फिचर | पढ्नै पर्ने |

सप्तरीमा ३६ जना सडक आश्रित मानवको उद्दार

माला कर्ण
सप्तरी, पुस १३ गते । सप्तरीबाट ३६ जना सडकमा जीवन बिताइरहेका सडक मानवको आइतबार एक कार्यक्रमगरी उद्धार गरिएको छ। मानसिक स्वास्थ्य बिग्रिएर र अन्य कुनै कारणले सडकमा जीउन मर्न बाध्य यस्ता असहाय र अनाथहरुको उपचार र नयाँ जीवन प्रदान गर्न मानव सेवा आश्रमले उनीहरुको उद्धार गरेका हुन्। सडक मानवमुक्त अभियानमा रहेको मानव सेवा आश्रम नामक संस्थाले उनीहरुको उद्धार गरी उपचार तथा भरणपोषणका लागि लगेका हुन्।
स्थानीय पत्रकार तथा अधिकारकर्मी मनोहरकुमार पोखरेलको समन्वय तथा संयोजनमा मानव सेवा आश्रमले राजविराज नगरपालिका परिसरमा उनीहरुको सरसफाइ गरी खाना खुवाई विभिन्न कानुनी प्रक्रिया पूरा गरेर ३६ जनालाई उद्धार गरी लगेका हुन् ।
मानव सेवा आश्रम मुलुकभरि यस्तै अभियानमा रहेका छन्, उनीहरुको अभियानबारे जानकारी पाएर हामीले सप्तरीमा पनि यसरी बिभिन्न स्थानीय तह तथा अन्य निकायहरुसँग समन्वय गरी बेसहारा, अनाथहरुको उद्धार कार्य थालेका पोखरेलले बताउनुभयो।
सडक मानवमुक्त राष्ट्र निर्माण एवम् घोषणा वर्ष २०७८ लाई विचार गर्दै मानव सेवा आश्रमले मुलुकभरीका जिल्लाहरुमा यसरी सक्रियता बढाएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो। बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन विभिन्न प्रकारका शारीरिक एवम् मानसिक रोगीहरुको उपचारसहित उनीहरुलाई पनि समान्य मानिस झै बनाउने अभियानमा पछिल्लो लामो समयदेखि आश्रम सक्रिय रहेको उहाँले बताउनुभयो।
सप्तरी सदरमुकाम राजविराजका अतिरिक्त कंचनरुप नगरपालिका, सप्तकोसी नगरपालिका, सुरुंगा नगरपालिका, खड्ग नगरपालिका, रुपनी गाउँपालिका तथा शम्भुनाथ नगरपालिका लगायतको क्षेत्रबाट उद्धार गरी ल्याइएका त्यस्ता व्यक्तिहरुलाई उद्धारसहित उपचारका लागि लगेको सञ्चारकर्मी पोखरेलले जानकारी दिनुभयो। जिल्लाभरिबाट ल्याइएका त्यस्ता व्यक्तिहरुको दाढी, कपाल काट्ने, नुहाउने, सफा पार्दै नयाँ लुगा लगाएर लग्दै गर्दा नगरपालिका परिसरमा उपस्थित आमजन अचम्भित मात्रै भएन कतिपय त भावुक भएका थिए ।
सो अवसरमा राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, उप प्रमुख साधना झा, कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई लगायतकाहरुको उपस्थिति थियो । राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थापा तथा महिला अगुवा एवम् साहित्यकार कमला भन्सालीले मानव सेवा आश्रमका लागि १०/१० हजार रुपियाँ नगद सहयोग गरेका छन् ।
उद्धार हुनेहरुमा राजविराज–७ की ६० वर्षीया कैली राम, राजविराज–७ की ६५ वर्षीया भुलु राम, राजविराज–७ का ४५ वर्षीय मिक्काहरु (विटकट कुटु), राजविराज–७ का ४० वर्षीय पुरुष, राजविराज–२ का ६५ वर्षीय बाबुलाल दास, राजविराज–४ की २३ वर्षीया पुनम कुमारी शर्मा, राजविराज–६ की २३ वर्षीया सुकुम कुमारी, राजविराज नगरपालिकाकी ४० वर्षीया महिला, राजविराज–७ की ६० वर्षीया श्रीमति सर्की देवी, राजविराज नगरपालिकाकी ६५ वर्षीया शुभद्धा झा, राजविराज नगरपालिकाका ३६ वर्षीया अशोक साह (मुखिया), राजविराज–६ का १३ वर्षीय अनकल मेसतर, राजविराज–८ का ३६ वर्षीय भरत साह, राजविराज–७ का ३० वर्षीय भलियाको बेटी, शम्भुनाथ नगरपालिका–१ खोकसरका २१ वर्षीय नविनकुमार चौधरी, राजविराजका १८ वर्षीय अखण्ड कालु, राजविराजका २४ वर्षीय मनोज मानव, विहार कृष्ण नगरका ३० वर्षीय विटु राय,सप्तकोशी नगरपालिका–४ का २९ वर्षीय नारायण झा, सप्तकोशी–१ बजार क्षेत्रका २६ वर्षीय गोविन्द मानव, राजविराज–१५ दउरी भरुवाका ३० वर्षीय रामवृश यादव, राजविराज नगरपालिकाका मनोज यादव, राजविराजका ५३ वर्षीय सुदामा भाउ, राजविराज–२ राजदेवीका ३५ वर्षीय मनोजलोहार शर्मा,राजविराज–७ का ३५ वर्षीय सुवास सिंह बोस, राजविराज–१४ का ३४ वर्षीय किशान खान र अन्य १० जना छन्।