फिचर | पढ्नै पर्ने |

चितवनमा छ वर्षमा एक सय ५१ वटा गैंडा मरे

शालिग्राम नेपाल
चितवन, पुस ३ गते । चितवन राष्ट्रिय निकुञ्जमा छ वर्षमा एक सय ५१ वटा गैंडा मरेका छन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले प्राकृतिक, चोरी शिकारी र नदीले बगाएर गरी एक सय ५१ वटा गैंडा छ वर्षमा मरेको जानकारी दिनुभयो । उहाँका अनुसार गएको साउन यता मात्रै चार महिनामा १७ वटा गैडा मरेका छन् । लगातार पाँच वर्ष चोरी शिकारी शून्य समय मनाएको निकुञ्जमा चालु आर्थिक वर्षको सुरुका दिनबाटै गैंडा मर्न थालेका हुन् ।

चोरी शिकारमा संलग्नलाई नियन्त्रणमा लिएको केही वर्ष अवस्था सुधार आए पनि तस्करहरुको प्रभाव फेरि देखिने अध्ययनले देखाएको प्रमुख संरक्षण अधिकृत वरालले बताउनुभयो । चोरी शिकारीको विषयमा एक अध्ययन प्रतिवेदन आफूले तयार पारेको भन्दै वरालले भन्नु भयो ‘शिकारीलाई नियन्त्रणमा लिएपछि अब ढुक्क हुन्छ भन्ने हुदैन, कुनै मौका पर्खिएर बसेका हुन्छन् । यसको जालो ठूलो हुन्छ मौका पाउने बितिकै आक्रमण गर्दछन् ।’ पाँच वर्षसम्म शून्य चोरी शिकारी समय बितायौ अहिले उनीहरुले टाउको उठाए बरालले भन्नुभयो ‘संरक्षित जन्तु मारेको अभियोगमा भागेका अपराधीहरुलाई नियन्त्रणमा लिने काम तीव्र रुपमा अगाडि बढाएका छौ ।’

२०७७ साउन यता मात्रै मरेका १७ वटा मध्य नारायणी नदीले वगाएर भारत लगेको दुइवटा गैंडा र चोरी शिकारीले चारवटा मारेका छन् । विश्वकाटै लोप हुँदै जान थालेको एक सिंगै गैडा नेपाल र भारतमा मात्रै पाइने गरेको छ । लगातार चोरी शिकारीको कारण गैंडा नमरेको भन्दै शून्य चोरी शिकार वर्ष मनाइरहँदा यस वर्ष भने गैंडा मारिने क्रम वृद्धि भएको छ ।
गत साउनको १६ र १९ गते गोली लागेको जानकारी भएपछि २१ गते गैंडा मृत अवस्थामा भेटिएको थियो । त्यस्तै गरी गत कात्तिक १८ गते माउलाइ मारेको २० गते भेटिएको थियो ।  चोरी शिकारीको कारण अघिल्लो आर्थिक वर्षमा मरेको गैंडा खाग काटेको अवस्थामा साउन महिनामा भेटिएको प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिनुभयो । साउन यता चोरी शिकारीले तीन वटा मारेको र अघिल्लो आर्थिक वर्षमा मारेको गैंडा यस वर्ष खाग काटिएको अवस्थामा भेटिएको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार छ वर्षमा प्राकृतिक कारणले एकसय ५, इलेक्टिक करेन्ट लागेर छ वटा मरेको छ ।

प्राकृतिक कारणले मर्ने सख्या वृद्धि भएपछि यसको अध्ययन गरेर समाधानको बाटो अपनाउने निकुञ्ज कार्यालयले जनाएको छ । एक आपसमा जुध्ने, वृद्ध भएर मर्ने खोलाले बगाउने लगायतका कारण छन् । तीमध्ये एक अापसमा जुधने कारण प्रयाप्त पोखरी नभएकोले हुन सक्ने भन्दै अहिले नयाँ पोखरी निर्माणलाई ध्यान दिएको प्रमुख बरालले जानकारी दिनुभयो । वृद्ध भएर मर्नेलाई केही गर्न नसक्ने भए पनि अन्य कारणलाई भने न्यूनीकरण गर्नेतर्फ लागेको बताउनुभयो ।