फिचर | पढ्नै पर्ने |

वैदेशिक रोजगारबाट फर्केका युवाले थाले सामूहिक पशुपालन

केदार तिमल्सिना
बनेपा, मङ्सिर ३० गते । काभ्रेको पनौती नगरपालिका– ४ का दिनेशकुमार बजगाँई बैदेशिक रोजगारीका सिलसिलामा चार वर्ष साउदी अरेबियामा काम गरेर स्वदेश फर्कनुभएको तीन वर्ष भयो । उहाँँले साउदी अरेबियामा हुँदा कम्पनीमा ‘टि–ब्वाई’ को काम गर्नुभयो । यस्तै पनौती नगरपालिका–४ की बिना परियार पनि मलेसियामा इलेक्ट्रोेनिक्स कम्पनीमा ६ वर्ष काम गरे दुई वर्षअघि स्वदेश फर्कन भयो ।
काभ्रेकै तेमाल गाउँपालिका–१ आधाबाटोका बुद्धिमान विश्वकर्मा युनाईटेड अरब इमिरेट्स (युएई)को इमिरेट्स फ्लाइट क्याटरिङमा तीन वर्ष कुकको काम गरेर गतवर्ष नेपाल फर्कनुभयो । दिनेश, बिना र बुद्धिमान वैदेशिक रोजगारीमा विदेश गई नेपाल फर्कका प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । उहाँहरु जस्ता लाखौँ युवा विदेश गएर स्वदेश फर्कनुभएको छ । उहाँहरु तीन जनाको भेट रिर्टनिङ माइग्रेन नेपाल (वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको संस्था) को कार्यक्रममा भएको हो ।
विदेशमा विभिन्न दुःख भोगेर काम गरेर नेपाल फर्कनु भएका उहाँहरुले विदेशका आर्जन गरेको ज्ञानलाई नेपालमा नै प्रयोग गरेर कृषिको माध्यमबाट समृद्धिको यात्रा तय गर्ने उद्देश्य राखेर आफु जस्तै विदेशबाट फर्केका अन्य १९ युवा र कृषिमा केही गर्नुपर्छ भन्ने भावना भएका अन्य पाँच जना गरी २७ जनाको समूह बन्यो । उक्त समुहले पनौतीमा मल्पी पशुपालन कृषक समूह दर्ता गरेर पशुपालन र तरकारी खेती सुरु गरेको छ । उक्त समूहले गत वर्षबाट भैँसीपालन, तरकारी खेती, कुखुरापालन सुरु गरेको हो ।
‘विदेशमा बस्दा आर्जित ज्ञान, सीप र पूँजीको प्रयोग गरेर देशमा नै रोजगारीको अवसर बनाउने उद्देश्यले हामीले पशुपालन समुह दर्ता गरी कृषिको काम सुरु गरेका हौँ’ समूहका अध्यक्ष दिनेशकुमार बजगाँईले जानकारी दिनुभयो । उहाँले आफुले विदेशमा धेरै कष्टका साथ चार वर्ष व्यतित गरेको बताउनुभयो । ‘विदेश नजाँदा त्यहाँ सजिलै धेरै पैसा कमाइन्थ्यो जस्तो लागेको थियो तर त्यसो हैन रहेछ धैरे दुःख कष्ट गर्नुपर्ने रहेछ’ दिनेशले थप्नुभयो ।
‘विदेशमा हामीले राम्रो, नराम्रो काम कुरा सिक्यौ, वैदेशिक रोजगारीबाट फर्केका युवाहरुले त्यहाँ सिकेको सिस्टम, ज्ञान र सिपलाई स्वदेशमा नै प्रयोग गरेर केही काम गरौँन भन्ने हेतुले कृषि कर्ममा लागेका हौँ’ मल्पी पशुपालन कृषक सममुहका व्यवस्थापक बुद्धिमान विश्वकर्माले बताउनुभयो । ‘समुहमा केही काम गर्न सक्किन भन्ने कतिपयको धारणा छ तर हामी समूहमा हरेक काम सफलतापूर्वक गर्न सकिन्छ भन्ने उदाहरण देखाउन चाहन्छौँ’ बुद्धिमानले थप्नुभयो । आफुहरुले पहिलेदेखि परम्परागत रुपमा कृषि पेशा अङ्गाल्दै आएको र अब समुहमा आधुनिक तरिकाले कृषि काम गरौँ भन्ने भावनाका साथ विदेशबाट फर्किएका साथीहरु मिलेर कृषिको काम सुरु गरेको समुहकी सदस्य बिना परियारले बताउनुभयो । उहाँले आफुहरु सबै खटेको खण्डमा कृषिबाट पनि राम्रो प्रतिफल पाउन सकिने बताउनुभयो ।
समुहका ब्यवस्थापक बुद्धिमानले आफुहरुले सञ्चालन गरेको पशुपालन फर्ममा अहिले दश वटा भैँसी र एउटा गाई रहेको बताउनुभयो । उहाँले फर्मबाट दैनिक एक सय लिटर दुध उत्पादन हुने गरेको बताउनुभयो । उक्त समूहले ६ सय लोकल कुखुरा समेत बजारको लागि तयार पारी सकेको छ । समूहले २३ रोपनी खेत र ६० रोपनी बारी ५ वर्षको लागि भाडामा लिएर व्यवसाय सुरु गरेको छ । समूहले बारीमा घाँसखेती र खेतमा भैँसीपालनको लागि फर्म र तरकारी खेती गरेको छ । दूधबाट मासिक करिब ७० हजार रुपैँया मुनाफा हुने गरेको समूहका ब्यवस्थापक बुद्धिमानले बताउनुभयो ।
उक्त समुहले भैसीपालन, कुखुरापालन र तरकारी खेतीका लागि करिब ५० लाख रुपियाँ लगानी गरेको छ । समूहले यस वर्ष १० वटा भैँसीमा अरु भैसी थपेर ४० वटा पु¥याउने लक्ष्य राखेको छ । समुहले व्यवसाय सञ्चालनका लागि पनौतीमा रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट १५ लाख र इन्द्रेश्वर बचत तथा ऋण सहकारी संस्थाबाट डेढ लाख रुपियाँ ऋण लिएको छ । समुहले यस वर्ष घाँसखेती गरेको जमिनमा ५० वटा बाख्रा मेत पाल्ने र उक्त जमिनमा अकबरे खुर्सानी, मटर तथा विभिन्न तरकारी खेती गर्ने योजना अघि सारेको छ ।