फिचर | खुला |

नारायणगढ बुटवल सडक खण्डमा दुई वर्षमा तीन प्रतिशत काम

होमराज रानाभाट
नवलपरासी, पुुस ४ गते । दुईवर्ष अघि सम्झौता भएर २२ महिना अघि देखि निर्माण शुरु भएको नारायणगढ बुटवल सडक खण्डको झण्डै दुई वर्ष हुँदा पनि तीन प्रतिशतभन्दा काम हुन नसक्दा आयोजना समयमै सम्पन्न हुने अवस्था कमजोर बन्दै गएको छ ।
जुन ७, २०१८ मा स्वीकृत भएर २०१८ को डिसेम्बर १९ मा सम्झौता भएर २०१९ फेब्रुअरी ७ बाट काम थालनी गरेको चिनियाँ ठेकेदारले झण्डै २२ महिनाको अवधिमा तीन प्रतिशत मात्र काम सम्पन्न गरेको आयोजनाका चिनियाँ प्रमुख ब्यवस्थापक लिनले बताउनुभयो । आयोजनको गैंडाकोट दाउन्ने पहिलो खण्ड र दाउन्ने बुटवल दोश्री खण्डको रुपमा स्वीकृत भएर झण्डै १६ अर्ब ९९ करोडमा चिनियाँ कम्पनी चाईना स्टेट कन्सटक्सनले ठेक्का पाएको थियो ।
ठेक्का शुरु भएको एक हजार दुई सय ७८ दिन अर्थात ७ जुलाई २०२२ मा ११३ किलोमिटर बुटवल नारायणगढ सडक निर्माण सक्ने सम्झौतामा ब्यवस्था भए पनि अहिले १५ महिना सम्झौताको अवधि बाँकी रहँदा सो आयोजनाको काम भने सरदर तीन प्रतिशतले उकालो लाग्न नसकेको आयोजनाका सल्लाहकार भूमिनन्द ढकालले बताउनुभयो । एशियाली विकास बैंकको सहयोगमा शुरु भएको यो आयोजना राष्ट्रिय गौरवका आयोजनका रुपमा रहे पनि कामले गति लिन नसक्दा सम्झौता अवधि भन्दा झण्डै दुई वर्ष पछि धकेलिन सक्ने आयोजनाका सल्लाहकार ढकालले बताउनुभयो ।
आयोजना को निर्माण ढिलाई हुनुमा ठेकेदार पक्षले सरकारी पक्षलाई आरोप लगाएको छ । शुरुमा ईआईए गर्दा ११३ किलोमिटर क्षेत्र भित्र पर्ने बन क्षेत्रमा नौ हजार दुई सय रुख कटान गरिने उल्लेख भएकोमा अहिले भने त्यो संख्या बढेर ४९ हजार ८६० रुख कटान गर्नुपर्ने देखिएको र सो कटान गर्न सरकारी पक्षले अहिले सम्म ईजाजत नदिँदा आयोजनाले गति लिन नसकेको आयोजनका इन्जीनियर डिपी जैसीले बताउनुभयो ।
गैंडाकोटदेखि दाउन्ने सम्म ३६ हजार ५४५ र दाउन्नेबाट बुटवलसम्म १३ हजार ३१५ रुख कटान गर्नुपर्ने भएको तर ईआईएको पाँच वर्ष अघिको प्रतिबेदनले अहिले रुख संख्या बढेको कारणले पनि सरकारी पक्षले ईजाजत दिन नसक्दा आयोजना दिनप्रतिदिन ढिला गतिमा अघि बढिरहेको ईन्जीनियर जैसीले बताउनुभयो । यो आयोजनाको धेरै भागको बायाँ पटिट राष्टिय निकुन्जको भाग पर्ने भएकाले पनि निकुन्जको बेबास्ताका कारण पनि आयोजनाले गति लिन नसकेको जैसीले बताउनुभयो ।
सो आयोजनाले सडकमा रहेका दुईतर्फी गरेर चार हजार ८३९ विद्युतको पोल सार्नुपर्ने, एक हजार २५ वटा टेलिफोनको पोल, दुई सय दुई सोलार पोल, सार्नु पर्ने भए पनि ती सबैको अहिलेसम्म पनि ईजाजत सरकारी पक्षबाट नपाईंदा आयोजनाले गति लिन नसकेको आयोजनाका सल्लाहकार भूमिनन्द ढकालले बताउनुभयो ।
यो आयोजनामा ४३ वटा ठूला पुल, ३९ वटा साना पुल चार सय ६२ वटा कल्भर्ट पुल निर्माण हुनेछन् भने बजार क्षेत्रमा छ लेन, जंगल क्षेत्रमा चार लेन र दाउन्ने क्षेत्रमा तीन लेनको बाटो बन्ने चिनियाँ कम्पनी चाईना स्टेट कन्सटकसनका प्रमुख ब्यवस्थापक लिनले बताउनुभयो । आयोजनाले कोरोना कहरका कारण केही ढिला भए पनि रुख कटान र विद्युत पोल स्थान्तरण गर्ने इजाजत पाए काम दु्रत गतिमा अगाडि बढाउने बताए पनि सरकारी पक्षले ईजाजत नदिँदा काम नै अघि बढ्न नसकेको जनाएको छ ।
आयोजना निर्माण पक्षले जहाँ जहाँ सडक निर्माण सम्भब छ त्यहाँ त्यहाँ समपन्न गर्दै अघि बढन अनुरोध गरे पनि त्यो समेत सरकारी पक्षले अस्वीकार गर्दा थप समस्या भएको ईनजीनियर जैसीले बताउनुभयो । अहिले सम्म बिजुलीको पोल हटाउने निर्णय भएको छैन ,रुखको कटान ईजाजत छैन,त्यसैले पनि समस्या थपिएको आयोजना पक्षको भनाइ छ ।
नारायणगढ बुटवल सडक खण्डको ११४ किलोमिटर सडक को हालको दुई लेनलाई बढाएर चार लेनको बनाउने, बजार क्षेत्रमा छ लेन र जंगल क्षेत्रमा चार लेन सम्मको सडक विस्तार तथा स्तरोन्नति गर्ने गरि दुई भागमा विभाजन गरि शिलान्यास भएको सो बाटोको दुई वर्ष बित्दा पनि निर्माणले गति लिन नसक्दा समस्या थपएिको आयोजनाका सल्लाहकार भूमिनन्द ढकालले बताउनुभयो ।
यो सडक खण्डका अहिले जताततै ठूला खाल्डा परेका र बाटोमा खाल्डो पुर्ने र कालोपत्रे गर्न संघीय भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङले दिएको निर्देशन चिनियाँ ठेकेदार पक्षले पालना गरेको छैन । अहिले योे सडक खाल्डाखुल्डी र धुलोले यहाँ यात्रा गर्ने यात्रुलाई समस्या पर्ने गरेको कावासोतीका खगराज सापकोटाले बताउनुभयो ।
अहिले यो सडक खण्डमा ५३ जना चिनियाँ र दुई सय २१ जना नेपाली प्राविधिकहरुले काम गरिरहेको आयोजनाले जनाएको छ । आयोजनको सरकारी पक्षको काम हेर्ने सडक डिभिजनल कार्यालय बुटवलले आयोजनको काम र त्यसको निरुपण गर्ने निकाय ठेकेदार र मन्त्रालय भएकाले सडक डिभिजनले निरीक्षण गर्न सक्ने बताएको छ ।