फिचर | पढ्नै पर्ने |

राम र सीताको पूजा आराधना गर्दै जनकपुरधाममा विवाहपञ्चमी मनाइँदै

धर्बेन्द्र झा
जनकपुरधाम, पुस ४ गते । प्रदेश नं.२ को राजधानी जनकपुरधाममा कोरोना महामारीबीच सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सव यस वर्ष पनि श्रद्धाभक्तिपूर्वक मनाइँदैछ ।
त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत जननी जानकीबीचमा विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा हर्षाेल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनाइँदै आएको हो । हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामको जानकी मन्दिरमा विवाहपञ्चमी महोत्सव विशेष उल्लासका साथ मनाउने गरिन्छ । महोत्सवको मुख्य आकर्षणको दिन रहेको शनिबार भगवान राम र जानकी विचमा स्वयम्बर कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार दिउसो जनकपुरधामको जानकी मन्दिर बाट बाजागाजासहित निस्केको जानकी माताको डोली र राम मन्दिरबाट बाजागाजा हित निस्केको भगवान रामको डोला नगर परिक्रमा गरी जनकपुरको एतिहासिक रंगभूमि मैदान बारह बिघा पुगेको थियो । जानकी माताको डोलाले भगवान रामको डोलालाई तिन पटक परिक्रमा गरेपछि माला फेर गरी स्वयम्बर कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रम हेर्न हजारौको संख्यामा श्रद्धालु भक्तजनहरु त्यहाँ पुगेका थिए । त्रेत्रा युगमा भगवान राम सीताको विवाहका लागि स्वयम्वर हुदाँ छपन्न करोड देवीदेवताको सहभागिता भएकोले आजका दिन सो कार्यक्रममा सहभागी हुन नेपाल भारतको विभिन्न स्थान वाट पैदल यात्रा गरी हजारौ श्रद्धालु जनकपुरधाम आएका छन । स्वयम्बरपछि साँझ जानकी मन्दिर परिसरमा निर्माण गरिएको वेदीमा भगवान राम सीताको प्रतीकात्मक स्वरुप बीचमा बैवाहिक कार्यक्रम सम्पन्न हुनेछ ।

वैदिक परम्परा अनुसार हुने बैवाहिक विधिहरु हेर्न जनकपुरको जानकी मन्दिर परिसरमा हजारौ मान्छेको सहभागिता छ । शनिबार राति हुने बैवाहिक कार्यक्रममा राममन्दिरका महन्थ राम गिरीले अयोध्या नरेश दशरथको भूमिका र जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले राजर्षि जनकको भूमिका निर्वाह गर्नुभएको छ । वैवाहिक विभिन्न विधिहरु भइरहदाँ कार्यक्रममा सहभागी मैथलानी महिलाहरुले वैवाहिक संस्कारका गीतहरु गाएर श्रद्धालु एवम वैवाहिक कार्यक्रममा सहभागी भएका साधुसन्तहरुलाई मनोरंजन गराइरहेका छन ।

शुक्रबारदेखि अत्यधिक चिसो बढेको कारण खुल्ला आकास मुनी बसेका श्रद्धालुहरुलाई केही समस्या समेत भएको जानकी मंन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताउनु भयो । आज राति बैवाहि विधि सकिएपछि आइतबार रामकलेबा अर्थात जयन्तीको बिदाइ भएपश्चात सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सव सम्पन्न हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बताउनुभयो ।

विवाहपञ्चमी महोत्सवमा सहभागिहुन आउने श्रद्धालुहरुको लागि स्थानीय विभिन्न युवाक्लव र संघ संस्थाले जनकपुरधाम नगर भरी खाना एवम वासको व्यवस्थापन्न गरेको छ भने स्थानीय प्रशासनले कुनै पनि अप्रिय घटना हुन नदिन जनकपुरधाम नगरभरि सुरक्षा व्यवस्था कडा बनाएको छ ।