएपछि कुनै कुनै खण्डमा निर्माणको प्रक्रियामा जाने उहाँको भनाइ छ । यो वर्ष तीन÷चार सडक खण्डको ठेक्कामा जाने योजना छ । उहाँले भन्नुभयो, “यो वर्ष डिजाइन र ठेक्का शुरु हुँदा आगामी वर्षबाट निर्माण शुरु हुनेछ ।”    
    
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण निर्माणमा पनि बाधा पुगेको थियो । कोभिडको समयमा काम गर्न सहज नभए पनि प्रशासन र स्थानीय तहसँगको समन्वयमा निर्माणलाई अघि बढाइएको आयोजनाले जनाएको छ । स्वास्थ्य मापदण्ड अपनाएर निर्माण गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अझै पनि सामान्य अवस्थामा जसरी काम गर्न वातावरण बनिसकेको छैन । उहाँले भन्नुभयो, “हामीले अझै चैत पहिले जसरी गर्न सकेका छैनौँ ।”    
    
सो आयोजनामा निर्माणका क्रममा पहिले जग्गाको समस्या देखिए पनि त्यसको समाधान भइसकेको छ । पहिले नै सञ्चालनमा रहेका टुक्रा–टुक्रा सडकलाई राजमार्ग घोषणा गरेसँगै स्थानीयवासीले सडकको मापदण्डका कारण अप्ठेरो पर्ने बताएका थिए । वनक्षेत्रमा विभिन्न समस्या भएकामा सरोकार राख्ने निकायसँगको समन्वयमा समाधान गरिएको थियो । राष्ट्रिय राजमार्गको मापदण्ड चौडाइ ५० मिटर हुने भए पनि हाल नौदेखि ११ मिटर चौडाइमा कालोपत्र भइरहेको छ । तराईमा ११ र पहाडी क्षेत्रमा नौ मिटर चौडाइ कायम गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले पाँच मिटरसमेत नभएकामा हामीले विस्तार गरेर निर्माण गरिरहेका छौँ ।”    
    
 आयोजनाको निर्माण विसं २०८२ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सरकारको उच्च प्राथमिकतामा रहेको पूर्व–पश्चिम जोड्ने वैकल्पिक सडक मदन भण्डारी राजमार्गको निर्माणकार्य तीव्रगतिमा अगाडि बढेको छ । आयोजनामा पहिले नै भएका सडकको स्तरोन्नतिको काम भइरहँदा सवारीसाधन सञ्चालन भइरहको प्रमुख श्रेष्ठले बताउनुभयो ।    
    
 नयाँ ट्र्याक खोल्नेभन्दा पनि पहिले नै सञ्चालनमा रहेका सडकलाई स्तरोन्नतिको काम यो राजमार्गमा बढी भएको छ । विगतदेखि नै विभिन्न निकायले सडकमा पूर्वाधार निर्माण र कालोपत्र गर्दै आएका थिए । अझ पनि एक तिहाइभन्दा बढी सडकको निर्माण सडक विभाग अन्तर्गतकै डिभिजन सडक कार्यालयहरुले गरिरहेका छन् । राजमार्गको लम्बाइ एक हजार २५० किमी भए पनि अहिले आयोजनाले ७६५ किमी सडकमा मात्रै निर्माणको काम गरिरहेको छ ।    
    
 सडक निर्माणलाई गति दिनकै लागि आयोजनाले हाल चार ठाउँमा कार्यालय स्थापना गर्न लागिएको जनाएको छ । निर्देशनालयअन्तर्गत अहिले झापाको दमक, उदयपुरको गाईघाट, गुल्मीको तम्घास र मकवानपुरको हेटौँडामा कार्यालय छन् । दाङ, सुर्खेत लगायत डिभिजन सडक कार्यालयले पनि राजमार्गमा निर्माणको काम गरिररहेका छन् ।    
    
 पूर्व–पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गपछि यो पूर्वपश्चिम जोड्ने चौथो राजमार्गका रुपमा छ । नयाँ ट्र्याक खोल्नेभन्दा सञ्चालनमा रहेका टुक्राटुक्रा सडक जोडेर राजमार्गको निर्माण भइरहेको छ । विसं २०७३ मा धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौँडा सडक आयोजनाको नाममा यो आयोजना शुरु भएको थियो । दुई वर्षपहिले सरकारको निर्णयानुसार सडकको नामकरण गरिएको हो ।