फिचर | खुला |

साहसिक खेल – जीप लाइन भित्रियो बुटवलमा


दीपक ज्ञवाली
बुटवल, पुस १ गते । खेलकुदका अनेक पारखीहरु रहेको बुटवलमा एउटा नयाँ साहसिक खेल भित्रिएको छ ‘जीप लाइन’ । त्यो पनि बुटवललाई एकसाथ नियाल्न सकिने अग्लो र आकर्षक हिलपार्कमा । सञ्चालकहरुले डबल लाइनको यस्तो जीप नेपालमा पहिलो भएको बताएका छन् । बुटवलमा पहिलो पटक यस्तो खेल भित्र्याउने समूहमध्येका एक, अखिल नेपाल फुटबल संघका एक अगुवा हरिप्रसाद श्रेष्ठका भनाइमा अन्यत्र केही स्थानमा यस्तो खेल सञ्चालन भए पनि (आउने जाने ) डबल रुट नेपालमा यो नै पहिलो हो । यो १४ सय मिटरको छ ।

यो यस्तो साहसिक खेल हो, जसमा विशेष प्रकारको तारमा झुण्डिएर एउटा डाँडाबाट अर्को डाँडामा जान र आउन सकिन्छ । बुटवलको हकमा यस्तो तारमा झुण्डिएर बुटवलको सुन्दर दृश्य हेर्दै मनोरञ्जन लिन सकिन्छ । स्थानीय लक्ष्मी आर्दश सामूदायिक वन उपभोक्ता समुहसँग सहकार्य गरि बाईल्ड बल्डर्स नेपाल प्रालिले साहसिक खेल सञ्चालनमा ल्याएको हो । बुधबार यस्तो खेलको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले बुटवललाई खेल क्षेत्रमा अझ विस्तार गर्न यस्तो खेलले मद्दत पु¥याउने बताउनुभयो । उहाँका भनाइमा यस्ता साहसिक र अतिरिक्त क्रियाकलापहरुले वनहरुलाई बहुउपयोगी र बहुउपार्जनमा रुपान्तरण गर्न सकिनेछ ।

बुटवलमा यस्तो साहसिक खेल भित्र्याउने समूहमा राजकुमार श्रेष्ठ, हरिप्रसाद श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र खिमलाल भण्डारी हुनुहुन्छ । जीप लाइन परियोजना करिब सवा करोडको गुरुयोजना अनुसार काम भैरहेको सञ्चालकहरुको भनाइ छ । वाइल्ड बन्डर्स नेपाल प्रालिका सञ्चालक राजकुमार श्रेष्ठले खेलसँगै वन संरक्षण र आयआर्जनको राम्रो विकल्प भएको बताउनुभयो । वन उपभोक्ता समूहका अध्यक्ष यामबहादुर थापाले वनलाई नबिगारी यस्तो खेल सञ्चालनमा ल्याइएको बताउनुभयो । सञ्चालक संस्थाले यसअघि चितवन, गोदावरी लगायतका स्थानमा यो खेल सञ्चालनमा ल्याएका छन् । नेपालमा काठमाडौँ बाहिर एकतर्फी खेल पोखरा, धुलिखेल, चितवनलगायतका स्थानमा सञ्चालनमा छन् । शुरुवातका दिनहरुमा यस्तो खेलका लागि एक हजार पाँच सय रुपियाँ तोकिएको छ ।