फिचर | पढ्नै पर्ने |

बागलुङको विकट नर्जाखानीमा एउटा पुलले दिएको खुसी

नवीन शिशिर विक
बागलुङ, पुस १० गते । स्थानीय निर्वाचन अघिसम्म बागलुङको अति दुर्गमको नाम लिँदा तमानको नर्जाखानी पहिलो नम्बरमा आउँथ्यो । भौगोलिक रुपमा जिल्ला सदरमुकामदेखि टाढा । पूर्वाधारको विकास न्यून मात्रामा । स्थानीय तहको निर्वाचन पश्चात नर्जाखानी सुगम बन्दै गएको छ ।
तमानखोला गाउँपालिकाले सडकमार्गको विस्तार, शिक्षा, स्वास्थ्यको सुविधा गाउँमै पु-याएपछि स्थानीय बासिन्दा खुसी थालेका छन् । अति दुर्गमका नर्जाखानीको परिचय बदलिएको छ । अहिले हरेकजसो बस्ती टोलमा मोटरबाटो पुगेको गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिनुभयो ।
गएको बर्ष खुङ्खानीदेखि नर्जाखानीलाई जाेड्ने लामो झोलुङ्गे पुल निर्माण भएको छ । यही पुलका कारण त्यस क्षेत्रका स्थानीयको दैनिकीमा परिवर्तन आएको छ । तमानखोला गाउँपालिका—५ खुङ्खानीदेखि ठूला बिसौनासम्म जोड्ने पुलले पैदल यात्रा गर्दा एक घण्टा लाग्ने दूरी पाँच मिनेटमा खुम्चिएको हो ।
तमानखोला—५ खुङ्खानीको थास्पुरीबाट शान्ति माध्यमिक विद्यालयमा अध्ययन गर्न आउने ज्ञानेन्द्र सेन्चुरीको दैनिकी नै फेरिएको छ । पुल नहुँदा एक घण्टा बढी हिडेर जानुपर्ने विद्यालयको यात्रा पाँच मिनेटमा सीमित भयो ।
गाउँमा स्कुल पुग्न दुई घण्टाभन्दा धेरै लाग्थ्यो, अहिले सजिलो भएको छ,’ सेन्चुरीले भन्नुभयो–‘ उकालो ओरालो गर्नुपर्दा खोलामै एक घण्टा बढी समय जान्थ्यो । अहिले पुलले सजिलो बनाएको छ ।’ विगतमा बिहान् उठेपछि स्कुलका लागि हिँड्नुपर्ने र साँझ रातपरे पछि मात्रै घरमा पुगिने समस्या हल भएको छ ।
पुल बनेपछि स्कुल जाने आउने मात्रै नभएर अन्य धेरै कुराहरुमा सुविधा पुगेको तमानखोला—५ का मनकुमार सिर्पालीको भनाइ छ । सबैभन्दा सजिलो त स्कुले केटाकेटीलाई भएको छ, जो दैनिक थास्पुरी नर्जाखानी, भित्रीवन लगायतका ठाउँबाट यहाँको शान्ति माविमा पढ्न आउँछन्,’ उहाँले भन्नुभयो–‘सबैलाई राहत पुगेको छ ।
स्वास्थ्यचौकी र बर्थिङ सेन्टरको पहुँचमा पुल सहयोगी बनेको छ । एक घण्टाभन्दा बढी समय लाग्ने बाटो पाँच मिनेटमै पार गर्दा धेरै सहज र्सिपाललीले बताउनुभयो ।
पुल नहुँदा खोलाका कारण हुनसक्ने घटनाबाट पनि अब छुटकारा र्सिपालकिो भनाइ छ । ‘स्कुले केटाकेटी हिउँद बर्खा खोलाको बाटो हिड्दा साह्रो डर लाग्थ्यो’ उहाँले भन्नुभयो–‘पुल बनेपछि ढुक्क भएको छ । पुल गत असोज महिना यता सञ्चालनमा आएको छ ।
३३३ मिटर लामो उक्त पुल सस्पेन्स ब्रिज डिभिजनले निर्माण गरेको हो । पुलले खुङ्खानी नर्जाखानीका स्थानीयलाई ठूलो राहत मिलेको तमानखोला—५ का वडा सदस्य लीलाकुमार छन्त्यालको भनाइ छ ।
तमानखोला—६ को नर्जाखानी भित्रीवनमा माध्यमिक विद्यालय छैन । जसका कारण कक्षा ९, १० पढ्नका लागि त्यहाँका विद्यार्थीहरु बिहान तीन घण्टा र साँझ तीन घण्टा पैदल हिँडेर शान्ति मावि खुङ्खानीमा आउँछन् । पुल बनेपछि त्यस क्षेत्रका विद्यार्थीलाई अलिकति भए पनि राहत पुगेको तमानखोला—६ का वडाध्यक्ष कुलबहादुर छन्त्यालले बताउनुभयो ।